Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १४ बुधबार ०४:१०:००
Read Time : > 13 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा विवाद : दुवै समूह शक्ति परीक्षणमा

Read Time : > 13 मिनेट
२०७७ श्रावण १४ बुधबार ०४:१०:००

-बालुवाटारमै भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नै अनुपस्थित, ४४ सदस्यीय स्थायी कमिटीमा १६ अनुपस्थित, २८ उपस्थित

-बैठकमा उपस्थित : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, धनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल 

-बैठकमा अनुपस्थित : अध्यक्ष केपी ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, रघुवीर महासेठ 

-उपस्थित सदस्यहरूको निर्णय, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ : ‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ ।’

...............  ...............

सहमति जुटाउने एक महिनादेखिको प्रयास असफल र अविश्वासमा बदलिएपछि सत्तारुढ दल नेकपामा औपचारिक रूपमा शक्ति–परीक्षण सुरु भएको छ । पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई समूहबीच विवाद भएको छ । र, सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका छन् । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहका नेताले बहिष्कार गरेका छन् । 

नियमित एजेन्डामा प्रवेश नगरी छलफल सकिए पनि ओलीको असहमतिबीच सम्पन्न स्थायी कमिटीको बैठकपछि नेकपाको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । स्थायी कमिटी बैठक सुचारु गर्ने गरी छिट्टै नयाँ सहमति नभए अल्पमत–बहुमतको शक्ति–परीक्षणका लागि केन्द्रीय कमिटी र संसदीय दलतिर शक्ति–संघर्ष उन्मुख हुने ढोका खुलेको छ । यससँगै नेकपा नेताहरूले विभाजन हुन नदिन गम्भीरतासाथ होसियारी अपनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकल निर्णयमा मंगलबारको बैठक स्थगित गरेपछि असन्तुष्ट बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै बैठक गरेका हुन् । बहुमत सदस्य बालुवाटारमा भेला गरेर प्रचण्ड–नेपाल समूहले ओली समूहमाथि दबाबको राजनीति बनाएको छ । साथै यो समूहले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाए बहुमतबाट ठोस निर्णय लिन सकिने सन्देश दिएको छ । यद्यपि ओली समूहले प्रचण्ड–नेपाल समूहको बैठकलाई मान्यता दिएको छैन । 

एक व्यक्ति : एक जिम्मेवारीको नीति लागू गर्न प्रधानमन्त्री ओलीलाई एक पद छाड्न दबाब दिँदै आएको प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरूको बैठक सम्पन्न गरेर बैठक स्थगित गर्ने ओलीको कदमको आलोचना गरेको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत बैठक स्थगित भएको सूचना बाहिर ल्याएका थिए । 

११ बजे बोलाइएको बैठक अचानक स्थगित भएपछि प्रचण्डले खनालसँगै प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न जाने प्रचण्डको प्रस्तावमा नेपाल भने गएका थिएनन् । बैठक सञ्चालन गर्न प्रधानमन्त्री ओली तयार नभएपछि प्रचण्ड–नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका थिए । बैठकमा ४४ सदस्यीय स्थायी कमिटीका २८ नेता सहभागी थिए । प्रचण्ड–नेपाल समूहका नेताहरूको बैठक चलिरहेका वेला ओलीले बालुवाटारमै आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग परामर्श गरेका थिए । 

बैठकमा प्रधानमन्त्री ओलीसहित उनीनिकट १० तथा पूर्वमाओवादी समूहका चारसहित १५ जना नेता सहभागी भएनन् । पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र नेताहरू टोपबहादुर रायमाझी र मणि थापाबाहेक प्रचण्डनिकट १६ तथा वरिष्ठ नेता माधवकुमार नेपाल १२ र मंगलबार प्रधानमन्त्री ओलीको समर्थनमा खुलेका उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी थिए । त्यस्तै, आमन्त्रित सदस्यका रूपमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ सहभागी थिए । 

बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय उचित नभएको निष्कर्ष निकालेको थियो । त्यस्तै, बैठकले पार्टी एकता र विधि तथा परम्परालाई ध्यानमा राखेर अर्का अध्यक्ष ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मेवारी दिएको छ । यद्यपि, बैठक सुरु नहुँदै उपस्थित महासचिव विष्णु पौडेलले माइन्युटिङ साथमा लिएर गएका कारण माइन्युटमै निर्णय उल्लेख गरिएको छैन । महासचिवपछि ओलीनिकट नेता रघुवीर महासेठ पनि बैठकबाट निस्केका थिए । 

‘जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष ओली एक्लैले स्थगित भएको सूचना जारी गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अर्का अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले ग¥यो,’ निर्णयका लागि बैठकबाट पारित प्रस्ताव उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने । त्यस्तै, बैठकले पार्टी एकताको रक्षा गर्न, विधि र पद्धतिसम्मत ढंगले अघि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउन सबै नेता–कार्यकर्ता र सदस्यलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि आग्रह गरेको छ ।

सोमबार प्रचण्डनिवासमा बसेको समूहको बैठकले स्थायी कमिटी सुचारु गर्ने, नियमित एजेन्डामा छलफल गर्ने र ओली सहमतिमा नआए बैठकबाटै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न निर्देशन दिने रणनीति बनाएको थियो । त्यसको अर्को दिन ओलीले एकतर्फी रूपमा बैठक स्थगन गरेका हुन् । 

ओली समूह अहिलेसम्म पूर्ववत् अडानमा कायमै छ । ओलीनिकट नेता प्रदीप ज्ञवालीले भने, ‘एक व्यक्ति : एक पद अहिले कार्यान्वयन गर्न सम्भव छैन । महाधिवेशनमा गएर एकता प्रक्रिया पूरा भयो, अब हामी सामान्य लेनिनवादी संगठनात्मक ढाँचामा फर्कियौँ भन्न सकिन्छ । त्यसअगाडि नै अहिलेका प्रबन्ध भत्काउनु भनेको वस्तुतः एकताको आधार नै भत्काउनु हो ।’ 

...............  ...............

फोन इन्कारपछि छलफल, त्यसपछि बैठक 

ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकअघि बिहान ९ बजे छलफल गर्ने तय भए पनि खुमलटारमा सचिवालयका निकटस्थ सदस्यहरूसँग छलफल सकेर ढिला गरेर मात्र प्रचण्ड बालुवाटार पुगेका थिए । तर, १० बजेसम्म प्रचण्ड बालुवाटार नपुगेपछि ओलीले बैठक स्थगनको सूचना केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालमार्फत एकतर्फी सम्प्रेषित गर्न लगाएका थिए । 

त्यही सूचनाका कारण बैठकबारे अन्योलमा परेका थुप्रै सदस्य पूर्वनिर्धारित समयभन्दा केही ढिला गरी बालुवाटार पुगेका थिए । बहुमत सदस्यको उपस्थितिपछि प्रचण्डले फोनबाटै बैठक सुरु गर्न उपस्थितिका लागि आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए । तर, अधिकांश नेताले बैठक सुरु गर्नुअघि एकपटक ओलीलाई भेटेरै आग्रह गर्न सचिवालयका नेताहरूलाई आग्रह गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पुरानै कुरा दोहोरिने निश्चित रहेका कारण जानुको औचित्य नहुने भन्दै अस्वीकार गरे । 

‘मैले र झलनाथ कमरेडले भेटेर उहाँलाई बैठकमा आउन आग्रह ग¥यौँ, तर उहाँ (प्रधानमन्त्री)ले मान्नुभएन । तपाईंहरूले जे गर्नुपर्ने हो गर्नुस्, तपाईंहरूले गरेपछि म पनि जे गर्नुपर्ने हो त्यही गर्छु,’ प्रचण्डले फर्किएर बैठक सुरु गर्नुअघि सुनाएको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले नयाँ पत्रिकासँग भने । त्यसपछि बैठक सुरु भएको थियो । 

...............  ...............

