Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
नविन अर्याल काठमाडाैं
२०७७ श्रावण १४ बुधबार ०७:५०:००
फिचर प्रिन्ट संस्करण

लकडाउनमा टिकटक र अनलाइन गेम लोकप्रिय

नविन अर्याल, काठमाडाैं
२०७७ श्रावण १४ बुधबार ०७:५०:००

सरकारले ११ चैतदेखि लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर खाने विपन्न वर्ग धेरै मारमा परे । अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि ठप्प भएसँगै विपन्न वर्गको रोजिरोटी पनि खोसियो । उनीहरूलाई बिहान–बेलुकाको छाक टार्न पनि कठिन भयो । एक सातासम्म जेनतेन भरथेग गरेका उनीहरू लकडाउन लम्बिन थालेपछि दोस्रो हप्तादेखि नै कर्मथलोबाट रातविरात हिँडेरै भए पनि आफ्नै घर लागे । गाडी नचल्दा सुत्केरी र गर्भवती महिला असुरक्षित रूपमा यात्रा गर्न बाध्य बने ।

एकातिर हुँदा खाने वर्ग प्रभावित भइरहँदा हुनेखाने वर्ग भने सामाजिक सञ्जालमा धेरै समय बित्न थाल्यो । लकडाउनमा मध्यमवर्ग अझ बढी सामाजिक सञ्जालमा सक्रिय भयो । मान्छेले घरमा नाचेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याए । कतिपयले अफिसको काम घरबाटै अनलाइनमार्फत गर्न थाले । सरकारले अत्यावश्यक काममा बाहेक हिँड्डुल गर्न रोक लगाएपछि घरभित्र थुनिएका नेपालीले बढी समय इन्टरनेटमा बिताएको बताउँछन्, नेपाल नेटवर्क अपरेटर ग्रुपका अध्यक्ष समितजन थिङ । चाइल्ड सेफ नेटले सार्वजनिक गरेको सर्वेक्षणअनुसार लकडाउनको अवधिमा इन्टरनेटमा समय बिताउनेको संख्या निकै बढेको छ । घरभित्र बस्दा नेपालीले दैनिक औसतमा ६ घन्टासम्म इन्टरनेटमा बिताएका छन् ।

लकडाउन सुरु भएसँगै विश्वभरि नै इन्टरनेट खपत बढ्यो, ब्यान्डविथ खपत बढेपछि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्सलगायतले भिडियोको क्वालिटी नै घटाउनुपर्‍यो

सामान्य अवस्थामा भन्दा लकडाउनको अवधिमा इन्टरनेट सेवाप्रदायक (आइएसपी) बाट लोकल ब्यान्डविथ खपत ११ सय ५२ जिबिपिएसबाट बढेर १५ सय ५३ जिबिपिएस पुग्यो भने तीन सय ३४ जिबिपिएससम्म खपत भइरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेर चार सय १८ जिबिपिएससम्म पुग्यो । यो भनेको क्रमशः ३५ प्रतिशत र २५ प्रतिशतले बढी हो । लकडाउनको अवधिमा कुल ब्यान्डविथ खपत बढेर १९ सय ७१ जिबिपिएससम्म पुगेको उनी बताउँछन् । यहाँ मोबाइल सेवाप्रदायक कम्पनीको तथ्यांक समावेश गरिएको छैन । लकडाउनमा थ्रिजी र फोरजी इन्टरनेटको खपत पनि ह्वात्तै बढेको टेलिकम सेवाप्रदायकले जनाएका छन् ।

लकडाउनको अवधिमा अनलाइन कक्षा, भिडियो कन्फ्रेन्स, टिकटक, नेटफ्लिक्स, युट्युब, अनलाइन गेम, फेसबुक, इन्स्टाग्राम, ट्विटर, गुगललगायतका प्रयोगकर्ता बढेपछि इन्टरनेट ट्राफिक ह्वात्तै बढेको हो । इन्टरनेटको खपत बढेपछि नियामक निकाय र इन्टरनेट प्रोभाइडरले प्रयोगकर्तालाई किफायती ढंगले इन्टरनेट चलाउन आग्रह गरेका छन् । लकडाउन सुरु भएसँगै विश्वभरि नै इन्टरनेट खपत बढेको हो । ब्यान्डविथ खपत बढेपछि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्सलगायतले भिडियोको क्वालिटी नै घटाउनुपर्‍यो ।

