१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार ०५:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कमलादीबाट बरामद सुनजस्तो देखिने धातु चाँदी भएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार ०५:२९:००

प्रहरीले कमलादीमा मंगलबार बरामद गरेको सुनजस्तो देखिने पहेँलो धातु चाँदी रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान कमलादीबाट सुनजस्तो देखिने १५ किलो पहेँलो धातु बरामद गरेको थियो । परीक्षणपछि चाँदी भएको खुलेको परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

‘हेर्दा सुनजस्तो देखिन्थ्यो । आकार पनि सुनकै जस्तो थियो । परीक्षणपछि चाँदी भएको खुल्यो,’ उनले भने, ‘चाँदीमा सुनको जलप लगाइएको पाइयो ।’ त्यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार मंगलबार बिहान कृष्णपाउरोटी चोकमा प्रहरीले नियमित जाँच गरिरहेको थियो । सोही क्रममा बा.६च ५५१९ नम्बरको स्कार्पियोलाई प्रहरीले रोक्न खोज्यो । तर, स्कार्पियो रोकिएन, गति बढाउँदै कमलादीतर्फ हुइँकियो ।

शंकास्पद गतिविधिका कारण प्रहरीले स्कार्पियोलाई पिछा गर्‍यो । त्यस क्रममा स्कार्पियोबाट कपडाको कालो झोला प्रहरीतर्फ फ्याँकियो । प्रहरी झोला उठाउन अल्मलियो । त्यही मौकामा स्कार्पियो फरार भयो ।

झोला खोल्दा एक किलो लेखिएको आठ थान, दुई सय ५० ग्राम लेखिएको २६ थान र पाँच सय ग्राम लेखिएको एक थान सुनजस्तो देखिने पहेँलो धातु बरामद भयो । झोलामा दुईवटा मेड इन चाइना लेखिएका पेस्तोल र म्याग्जिन पनि बरामद भए । स्कार्पियो र त्यसमा सवार व्यक्ति पक्राउ नपरेकाले थप तथ्य नखुलेको प्रहरीले जनाएको छ ।