मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विद्युत लामिछाने
२०७७ श्रावण १४ बुधबार ०८:०५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अयोध्या वक्तव्य अर्थात् ओली उग्रराष्ट्रवादको अँध्यारो यात्रा 

Read Time : > 3 मिनेट
विद्युत लामिछाने
२०७७ श्रावण १४ बुधबार ०८:०५:००

हरेक दुई देशबीचको सम्बन्ध बहुआयामिक हुन्छ । सरकारस्तर, व्यापारीस्तर, जनस्तर विभिन्न स्तरका सम्बन्ध हुन्छन् । सरकारस्तरीय सम्बन्ध सत्ताको दृष्टिकोण र उदारतामा भर पर्छ । व्यापारिक सम्बन्धमा साझा प्रतिफलको हिसाबकिताब हुन्छ । तर, बलियो र दिगो सम्बन्धचाहिँ जनता–जनताबीचको हुन्छ । जनस्तरको सम्बन्धलाई धर्म, संस्कृति, साझा मूल्य–मान्यताजस्ता कडीले जोडेको हुन्छ । सत्ताले फुटाउन चाहँदैमा जनस्तरको सम्बन्ध फुट्दैन, न त जोडिन्छ नै ।

नेपाल–भारतबीच सरकारस्तरमा भन्दा जनस्तरको सम्बन्ध धेरै प्रगाढ छ । विशेषगरी जनस्तरको सम्बन्धलाई धर्मले बाँधेको छ । दुवै देशका बहुसंख्यक नागरिक हिन्दू छन् । हामी तीर्थयात्रा गर्न भारतका धामहरू पुग्छौँ । भारतीय पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर दर्शन गर्न नेपाल आउँछन् । सीमा वारिपारिको रोटीबेटीको सम्बन्धले यो जनस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ ।

नेपाली भारतीय सेनामा छन् । भारतमा श्रम बेच्न जाने प्रचलन उहिल्यैदेखि छ । भारतीय पनि श्रम गर्न यता आउँछन् । नेपालमा श्रम गरेको आर्जनले लाखौँ भारतीयको घरको चुलो बल्छ, भारतमा श्रम गरेको आर्जनले लाखौँ नेपालीको घरमा चुलो बल्छ । 

तर, गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्दा नेपालीलाई रिस उठ्छ । नेपालीहरू भारतले ऐतिहासिक प्रमाणलाई सम्मान नगरेको ठान्छन् । जसरी बुद्ध नेपालमा जन्मिएका भन्नेमा नेपालीको भावनात्मक लगाव छ, त्यसरी नै भारतीय हिन्दू अयोध्या रामको जन्मभूमि भएकोमा गलफत्ती गर्न चाहँदैनन् । यस्तो संवेदनशील विषयमा अत्यन्त सतही र आधारहीन कुरालाई उचालेर मूर्खताको आभास दिएका प्रमले आफ्नो व्यक्तिगत फाइदाका निम्ति जुनसुकै मुलुकसँग जस्तोसुकै दुस्मनी मोल्न पनि तयार रहेको सन्देश दिएका छन् । कुनै पुरातात्विक एवं ऐतिहासिक प्रमाण नभएको विषयमा वीरगन्जको ठोरीमा अयोध्या छ भन्ने उनको हदैसम्मको गैरजिम्मेवार अभिव्यक्तिले के देखाएको छ भने ओली आफ्नो राष्ट्रवादी इमेज जोगाउन जस्तोसुकै हावादारी र मूर्खतापूर्ण वक्तव्यबाजीमा ओर्लन तयार छन् ।

फाइदाको राजनीति : सन् २०१५मा भूकम्पबाट थलिएको नेपाललाई भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको विषयलाई केपी ओलीले मात्रै बोलेको र मोदीविरुद्ध अडान लिन सक्ने एक मात्र राष्ट्रवादी नेता भनेर प्रस्तुत गरियो । ओली नेतृत्वको सरकार बनेपछि नरेन्द्र मोदीले पटक–पटक नेपाल भ्रमण गरे । जब भारत उनको पक्षमा देखियो, उनले न सिमाना सम्झे, न त भारतसँगका सुल्झन बाँकी अन्य विषय ।