नेपाल इन्टरनेट एक्सचेन्ज (एनपिक्स)ले तयार पारेको रिपोर्टअनुसार लकडाउनको अवधिमा टिकटकको प्रयोग शतप्रतिशतले बढ्यो । नेपालमा लकडाउनअघि टिकटक चलाउँदा ७ जिबिपिएस इन्टरनेट ब्यान्डविथ खपत हुने गरेकोमा लकडाउनपछि बढेर १३ जिबिपिएससम्म खपत भएको तथ्यांक छ । लकडाउनमा घरभित्र बसेर फिल्म हेर्ने र अनलाइन गेम खेल्ने पनि शतप्रतिशतले बढेका छन् । पहिला नेटफ्लिक्सबाट फिल्म हेर्दा अन्तर्राष्ट्रिय र लोकल ब्यान्डविथ कुल २४ जिबिपिएससम्म खपत हुन्थ्यो, लकडाउनमा खपत बढेर ५६ जिबिपिएस पुग्यो । अनलाइन गेममा तीन जिबिपिएस ब्यान्डविथ खपत हुने गरेकोमा बढेर ७ जिबिपिएससम्म इन्टरनेट खपत भएको वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृतसमेत रहेका थिङको भनाइ छ ।

 धेरै ब्यान्डविथ खपत गर्नेमा सर्च इन्जिन गुगल पहिलो नम्बरमा

फेसबुकमा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ९० जिबिपिएसबाट बढेर १०५ जिबिपिएस पुगेको छ भने लोकल ब्यान्डविथ खपत २६७ जिबिपिएसबाट बढेर ३२७ जिबिपिएससम्म पुगेको छ । फेसबुकमा अन्तर्राष्ट्रिय र लोकल गरी ७५ जिबिपिएसले ब्यान्डविथ खपत बढेको तथ्यांकले देखाउँछ ।

अनलाइन क्लास, भिडियो कन्फ्रेन्स, वर्क फ्रम होमलगायत गतिविधि बढ्दा इन्टरनेट खपत बढेको छ । लकडाउनको अवधिमा सहरमा थ्रिजी र फोरजी इन्टरनेटको ट्राफिक घट्यो, गाउँमा बढ्यो । मान्छेले घरमा बस्दा महँगो पर्ने थ्रिजी र फोरजी चलाउनुभन्दा फिक्स्ड इन्टरनेट नै बढी चलाए ।
-समितजन थिङ, अध्यक्ष, नेपाल नेटवर्क अपरेटर ग्रुप

धेरै ब्यान्डविथ खपत गर्नेमध्येमा सर्च इन्जिन गुगल पहिलो नम्बरमा पर्छ । गुगलअन्तर्गत युट्युब पनि पर्ने हुनाले धेरै ब्यान्डविथ खपत भएको हो । गुगलमा लकडाउनअघि अन्तर्राष्ट्रिय र लोकल ब्यान्डविथ खपत ६४८ जिबिपिएससम्म भएकोमा लकडाउनको अवधिमा बढेर ७४६ जिबिपिएससम्म पुग्यो । ‘लकडाउनको अवधिमा मान्छेले घरमा बसेर काम गर्न थालेपछि अमेजन र माइक्रोसफ्टको प्रयोग पनि बढ्यो,’ इन्टरनेट एक्सचेन्ज (एनपिआइएक्स)का बोर्ड अफ डाइरेक्टर पनि रहेका थिङ बताउँछन्, ‘अनलाइन क्लास, भिडियो कन्फ्रेन्स, वर्क फ्रम होमलगायत गतिविधि बढ्दा पनि इन्टरनेट खपत बढाएको छ ।’

लकडाउनअघि माइक्रोसफ्ट चलाउँदा ५ जिबिपिएस इन्टरनेट ब्यान्डविथ खपत हुने गरेकोमा लकडाउनपछि ८ जिबिपिएसम्म खपत भयो । अमेजनमा पहिला ३ जिबिपिएस ब्यान्डविथ खपत भइरहेको थियो भने लकडाउनको अवधिमा ५ जिबिपिएससम्म पुग्यो ।’ अकमाईमा अन्तर्राष्ट्रिय र लोकल ब्यान्डविथ ५७ जिबिपिएस खपत हुन्थ्यो भने लकडाउनमा बढेर ११७ जिबिपिएसम्म खपत भयो । इन्टरनेट प्रोभाइडरले होस्ट गरेका आफ्ना वेबसाइटहरूमा ४८ जिबिपिएस इन्टरनेट खपत हुने गरेकोमा लकडाउनमा ८१ जिबिपिएससम्म खपत भएको उनको भनाइ छ । 

