मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १३ मंगलबार १०:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना र लकडाउनको प्रभावले पूर्ण रूपमा सञ्चालन हुन सकेनन् उद्योग

Read Time : > 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १०:०१:००

कोभिड–१९ को प्रभाव र लकडाउनका कारण चितवनका उद्योगहरू अझै पूर्ण सञ्चालन हुन सकेका छैनन् । देशकै ठूलो मानिएको औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् । 

औद्योगिक क्षेत्रभित्र रहेका १ सय १२ उद्योगमध्ये ९० प्रतिशत सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालन नभएको उद्योग संघ मकवानपुरले जनाएको छ । सरकारले लकडाउन खुलेको घोषणा गर्नुअघिदेखि औद्योगिक क्षेत्रका उद्योग सञ्चालनमा आए पनि अझै पूर्ण क्षमतामा उत्पादन नभएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए । उनले भने, ‘चार सिफ्ट सञ्चालन हुने उद्योग बजारमा माग कम हुँदा हाल दुई सिफ्ट मात्र सञ्चालन भइरहेको छ ।’ अधिकांश उद्योगले ४० देखि ५० प्रतिशत मात्र उत्पादन गरिरहेको उनको भनाइ थियो । कोरोना प्रभावअघि र हाल बजारमा माग उस्तै भएका अतिआवश्यक सामग्री र खाद्यान्न उत्पादन गर्ने उद्योगले पूर्ण क्षमतामा सञ्चालन गरे पनि त्यसबाहेकका अन्यले दुई सिफ्ट मात्र सञ्चालन गरिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

औद्योगिक उत्पादन पूर्ण रूपमा हुनका लागि सरकारका परियोजना, पूर्वाधार निर्माणका कामहरू, ठूला आयोजनाहरूको निर्माण पूर्ण गतिमा सुरु हुनुपर्ने उनको भनाइ छ । कोरोनाको प्रभावका कारण फर्निसिङ, कार्पेट, निर्माण सामग्री उत्पादन, पाइप, रङ उद्योगहरू बढी प्रभावित भएको उद्योग संघले आकलन गरेको छ । मैदा, तेल, दाना, चामलको मागमा कमी नआएका कारण यी उद्योगहरू भने पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् ।

बजारमा माग न्यून भएको र सामग्री मौज्दात रहेका औद्योगिक क्षेत्रभित्रकै करिब एक दर्जनभन्दा बढी उद्योगले उत्पादन नै बन्द गरेका छन् । लकडाउन खुला गरेपछि बजारमा चहलपहल बढे पनि औद्योगिक उत्पादनको माग बढ्न अझै ६ महिनाभन्दा बढी लाग्ने अध्यक्ष पोखरेलको दाबी छ । बजार र आवश्यकतासँग जोडिएका उद्योगहरू कोभिड–१९ का कारण धराशायी बनेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए । कामदार, कच्चा पदार्थको अभाव र त्यससँगै मागको कमीका कारण उद्योगहरूले उत्पादन क्षमता बढाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

चैत मसान्तसम्म दैनिक ३० करोड क्षति
नेपालमा कोभिड–१९ का कारण भएको लकडाउनको सुरुवात अवस्था चैत १२ देखि मसान्तसम्म हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरू पूर्ण बन्द भएका थिए । त्यसवेला सबै उद्योग पूर्ण बन्द हुँदा दैनिक करिब ३० करोड क्षति भएको उद्योग संघ मकवानपुर अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार औद्योगिक क्षेत्रभित्रका उद्योगले दैनिक मुनाफा गर्ने करिब ३० करोड रुपैयाँ क्षति भएको हो । औद्योगिक क्षेत्रभित्रका १ सय १२ मध्ये चैत मसान्तमा २ वटा उद्योग एक सिफ्ट मात्र चलिरहेका थिए । बाँकी सबै उद्योग बन्द हुँदा ती उद्योगले दैनिक मुनाफा गर्ने करिब ३० करोड रकम नोक्सान व्यहोर्नुपरेको पोखरेलको भनाइ छ ।  

पछिल्लो समय स्वास्थ्य सुरक्षा अपनाएर क्रमशः उद्योग खुल्न थालेपछि क्षतिको दर घट्दो छ । हाल ९० प्रतिशत उद्योग सञ्चालन भइरहेका छन् । यी उद्योगहरू सञ्चालन हुन थालेसँगै क्षतिको दरमा कमी आएको र अझै पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा घाटा व्यहोर्न बाध्य रहेको अध्यक्ष पोखरेलको दाबी छ ।