छिमेकी देशसँगको सम्बन्ध सुधार भन्दै ओलीको बचाउमा चर्काे स्वरमा उनका समर्थक देखिए । मोदीलाई संसद्मा चर्चित ‘पानी र जवानी’को भाषण गर्न लगाउँदासम्म ओली सरकारले स्कुलसमेत बन्द गराएर मोदीको स्वागतमा विद्यार्थी सडमा उतारेकै हो । केपी ओली र उनका समर्थक भारत–नेपाल सम्बन्धलाई आफ्नो स्वार्थअनुसार कसरी प्रयोग गर्ने भन्नेमा प्रस्ट छन् । 

केपी ओलीले लिएको राष्ट्रवादको बाटोबाट नेपाल नेताहरूले भनेजस्तो स्विट्जरल्यान्ड र सिंगापुरजस्तो बन्दैन, बरु पाकिस्तान वा अफगानिस्तानजस्तो बन्न सक्छ

प्रधानमन्त्री भएको दुइ वर्षसम्म, जतिवेलासम्म संविधानतः अविश्वासको प्रस्ताव ल्याउन मिल्दैनथ्यो, उनले भारतविरोधी कार्ड खेलेनन् । बोल्नै पर्ने विषयमा पनि ओलीले भारतविरुद्ध एक शब्द निकालेनन् । भारतले लिपुमा बाटो बनाउँदै गरेको थाहा पाउँदासमेत रोक्न कुनै कूटनीतिक पहल गरेनन् । यति मात्रै होइन, जनकपुरमा केपी ओली र नरेन्द्र मोदीले अयोध्या–जनकपुर सम्बन्ध जोड्न उस्तै वेशभूषा र उस्तै लवजमा भाषणसमेत गरे । नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको व्याख्या गर्ने अग्रपंक्तिमा ओली उभिए । 

किन अचानक भारतविरोधी ? : ओलीले देशभित्रको राजनीतिमा खटपटको संकेत देखापर्नासाथ भारतविरोधी कार्ड खेल्न सुरु गरेका हुन् । लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा पारित गर्दा त्यसको पक्षमा उनी मात्र थिएनन्, शेरबहादुर देउवादेखि उपेन्द्र यादव, राजेन्द्र महतोदेखि बाबुराम भट्टराई र महन्थ ठाकुर सबैले एकै स्वरमा यो भूमि नेपालको हो भनेर समर्थन जनाएका हुन् । यसैका आधारमा भारतसँगको सम्बन्ध बिग्रिने हो भने केपी ओलीको मात्र नभई सबै नेताको सम्बन्ध बिग्रिनुपर्ने हो । 

तर, कोरोना रोकथाममा असफल, जताततै भ्रष्टाचार र कमिसनमा लिप्त अनि सरकार चलाउन असफल भएको भनेर आफ्नै दलभित्र राजीनामाको आवाज उठ्न थालेपछि केपी ओली एकाएक उग्र भारतविरोधी र उग्रराष्ट्रवादी देखिएका हुन् । उनले कुर्सी जोगाउन आफूलाई हटाउन भारतमा योजना बनेको भन्ने कपोलकल्पित कुरा गरेर आफ्नै दलका अन्य सबै नेतालाई भारतीय दलाल करार गर्न खोजे । अर्कोतिर पद जोगाइदिन चिनियाँ राजदूतसँग गुहार मागेर राजदूतलाई नेताको घरदैलो चहार्न लगाए ।

सरल शब्दमा भन्नुपर्दा केपी ओली प्रधानमन्त्री रहनुपर्छ भन्नेजति सबै राष्ट्रवादी र केपी ओली असफल भए र सत्तामा बस्ने नैतिक हैसियत गुमाए भन्नेजति सबै राष्ट्रघाती भन्ने कथन स्थापित गर्न खोज्दै छन् उनी । यही केपी राष्ट्रवादको मूल मर्म हो । के चीनको राजदूतले विनास्वार्थ केपी ओलीको बचावमा दौडधुप गरेकी हुन् ? ओलीले सत्ता टिकाइदिए चीनको के स्वार्थ पूरा गरिदिने वचन दिएका छन् ? चीनको दौडधुपका पछाडि उसको व्यापारिक र भूराजनीतिक स्वार्थ जोडिएको कुरा केपी ओली र उनका अन्धभक्तबाहेक सबैलाई थाहा छ ।