माथिको तथ्यांक इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)को इन्टरनेट ट्राफिक हो । एनटिसी, एनसेललगायतका मोबाइल सेवाप्रदायक कम्पनीहरूको आँकडा समावेश गरिएको छैन । ‘लकडाउनको अवधिमा सहरमा घरभित्र बस्नेले बढी आइएसपी र नेपाल टेलिकमको फिक्स्ड इन्टरनेट सेवा चलाएका छन्, जहाँ आइएसपीको सेवा पुगेको छैन, त्यो ठाउँमा टेलिकम कम्पनीहरूको थ्रिजी र फोरजी मोबाइल इन्टरनेट बढी खपत भएको छ,’ थिङ भन्छन्, ‘मोबाइलबाट थ्रिजी र फोरजी इन्टरनेट चलाउनेहरू पनि लकडाउनमा ह्वात्तै बढेका छन् ।’ लकडाउन सुरु भएपछि धेरै मानिस कर्मथलो सहर छाडेर गाउँतिर फर्किए । गाउँमा फर्किएका धेरैले मोबाइलबाट इन्टरनेट चलाएका छन् । उनी थप्छन्, ‘लकडाउनको अवधिमा सहरमा थ्रिजी र फोरजी इन्टरनेटको ट्राफिक घट्यो, गाउँमा बढ्यो । मान्छेले घरमा बस्दा महँगो पर्ने थ्रिजी र फोरजी चलाउनुभन्दा फिक्स्ड इन्टरनेट नै बढी चलाए ।’

नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने धेरै 

नेपालमा खपत भइरहेको कुल इन्टरनेट ब्यान्डविथमा टेलिकम कम्पनीहरूको मोबाइल÷वायरलेस सेवाको ११ प्रतिशत र फिक्स्ड सेवाको ८९ प्रतिशत हिस्सा छ । तर, ‘नम्बर अफ युजर्स’का आधारमा फिक्स्ड सेवाका भन्दा मोबाइलबाट इन्टरनेट चलाउने धेरै रहेको थिङ बताउँछन् । एउटा घरमा जोडेको फिक्स्ड लाइनबाट धेरैले इन्टरनेट चलाउने हुँदा फिक्स्डका प्रयोगकर्ता कम देखिने उनको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय र लोकल गरी कुल २.१ टिबिपिएस इन्टरनेट ब्यान्डविथ खपत हुन्छ, जसमध्ये अन्तर्राष्ट्रिय ब्यान्डविथतर्फ करिब ५ सय जिबिपिएस (२७ प्रतिशत) र लोकल ब्यान्डविथतर्फ करिब १६ सय जिबिपिएस (७३ प्रतिशत) इन्टरनेट खपत भइरहेको छ । 

नेपालमा खपत हुने ब्यान्डविथमध्ये सर्च इन्जिन गुगलले मात्र ५१ प्रतिशत लोकल ब्यान्डविथ र ३२ प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने तथ्यांकले देखाउँछ । फेसबुक चलाउँदा ३१ प्रतिशत लोकल र २४ प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । यस्तै, सर्भिस प्रोभाइडरहरू अकमाईमा ४ प्रतिशत, नेटफ्लिक्स १ प्रतिशत, टेनसेन्ड २ प्रतिशत, एनपिक्समा १ प्रतिशत, अन्य सेवामा ८ प्रतिशत र आइएसपीका आफ्नै वेबसाइटमा २ प्रतिशत ब्यान्डविथ खपत हुन्छ।

अन्तर्राष्ट्रिय ब्यान्डविथतर्फ अमेजनले ४ प्रतिशत, अकमाईले ४ प्रतिशत, माइक्रोसफ्टले २ प्रतिशत, टेनसेन्डले २ प्रतिशत, लाइमलाइट र एजकास्टले १–१ प्रतिशत तथा अन्यले ३१ प्रतिशत ब्यान्डविथ खपत गरिरहेका छन् । विदेशमा तयार भएका कन्टेन्टहरू सीधै हेर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्छ भने नेपालमै तयार भएर यहीँको सर्भरमा रहेका कन्टेन्ट हेर्दा लोकल ब्यान्डविथ खपत हुन्छ ।