नियमित एजेन्डामा प्रवेश नगर्ने, तर बैठक मान्ने सहमति

बैठक सुरु गर्नुअघि सहभागी नेताहरूबीच बैठक मान्ने कि नमान्ने केहीबेर छलफल भएको थियो । उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्ष अनुपस्थित रहेका कारण भेला मानेर जानु उचित हुने धारणा राखेका थिए भने घनश्याम भुसालले पनि नियमित एजेन्डामा छलफल नगर्ने गरी अनौपचारिक बैठकका रूपमा भेलाकै अर्थमा सम्पन्न गर्नु उचित हुने धारणा राखेका थिए ।

‘उपस्थित साथीहरूका बीचमा बैठक भन्ने कि नभन्ने कुरा चलेको हो, वामदेव कमरेडको बैठकभन्दा पनि भेलाभन्दा उपयुक्त हुने सुझाब थियो, तर अरू धेरैजसो साथीले जतिजना भए पनि बैठक त हो भनेपछि बैठक मान्ने सहमति भएको हो,’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नयाँ पत्रिकासँग भने, ‘कतिपय साथीहरूले बैठक नियमित एजेन्डामा प्रवेश गरेर आज, भोलि, पर्सि गरौँ भन्नुभएको थियो, तर हामीले त्यसो नगरौँ, एकताका लागि सहमतिको बिन्दु खोजौँ, एकता टुटिसकेको अवस्था पनि होइन, बहुमत सदस्य भएपछि यो पक्षले एकता जोगाउन बढी जिम्मेवार भूमिका खेल्नु उपयुक्त हुने सुझाब दिएअनुसार एकता नभत्किने गरी बैठक सुचारु गर्न अनुपस्थित अध्यक्षसँग पहल गर्ने जिम्मेवारी उपस्थित अध्यक्षलाई दिने निर्णय भएको हो ।’

वरिष्ठ नेता नेपालनिकट स्थायी कमिटी सदस्यहरू भीमबहादुर रावल, रघुजी पन्त, बेदुराम भुसाल, गोकर्ण विष्टलगायत एक दर्जनभन्दा बढी नेताले ओली अनुपस्थित भए पनि बैठक रोक्ने अधिकार दुवै अध्यक्षलाई नभएको भन्दै उनीहरूबीचको पदीय भागबन्डाभन्दा पनि पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्ने कुरा महत्वपूर्ण भएकाले सञ्चालन गर्न माग गरेका थिए ।

‘६ साउनको स्थायी कमिटीले सर्वसम्मत रूपमा आजका लागि बैठक तोकेको हो, हामी तोकिएको मिति, तोकिएको ठाउँ र समयमै आएका छौँ, त्यसैले यो बैठक सार्ने अधिकार प्रधानमन्त्री र तपाईं दुवैजनालाई छैन,’ बैठकमा धेरै नेताको सुझाब उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी विधि र पद्धतिका लागि लडिरहेका छौँ । मृतप्राय अवस्थामा पुगेको पार्टीलाई विधि र पद्धतिअनुसार चलाएर पुनर्जागृत गर्ने कामका लागि प्रचण्ड कमरेडलाई साथ दिएको र उहाँ पनि त्यसअनुसार नै अघि बढेको कारणले साथ दिएको हौँ, दुई अध्यक्षबीचको पदको भागबन्डामा हामीलाई रुचि छैन, बैठक चलाउनुपर्छ ।’ नेता रावलले दुई अध्यक्षको पदको भागबन्डा र सहमतिको प्रयास भन्दै बाहिर गलत प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाएका थिए । नेता जनार्दन शर्माले महाधिवेशनमा जाने गरी छलफल अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

...............  ...............

