मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १४ बुधबार १४:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दै 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १४:१७:००

आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले ल्याइएको स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढ्दै जान थालेको छ । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेसँगै स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दै जान थालेको हो  । 

प्रदेश १ मा मात्रै आठ लाख ४५ हजारभन्दा बढीले स्वास्थ्य बिमा गराएर सेवा सुविधा लिन थालिसकेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये झापामा स्वास्थ्य बिमा लागू भएका जिल्लाहरूमध्ये सबैभन्दा बढीले बिमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गा आचार्यका अनुसार झापामा तीन लाख ३८ हजार चार सयले बिमा गराइसकेका छन् । 

संयोजक आचार्यका अनुसार मोरङमा एक लाख १० हजार ५० जना, सुनसरीमा दुई लाख २६ हजार चार सय ५० जना, इलाममा ५० हजार तीन सयजना, खोटाङमा ३२ हजार ६० जना, भोजपुरमा २३ हजार नाै सय १३ जना, संखुवासभामा १३ हजार चार सय ५० जना, सोलुखुम्बुमा ६ हजार एक सय ६६, तेह्रथुममा एक हजारजना ओखलढुंगामा नाै हजारजनाले बिमा गराएका छन् ।  धनकुटामा भने गराएका छैनन् ।  ‘धनुकटामा १० हजार जनाको फर्म मात्रै संकलन भएको छ,’ आचार्यले भने त्यो इन्ट्री गर्ने काम गरिरहेका छौँ । 

गरिब तथा असहायको केही स्थानीय तह तथा सामुदायिक वनहरूले निःशुल्क स्वास्थ्य बिमा गरिदिन थालेका छन् । बेलबारीका दुईवटा सामुदायिक वन उपभोक्ता समितिले गरिब तथा असहाय उपभोक्तालाई बिमा गरिदिएको छ । वाग देवी सामुदायिक वन तथा रमिते सामुदायिक वनले तीन सयभन्दा बढीको स्वास्थ्य बिमा गरिदिएका छन् । खर्च अभाव भएकै कारण उपभोक्तालाई औषधि–उपचार गर्न समस्या नहोस् भनेर बिमा गरिदिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम राईले बताए । 

यस्तै मोरङको बेलबारी नगरपालिकाले प्रत्येक वडामा पाँच लाखका दरले स्वास्थ्य बिमा गरिदिन चालू आवको बजेटको व्यवस्थापनसमेत गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

प्रदेश १ मा एक हजारभन्दा बढी बिमा दर्ता सहयोगीले स्वास्थ्य बिमा गराइरहेका छन् । ८७ वटा स्वास्थ्य संस्थाबाट उनीहरूले सेवा लिन पाएका छन् । जसमा २५ वटा सरकारी अस्पताल, ३७ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा निजी अस्पताल  र आठवटा आँखा अस्पतालले सेवा दिइरहेका छन् । 

स्वास्थ्य बिमा गराउन पाँचजनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ बुभाउनुपर्नेछ भने पाँचजनाभन्दा बढी १० जनासम्मकाे परिवार सदस्य हुनेले प्रतिव्यक्ति सात सय रुपैयाँ लाग्नेछ । पाँचजनासम्मको परिवारले एक लाख रुपैयाँको औषधिसहितको सेवा–सुविधा पाउनेछन् भने पाँचभन्दा बढी सदस्य भएको परिवारका सदस्यले २० हजारका दरले बढ्दै जाने स्वास्थ्य बिमा बाेर्डले जनाएको छ ।