को भारतपरस्त ? : केपी ओली पार्टी अध्यक्ष नहुँदा र पार्टी सरकारमा नहुँदा पनि एमालेमा केपी ओली गुट थियो । उनले आफ्नो गुटका कतिपय गतिविधि मदन भण्डारी फाउन्डेसनमार्फत गर्ने गरेका थिए भन्ने दलभित्रै सुनिन्छ । धेरैलाई थाहा नहुन सक्छ, मदन भण्डारी फाउन्डेसनअन्तर्गतका कार्यक्रममा भारतले करोडौँ लगानी गरेको छ । मदन भण्डारी कलेज भवन बनाउने खर्चदेखि कलेजको गाडी किन्ने खर्चमा समेत भारतीय सहयोग छ । 

केपी ओलीको पहिलो मिर्गौला प्रत्यारोपण भारतकै सहयोगमा भएको हो । भारतले नै एयर एम्बुलेन्समार्फत उनलाई नर्भिकबाट भारतको मेदान्त अस्पताल पु-याएको थियो । जति गुन भारतले केपी ओलीलाई लगाएको छ, समकालीन अन्य नेतालाई सायदै लगाएको होला । अरूलाई भारतीय एसेट भनेर औँल्याइरहँदा ओली समर्थकहरू ओली र भारतको सम्बन्धको इतिहास स्मरण गर्छन् कि गर्दैनन् होला ? अझै महाकाली सन्धिको वेलामा भारतीय पक्षमा ओली अटल उभिएको आरोप तत्कालीन एमालेभित्र चर्काचर्की बहसकै विषय बनेको कसैबाट छिपेको छैन । 

ओलीको विरोध गर्ने भारतीय दलाल होइनन् : केपी ओलीको विरोध भनेको भारतको गलत क्रियाकलापको समर्थनको रूपमा कसैले पनि बुझ्न हुन्न । भारतको छिमेकीसँगको सम्बन्ध र सानो चित्तलाई भारतभित्रैका उदार विचारधारा बोक्नेहरूले विरोध गरिरहेकै छन् । अझ चीनजस्तो शक्तिशाली मुलुकसँग मुकाबिला गर्न असफल भएपछि नेपालको मुद्दा उचालेको भन्ने विश्लेषणसमेत त्यहाँ छ । केही भारतीय मिडियाले केपी ओलीका बारेमा जुन घिनलाग्दो पत्रकारिता गरे, त्यसबाट भारतीय मिडियाकै एउटा तप्का लज्जित नै छ । यस्ता गैरजिम्मेवार क्रियाकलापको नेपालभित्र पनि विरोध भएकै छ । 

नेपालजस्तो सानो मुलुकको थोरै भूमि हत्याएर, आफ्ना मिडियामा नेपालबारे अफवाह फैलाएर भारत कसरी विश्वशक्ति बन्ला ? त्यसैले, आफ्नो आन्तरिक असफलता छोप्न भारतले नेपाल कार्ड खेल्न हुन्न, न त नेपालले नै भारत कार्ड खेल्न हुन्छ । तर, खेल्नै नहुने खेल ओलीले किन खेलेको ? झुटो र उग्रराष्ट्रवादको नारा सुन्दा हो कि झैँ लाग्ने र रगत उम्लेला जस्तो हुन्छ ।

नेपाल र भारतबीच कहिल्यै नसुल्झिने घृणाको सम्बन्ध सम्भव छैन । केपी ओलीको उग्रराष्ट्रवादको पक्षपोषणले नेपाललाई सिंगापुर वा स्विट्जरल्यान्डजस्तो समृद्ध होइन, द्वन्द्वको दुश्चक्रमा फसेका पाकिस्तान र अफगानिस्तानचाहिँ बनाउँछ ।