प्रचण्डले भने– एकल अध्यक्षको नेतृत्व स्विकारेको सन्देश जाने भो, त्यसैले बैठक गरौँ 

बिहान प्रधानमन्त्रीसँग फोनमा सम्पर्क हुँदा उहाँले बैठक स्थगित गरौँ भन्नुभएको थियो । मैले नियमित एजेन्डामा बैठक गरौँ, नरोकौँ भनेँ । स्थायी कमिटीले नै १३ गते मिति तय गरेको हुँदा रोक्न मिल्दैन । पटकपटक बैठक सरिसक्यो, यो मिति तपाईं र मैले होइन, स्थायी कमिटीले तोकेको हो । स्थायी कमिटीले तोकेको बैठक हामीलाई रोक्ने अधिकार छैन, रोक्न मिल्दैन ।

म त्यहाँ (बालुवाटार) आउँदै छु, सल्लाह गरौँला नि त भन्दाभन्दै उहाँले फोन राखिदिनुभो । मैले बरु त्यहाँ आएपछि साथीहरूसँग केहीबेर कुरा गरौँला अनि जे गर्ने गरौँला भनेको थिएँ । तर, ढिलो भएर छलफलका लागि जान खोज्दा बैठक स्थगित भएको जानकारी आयो । जुन सूचना बैठक स्थगितका लागि जारी गरियो भनियो त्यसका लागि सचिवालयको बैठकै बसेको छैन, सूचना नै मिलेको छैन । अध्यक्षले बैठक स्थगित गरेको घटना पनि छैन ।

मैले महासचिवलाई यो के गरेको भनेर सोधेँ । यो घटनाले असहज परिस्थिति उत्पन्न ग¥यो । हुन त यसअघि पनि एमाले पार्टी दर्ता, जुलुस प्रदर्शन, जबजका नाममा भएका गोष्ठीहरू पनि यस्तै असहज घटना हुन् । तैपनि पार्टी एकताका लागि मैले प्रयत्न गरिनै रहेको छु । आज उहाँले गरेको यो स्थगनलाई स्वीकार गर्ने हो भने त एकल अध्यक्ष लागू भएको ठहर्छ । त्यसैले स्थायी कमिटीको निर्णयलाई यसरी उल्ट्याउन मिल्दैन, बैठक गर्नुपर्छ । 

...............  ...............

६बुँदे प्रस्ताव राख्दै वामदेवले भने– ओली कम्युनिस्ट हुन योग्य व्यक्ति नै होइन, तर दुर्घटनाबाट पार्टीलाई जोगाउन सहमतिको प्रस्ताव ल्याएको हुँ 

प्रधानमन्त्री ओलीले एक पदबाट राजीनामा दिनुपर्ने नेकपाको स्थायी कमिटी बैठकका पहिलो प्रस्तावक उपाध्यक्ष वामदेव गौतम ओलीले दुवै पदबाट छोड्नु नपर्ने भन्दै अचानक उनकै पक्षमा उभिएका छन् । ओलीले एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड–नेपाल समूहको छलफलमा सहभागी हुँदै आएका गौतमले एकता महाधिवेशनसम्म ओली नै अध्यक्षमा कायम रहने र प्रतिनिधिसभाको कार्यकालभरि उनी नै प्रधानमन्त्री हुनुपर्ने भन्दै प्रस्ताव राखेका हुन् । 

‘पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो । यति धेरै साथीहरूले योग्यता देखाउन सक्नुभएन, छाड्नुस् भन्दा पनि उहाँ राजीनामाका लागि तयार हुनुभएन र उहाँको त्यही हठले अब पार्टीमा विभाजनको खतरा देखा परेको छ । उहाँबाट पार्टी र सरकार दुवै चल्दैन भन्दा अलिअघि माधव कमरेडले अहिले केपीलाई नहटाउँ, एकपटकलाई सुध्रने मौका दिउँ, आलोचना गरौँ, सुधार्ने प्रयत्न गरौँ भन्नुभो,’ सहमतिको प्रस्ताव औचित्य गर्ने क्रममा गौतमले राखेको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘यत्रो विरोध र आलोचना हुँदा उहाँ आफैँले छाड्नुपर्ने हो, तर उहाँमा त्यस्तो छोड्ने साहस देखिएन, त्यसैले उहाँ कम्युनिस्ट हुन योग्य मान्छे होइन । यस्तो व्यक्तिलाई अहिले हामीले बोकिरहेका छौँ, जसले फोहोर मात्र गरिरहेको छ, खाली अहिले तत्काल दुवै पदबाट हटाउँदा दुर्घटना होला कि भन्ने मलाई लाग्यो, त्यसकारण मैले अरू कुराहरू मिलाउँ, तर प्रधानमन्त्रीबाट चाहिँ नहटाउँ भनेर सहमतिको प्रस्ताव राखेको हुँ ।’

