नेपाली सेनाका पूर्वकामु प्रधानसेनापति (पूर्वरथी) कुलबहादुर खड्काको मंगलबार निधन भएको छ । ०६६ साल वैशाखमा सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेसँगै कामु प्रधानसेनापति नियुक्त भएका खड्काले काम गर्न भने पाएनन् ।
राष्ट्रपति डा. रामवरण यादवले सरकारको निर्णय उल्ट्याइदिएपछि कटवाल प्रधानसेनापतिका रूपमा निरन्तर रहे भने खड्का भने रथीका रूपमा कार्यकालभरि उपेक्षित ररिरहे । क्यान्सरका कारण खड्काको निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।
पूर्वरथी खड्काको निधन मंगलबार अपराह्न ४ बजेतिर भएको जानकारी प्राप्त भएको नेपाली सेनाका पूर्वरथी एवं पूर्वप्रवक्ता नेपालभूषण चन्दले जानकारी दिए । पूर्वरथी खड्कालाई प्यान्क्रियाजमा क्यान्सर थियो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत रहेका वेला उनको निधन भएको हो । उनी सेनामा सात बेसिकका सैनिक अफिसर थिए । उनको मदर युनिट कालीप्रसाद गण हो । मंगलबारै खड्काको दाहसंस्कार भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
०६६ वैशाख २० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरी खड्कालाई कामु प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । तर, त्यही राति तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले कटवालको थमौती गरेका थिए । कटवालको कार्यकाल ०६६ भदौमा सकिँदै थियो ।
तत्कालीन सत्तारुढ एमाले तथा प्रतिपक्षी कांग्रेसले कटवालमाथि कारबाही गर्ने सरकारी निर्णय अवैधानिक भएको भन्दै रोक्न राष्ट्रपति यादवलाई चिठी दिएका थिए । त्यसपछि नागरिक सर्वाेच्चतामाथि राष्ट्रपतिबाट आक्रमण भएको तथा आफूलाई समाप्त पार्ने देशी–विदेशी षड्यन्त्र भएको भन्दै भन्दै प्रधानमन्त्री प्रचण्डले २१ वैशाखमा राजीनामा दिएका थिए । प्रचण्डको राजीनामापछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए । तत्कालीन माओवादीले नागरिक सर्वाेच्चताका लागि भन्दै आन्दोलनसमेत गरेको थियो । माधव नेपाल नेतृत्वको सरकारले ४ असारमा मात्रै तत्कालीन प्रधानसेनापति कटवाललाई हटाउने निर्णय स्थगित गरेको थियो । वैशाख २१ देखि असार ४ सम्म कटवालले प्रधानसेनापतिको हैसियतमा सेनाका कुनै पनि कागजपत्रमा हस्ताक्षर गरेनन् ।
सरकारले कामु सेनापति नियुक्त गरे पनि कार्यभार सम्हाल्न नपाएका खड्का त्यसपछि उपेक्षित अवस्थामा रहे । उनलाई कटवालले जिम्मेवारीविहीन बनाएर राखे भने अवकाशका समयमा उनको बिदाइ नै भएन । त्यसयता नेपाली सेनाले पूर्वरथीका रूपमा खड्कालाई औपचारिक कार्यक्रमहरूमा कहिल्यै निमन्त्रणा गरेको थिएन । राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा खड्कालाई कार्यक्रममा बोलाइए पनि उनी सहभागी भएनन् । खड्काको निधनबारे धेरै सहयात्री र सहकर्मीहरूले मंगलबार अबेरसम्म थाहा पाएका थिएनन् ।