मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिन भारी वर्षा हुने भएकाले उच्चसतर्कता अपनाउनू : मौसम विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार १३:२१:००

जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्षा भएर नदीहरूको जलसतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । 

गत हप्ताभन्दा केही कमजोर वर्षा भए पनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरूमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो । 

गण्डकी प्रदेशका कालिगण्डकी, सेतीगण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले बताए । 

आगामी तीन दिन अर्थात् १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना रहेको छ । 

प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे । 

विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ भएर बग्ने साना नदीहरूमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ । 

यस्तै म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ । 

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने श्रेष्ठले बताए ।

प्रदेश नम्बर १, २ स्थान, प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले बताए ।