०७२ यता लगातार ओलीबाट धोका पाएको गुनासो गर्दै आएका गौतमले ६ बुँदे प्रस्तावमा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने उल्लेख गरेका छन् । 
त्यस्तै, प्रधानमन्त्रीको दैनन्दिनका काममा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी सचिवालयका सुझाब र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने उल्लेख छ ।

...............  ...............

यसरी तयार भो गौतमको प्रस्ताव– पौडेल, भुसाल र भट्टराईसँग परामर्श

६ बुँदे सहमतिको प्रस्ताव तयार गर्नुअघि उपाध्यक्ष गौतमले महासचिव विष्णु पौडेल, कृषिमन्त्री घनश्याम भुसाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग समेत छलफल र परामर्श गरेका छन् । गत शुक्रबार भुसाल र भट्टराईसँग पार्टी एकताकै विषयमा गौतमले निजी निवास भैँसेपाटीमा राति अबेरसम्म परामर्श गरेका थिए । तीन साताअघि पौडेलसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मुख्यमन्त्री शंकर पोखरेलसहितले राति १ बजेसम्म छलफल गरेर ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसक्रममा गौतमलाई जबजको पक्षमा खुलेर अबको महाधिवेशनबाट नेतृत्व लिने गरी अघि बढ्न सुझाब दिएका थिए । तर, गौतमले भने आफूले निरन्तर ओलीबाट धोका पाएकाले उनको समूहमा रहन नसक्ने, तर पार्टी विभाजन हुन नदिन निर्णायक भूमिका खेल्ने वचन दिएका थिए । यद्यपि, आफ्नो प्रयासका बाबजुद पार्टी विभाजन भए स्वतन्त्रको वामनेताको हैसियतमा बस्ने भन्दै विगतको जस्तो विभाजनको दोष कुनै पनि हालतमा नलिने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार गौतमले ६ बुँदे प्रस्ताव अघि सारेको भैँसेपाटी छलफलमा सहभागी एक नेताले बताए । 

...............  ...............

युवा नेताहरूको निष्कर्ष : संवाद जारी राख्दै सरकार र पार्टीको समीक्षाबाहेकको एजेन्डामा छलफल 

नेकपाका दोस्रो तहका नेताहरू घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीलाई विभाजनतर्फ जान नदिन निर्णायक अग्रसरता लिने समझदारी गरेका छन् । बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको बैठक सुरु हुनुअघि कृषिमन्त्री भुसालको कार्यकक्षमा भेला भएका तीन नेताले त्यस्तो समझदारी गरेका हुन् । 

‘बैठक चलाउन सकिन्छ, तर संवाद रोकिने गरी कसैले पनि निर्णय वा जुलुस, सभा, प्रशिक्षणजस्ता गतिविधि गर्नुहुँदैन, त्यसले पार्टी फुटाउँछ भन्ने हाम्रो कुरा हो,’ नेता भुसालले भने, ‘त्यसैले सरकार र पार्टीको समीक्षासम्बन्धी एजेन्डाबाहेकमा छलफल गरेर संवाद जारी राख्नुपर्छ, अध्यक्ष पहिले पनि आउनुभएको थिएन, त्यसकारण अहिलेलाई त्यही कुरालाई गम्भीरतापूर्वक नलिउँ, प्रधानमन्त्रीले पनि बैठक बस्ने कुरालाई अनावश्यक ठान्नुभएन, उताबाट पनि पार्टी र सरकारको कामको समीक्षाबारे एक्लै छलफल गर्नुहुँदैन भन्ने हाम्रो कुरा हो ।’ उनले यही निष्कर्षसहित नेताहरूसँग विभाजन रोक्न पहल गर्ने समझदारी भएकोसमेत जानकारी दिए । 

...............  ...............

