१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १२ सोमबार १६:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री ढकाल भन्छन्- सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतियाबिन्दु लागेको छ (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १२ सोमबार १६:२३:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतियाबिन्दु लागेको टिप्पणी गरेका छन् । 

सोमबार वीर अस्पतालको १३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरूले देखेको, तर नेपालीहरूले नदेख्नुमा नेपाली संस्कारमा मोतियाबिन्दु लागेको हुन सक्ने बताए ।

उनले  शक्तिसम्पन्न राष्ट्रहरूले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको, तर नेपालीहरूले नै नदेखेको बताएका हुन् । उनले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतियाबिन्दु लागेको हुन सक्ने अनुभूति भएको बताएका हुन् ।

उनले भने, ‘शक्तिसम्पन्न राष्ट्रहरूको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्रप्रतिको जवाफदेहिता र सीमित साधन–स्रोतबाट हाम्रोजस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरूले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाबिन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोभिड– १९ बाट विश्वभर मृत्यु हुनेहरूको दर बढिरहेको, तर नेपालले शून्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियामै राम्रो रहेको मन्त्री ढकालले बताए । उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको, तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा नियन्त्रणभित्रै रहेको बताए ।  

सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनैपर्नेसमेत मन्त्री ढकालले बताए ।  वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मुटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्ने गरी सेवालाई प्रभावकारी बनाउनसमेत उनले निर्देशन दिए ।  राज्यको तर्फबाट कमी–कमजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउनसमेत वीर अस्पताललाई आग्रह गरे । 

अस्पतालभित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेकोसमेत मन्त्री ढकालले बताए । जनताले सरकारलाई हेर्ने ऐनाको रूपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।

भिडियो