मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार २०:२५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राखेप सदस्यसचिवमा सिलवाल पुनः नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार २०:२५:००

रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा पुनः नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि सचिव रामप्रशाद थपलियाको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले राखेपको नयाँ सदस्यसचिवका लागि आवेदन दिएका २७ जनामध्येबाट सिलवालसहित तीनजनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये अन्य दुई जनामा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा र भलिबलकी पूर्वकप्तान अन्जु श्रेष्ठ थिए ।

वि.स. २०१५ मा स्थापित राखेपको इतिहासमा खुल्ला प्रतिस्पर्धाबाट सदस्यसचिव नियुक्त गरिएको यो नै पहिलो पटक हो । यसअघि राजाको प्रत्यक्ष निर्देशन र त्यसपछि सिधै राजनीतिक नियुक्ति हुँदै आइरहेको थियो । 

गत १८ असारबाट खेलकुद विकास ऐन २०७७ लागु भएपछि पहिलो पटक खुल्ला आवेदन आह्वान गर्दै नेपाली खेलकुदको कार्यकारी नियुक्ति गरिएको हो । 

सिलवाल यसअघि पनि राखेपका सदस्यसचिव थिए । उनी गत वर्ष २३ असारमा पहिलो पटक राखेपको सदस्यसचिव नियुक्त भएका थिए । त्यसको वर्ष दिन पनि नवित्दै नयाँ खेलकुद ऐन लागू भएपछि उनी पदबाट हटेका थिए । उनी प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन् ।

यस्तै, मन्त्रिपरिषद बैठकले शिव कोइरालालाई उपाध्यक्षमा नियुक्त गरेको छ । कोइराला नेकपाको खेलकुद महासंघका उपसंयोजक हुन् ।