वामदेवनिवासमा ओलीको ‘गेटक्र्यास’

बालुवाटारको तनावपूर्ण दिनपछि प्रधानमन्त्री केपी ओली ‘गेटक्र्यास’ गरेर मंगलबार साँझ पार्टी उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेका छन् । श्रीमती राधिका शाक्यसहित बालुवाटारबाट निस्किएका ओलीले भैँसेपाटीनजिक नख्खु पुगेर मात्रै आपूm आएको जानकारी दिएको गौतम परिवारको भनाइ छ । समकालीन नेताहरूसँग सम्बन्ध सुधार गर्न भेटका लागि कहिल्यै बालुवाटारबाहिर ननिस्कने प्रधानमन्त्री ओली गौतमलाई भेट्न दोस्रोपटक भैँसेपाटी पुगेका हुन् ।

ओलीले गौतमसँग साँझ ७ बजेपछि दुई घन्टा बिताएका थिए । यसअघि असोज, ०७६ मा भैँसेपाटीमा निर्माणाधीन सांसद आवास शिलान्यासबाट फर्किने क्रममा ओली अचानक गौतमनिवास पुगेका थिए । महासचिव विष्णु पौडेल पनि गौतमनिवासमा थिए । ‘कति बालुवाटारमा मात्रै बस्नु, साथीसँग भेटघाट गरौँ, रिफ्रेस होऔँ भनेर पारिवारिक भेटका लागि आएको हुँ,’ भैँसेपाटी पुगेलगत्तै ओलीले भनेका थिए । गौतमको प्रेस संयोजन गरिरहेका पत्रकार विश्वमणि सुवेदीले पारिवारिक भेटघाटका लागि पुगेका प्रधानमन्त्री ओली दुई घन्टापछि फर्किएको बताए । गौतमका पुत्र हरिशले दुवै परिवारको सामूहिक तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन् ।

बालुवाटारमै बहुमत स्थायी कमिटी सदस्यहरूको बैठकपछि असहज महसुस गरेका प्रधानमन्त्री ओलीलाई साथ दिँदै गौतमले उनले प्रधानमन्त्री र अध्यक्ष दुवैमा निरन्तरता पाउनुपर्ने भन्दै सहमतिको ६बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । 

यसअघि १९ असारमा ओलीनिकट नेताहरूले मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका थिए । ‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । त्यसैदिन बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए । अर्को दिन नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका थिए । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’ 

गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए । ‘मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ (केपी ओली)ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भनेका थिए, ‘विभाजनबाट के हुन्छ ? मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली÷प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।’

...............  ...............

खुमलटारको सट्टा बालुवाटारमा गरिएको भेलाको कुनै अर्थ छैन : प्रदीप ज्ञवाली

उहाँहरूले बैठक गर्नुभएको होइन । अध्यक्षको परामर्शमा महासचिवले स्थगित गरेको बैठक साथीहरू जुट्दैमा बसेको मानिदैन । बैठकका निश्चित विधि, प्रक्रिया र मान्यता हुन्छन् । तैपनि साथीहरू बस्नुभो । प्रचण्ड कमरेडले प्रधानमन्त्रीसँग परामर्श गरेर बैठकलाई सुचारु गर्न आवश्यक पहल गर्ने भनेको कुरा आफ्नो ठाउँमा ठीकै छ । 

वास्तवमा कुराकानी कहाँबाट बिग्रियो भने ३ साउनको सचिवालय बैठकमा महाधिवेशनबाट समस्या समाधान गर्ने एकखालको सहमति भयो र ४ गतेको सचिवालयमा प्रस्तावसहित आउने समझदारीसहित बैठक टुंगिएको थियो । तर, अचानक त्यो बैठक स्थगित भएपछि समस्या त्यहीँबाट सुरु भयो । 

