१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई भारतीय प्रशासनको पत्र : कालापानीदेखि लिम्पियाधुरासम्म भारतको भूभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार १६:५४:००

भारतको केन्द्र सरकारले  कोभिड– १९ को महामारी सकिएपछि कालापानीलगायतका विषयमा नेपालसँग वार्ता गर्ने बताइरहेका वेला सीमावर्ती धार्चुला प्रशासनले भने नेपाली प्रशासनलाई चिठी पठाएर कालापानीदेखि लिम्पियाधुरासम्मकाे सबै जमिन दाबी गरेको छ ।

उत्तराखण्ड राज्यअन्तर्गतको सीमावर्ती धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई कालापानीदेखि लिम्पियाधुरासम्मको जमिन भारतको भएको दाबी गर्दै त्यहाँ नेपालीहरूको सम्भावित घुसपैठबारे सूचना दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मौखिक जवाफ पठाएर ती क्षेत्रमा नेपालबाट कोही पनि नगएको स्पष्ट पारेको छ । 

असार ३० गते धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले अवैध रूपमा सीमा पार गरेर भारत देशमा प्रवेश गरेकाहरूको सम्बन्धका विषयमा लेखेको चिठीमा कालापानीदेखि नेपालको नयाँ नक्सामा उल्लेखित सबै भूभाग दाबी गरिएको छ ।

उनले लेखेका छन्– विशेष सूत्रहरूबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूहले भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रूपमा लुकिछिपी पार गर्न चाहेको छ । जसबाट मिडियाको पनि ध्यानाकर्षण हुन सक्ने र दुवै देशका प्रशासनलाई अप्ठ्यारो पनि पर्न सक्नेछ । अतः अनुरोध छ कि यसप्रकारका कुनै सूचना तपाईंलाई प्राप्त भएमा सूचना तत्काल उपलब्ध गराउने कष्ट गरिदिनुहोला ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले कालापानी लिम्पियाधुरातिर कोही पनि नेपाली नगएको बताए । उनले नयाँ पत्रिकासँग भने– नेपालतिर सडक बन्दै गरेको, हेलिकोप्टरले सामान ढुवानी गर्दै गरेको, घाँटी बगरमा सेनाको क्याम्प देखेर भारतीय प्रशासनले शंका गरेको हुन सक्छ । त्यतातिर नेपालीहरू कोही पनि गएका छैनन् । 

नेपालले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग समेटेर गत ५ जेठमा नयाँ नक्सा जारी गरेको छ । भारतले भने नेपालको कृत्रिम भूभाग विस्तार अमान्य भएको बताउँदै आएको छ ।