मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
खोटाङ रासस
२०७७ श्रावण १४ बुधबार ०८:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार    

Read Time : > 1 मिनेट
खोटाङ रासस
२०७७ श्रावण १४ बुधबार ०८:०४:००

एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका– २ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको छ ।  घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगर उपप्रमुख विमला राईको पहलमा मंगलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौं पठाइएको हो ।     

रूखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगर उपप्रमुख राईले बताइन् । ‘समयमै जानकारी पाएको भए चीनमायालाई अलि छिटो उपचार गर्न सकिन्थ्यो’, उनले भनिन्, ‘ढिलै भए पनि उनलाई गाडी रिजर्भ गरेर काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । मलाई चिकित्सा विज्ञानसँग भरोसा छ । उनको रोग निको हुनेछ ।’     

रूखबाट लडेर रूखमै अड्किरहेको अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेलगत्तै थलापरेकी उनको शरीर अहिले अनौठो देखिएको छ । शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएकाे छ । उद्धार गरेर घरमा पुर्‍याउना साथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । उनको कम्मरमुनिको भाग पूर्ण रूपमा चल्न छोड्यो । हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुंगा र काठमाडौंसम्म पुर्‍याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए ।     

ओखलढुंगा र काठमाडौंमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी/झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ । घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्न सक्ने भए पनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो ।     

घरायसी उपचारपछि उनले खानेकुरा खाए पनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चीनमायाकी आमा खड्गमाया अधिकारी खत्रीले जानकारी दिइन् । ‘खाना जति खाए पनि पेटमा अडिन्न’, उनले भनिन्, ‘खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर, उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर भरिने भाँडो सधैँ खाली र रित्तो हुने गरेको छ ।’     

चीनमायाका बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि आमा खड्गमाया अहिले सबै काम छाडेर छोरीको स्याहार/सुसारमा दिनरात बिताउँदै आएकी छिन् । बिरामी छोरी चीनमायाको स्याहार/सुसारमा दिनरात खटिएकी आमा खड्गमायाले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन सहयोगदाता सबैसँग अपिल गरेकी छिन्।     

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली कांग्रेसका युवानेता राजकुमार राईले बताए ।