स्थायी कमिटीमा लामो छलफलपछि सचिवालयबाट एउटा सहमतिको प्रस्ताव नभएसम्म बैठक निष्कर्षमा पुग्दैनथ्यो । तर, त्यो जुटाउने प्रयास नै यसबीचमा भएको देखिएन । १२ गते प्रधानमन्त्रीले छलफलका लागि बोलाए पनि बिसन्चो भएको कारण जनाएर प्रचण्ड जानुभएन । यद्यपि, उहाँ आन्तरिक छलफल र भेटघाटमा त सहभागी हुनुहुन्थ्यो नै । 

आज मंगलबार बिहान पनि ९ बजे दुई अध्यक्ष बस्ने र परामर्शका आधारमा बैठकलाई लैजाने भन्ने थियो । किनभने यथास्थितिमा समाधान निस्किँदैन भन्ने त सबैको साझा निष्कर्ष नै थियो । त्यसैले दुई अध्यक्षबीच साझा समझदारी हुनुपथ्र्यो, त्यसरी नगएका कारण समस्या भएको हो । नेकपाको आजको समस्या अल्पमत र बहुमतबाट समाधान हुनै सक्दैन । 

एकता गर्दा तीनवटा विशेष प्रबन्ध गरेका छौँ, जो कम्युनिस्ट पार्टीको आमअभ्यासमा कतै पनि छैन । पहिलो, दुई अध्यक्षको व्यवस्था ग¥यौँ । दोस्रो, हरेक निर्णय सहमतिका आधारमा गर्ने भन्यौँ र दुई अध्यक्षले प्रमाणित गरेपछि मात्र निर्णय मानिने भन्यौँ । तेस्रो, पार्टीको सर्वोच्च संस्था महाधिवेशनसमेत सहमतिमा गर्ने भन्यौँ । किन त्यस्तो भनियो ? यसका पछाडि त कारण छन् । एकताको विशिष्ट स्थितिबाट गुज्रिँदै थियौँ ।

दुई असामान आकारका पार्टीबीच एकता भइरहेको थियो । यदि हरेक ठाउँमा सहमतिको व्यवस्था नराखेको भए त्यतिवेला सानो आकारको पार्टीले आफूलाई सुरक्षित महसुस गर्दैनथ्यो र एकता नै टुंगिन्नथ्यो । बहुमतका आधारमा निर्णय गर्ने व्यवस्था भए अहिले पो फरक खालको समीकरण बन्यो, होइन भने त सचिवालयमा ६ एकातिर ३ एकातिर छ । स्थायी कमिटीमा २६ एकातिर १८ अर्कोतिर छ । निर्णय के हुन्छ भन्ने कुरा त पूर्वानुमान नै गर्न सकिन्छ नि । यी सबै कुरालाई हेरेर हामीले सहमतिका आधारमा गर्ने भन्यौँ । महाधिवेशनसम्म सहमतीय निर्णयबाहेक पार्टीले कुनै कल्पनै गर्दैन, त्योभन्दा बाहिर व्याख्या गर्नु भनेको विधानको भावनाविपरीत एकताका सहमति उल्लंघन गर्नु हो ।

साथीहरू जुट्नुभएको कुरा एउटा भयो । तर, त्यसरी जुट्नुभएका सबै साथीहरूको मत पनि एकैखाले थिएन । वामदेव कमरेडले एकताको प्रस्ताव राख्नुभएको छ । अरू कतिपय कमरेडले टाउका गनेर पदको बार्गेनिङ नगर्नुस् भन्नुभो । कतिपयले सीधै महाधिवेशनमा जाउँ, त्यसबाहेक समाधानको अर्को उपाय छैन भन्नुभो । त्यसलाई बिर्सिएर संख्या कति थियो भनेर अर्को अर्थ लगाउन मिल्छ र ? त्यसरी अर्थ लगाउँदा नै समस्या उत्पन्न हुने हो । उहाँहरूले निरन्तर भेला गर्दै आउनुभएको थियो, मंगलबार खुमलटारको सट्टा बालुवाटारमा गर्नुभएको हो ।

