मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १४ बुधबार १२:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीको कहर : कैलालीमा सयौँ घर डुबानमा, वर्षात् र नदीको सतह बढ्दा बस्तीहरू जलमग्न

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १२:०१:००

कैलालीमा सयौँ घर डुबानमा परेका छन् । गएरातिदेखि निरन्तर परेको वर्षाले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन् । 

लगातारको झरी र नदीमा पानीको सतह बढेसँगै उक्त क्षेत्रका  सयौँ  घर  डुबानमा पर्नुको साथै अधिकांश क्षेत्र जलमग्न भएका छन्  ।

टीकापुर नगरपालिकाको १ देखि ९ वटै  पूरै वडा डुबान परेका छन्  ।

टीकापुरको वडा नं. १ को जमरा कुलोको पानीको सतह बढेर बजार क्षेत्र डुबान भएको छ भने शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा गरी  ३० घर भत्केको छ ।

वडा नं. २ को सितापुर, वडा नं. ५ शाहीपुर, सिम्रेनी, वडा नं. ६को भगवानपुर, प्रतिपुर, वडा नं. ७ को बेलुवा, वडा नं ८ अर्नुवा, वडा नं. ९ को  खक्रौला गाउको सयौँ घर बस्ती डुबानमा परेका छन् ।
जानकी गाउँपालिकाको वडा नं. ३, ७, ८, ९ का गाउँ नै डुबानमा परेको स्थानीय भोजबहादुर चौधरीले बताए । 

भदौरे कुलो, धर्मापुर र अमरावती कुलोमा पानीको सतह उच्च तथा निरन्तर पानी वर्षातले सो वडाका सबै गाउँमा पानीको डुबानमा परेको उनले बताए ।   

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुरको वडा नं. १, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले जानकारी दिए ।

भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । 

ढुसी गाउँको चेकड्याम भत्काएर बाढी बस्तीमा पसेको भजनी नगरपालिकाका स्थानीय मोवन चौधरीले बताए  ।

वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढीले मोहनपुर, ढुसी र काँडा गाउँमा करिब सय बढी घरमा पानी पसेको उनले बताए  ।