एक व्यक्ति : एक पद अहिले कार्यान्वयन गर्न सम्भव छैन । महाधिवेशनमा गएर एकता प्रक्रिया पूरा भयो, अब हामी सामान्य लेनिनवादी संगठनात्मक ढाँचामा फर्कियौँ भन्न सकिन्छ । त्यसअगाडि नै अहिलेका प्रबन्ध भत्काउनु भनेको वस्तुतः एकताको आधार नै भत्काउनु हो ।

...............  ...............

ओलीसँगको गोप्य भेटबारे नेपाल भने– म कुनै पनि पदमा मरिहत्ते गर्ने मान्छे होइन, प्रस्टसँग भनेको थिएँ 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विचार र विधिको पक्षमा स्पष्ट रूपले उभिएको बताएका छन् । ‘केपीजीले फोनबाट आग्रह गरेर, सम्पर्कव्यक्ति पठाएपछि भेटवार्ताका लागि बालुवाटार गएको हुँ, तर आशंका बढाउने गरी सूचना सम्प्रेषित होला भन्ने लागेर प्रचण्डजीको जानकारीमै त्यहाँ कुराकानी भएको होे,’ नेपालले भेटर्वार्ताबारे नयाँ पत्रिकालाई भने, ‘त्यहाँ मैले अध्यक्ष बन्छु भन्ने प्रसंग उठाएको होइन, सकभर २ जेठको सहमतिअनुसार प्रधानमन्त्री छोडिदिनुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाएर जाउँ, त्यस्तो होइन भने जसलाई बनाए पनि हुन्छ, तर अहिलेलाई अध्यक्ष छोड्नुस्, त्यसबाट पार्टी पनि राम्रोसँग चल्छ, तपाईं प्रधानमन्त्री भएर चलाउनुस्, राम्रो वातावरण बन्छ, मेरो सहयोग रहन्छ भनेको थिएँ ।’ 

शुक्रबारको भेटमा आफूले एक व्यक्ति : एक जम्मेवारीको नीति कार्यान्वयनका लागि विचार र विधिअनुसार पार्टी र सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नमानेको र आफू बालुवाटारबाट हिँडेकोसमेत नेपालले बताए । ‘उहाँले दुवै पद छोड्दिनँ भन्नुभो, राति अबेर भइसकेको थियो, त्यसपछि म हिँडेको हुँ, तर उहाँले अझै कुरा सकिएको छैन, फेरि अर्कोपटक भेटौँला भन्नुभएको थियो,’ नेपालले भने ।

नेपालले आफूले प्रधानमन्त्रीनिकट नेताहरूमार्फत ओलीले नेतैपिच्छे नेतृत्वलगायत विषयमा थरीथरीका प्रस्ताव ल्याउने गरेको भन्दै त्यस्तो कसलाई हो भन्ने ठोस जवाफ चाहेकोसमेत बताएको प्रस्ट्याए । ‘उहाँ (प्रधानमन्त्री)ले नेतैपिच्छे अनेकथरी प्रस्ताव गर्दै आउनुभएको छ, कसको बारेमा प्रस्ताव हो, म सुन्न चाहन्छु, यदि साँच्चै हो भने केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढौँ, म आफ्नो राय राख्छु भनेर ओलीजीका निकट साथीहरूलाई भनेको छु,’ नेपालले भने, ‘मलाई अहिले अध्यक्ष वा प्रधानमन्त्री हुनु छैन, पार्टीमा विचार, विधि, पद्धति र राम्रो संस्कृति चाहिएको छ । सरकार लोकप्रिय ढंगले चलोस् भन्ने मेरो चाहना छ । कुनै पनि पदमा मरिहत्ते गर्ने मान्छे म होइन, प्रस्टसँग भनेको थिएँ ।’