१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १२ सोमबार ११:०१:००
Read Time : > 1 मिनेट
समाचार

उखु किसानको पीडा : लकडाउनले उखु नबिकेपछि लाखौँको घाटा 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १२ सोमबार ११:०१:००

झापा अर्जुनधारा– ५ का किसान अमरदीप भेटवालको १० बिघा खेतमा लगाइएको उखु कामै नलाग्ने भयो । कारण– लकडाउन । समयमा उखु बेच्न नपाउँदा उनले लगाएको उखु अहिले आफैँलाई समस्या परेको छ । फाँडौँ त पैसा लाग्ने, नफाँडौँ त खेती ओगट्ने । आम्दानीको मुख्य स्रोत उखु उत्पादन भए पनि निकासी गर्न नसक्दा खेतमै बिग्रिएको हो । 

‘भात खानलाई एक बिघा खेत राखेर अरू सबैमा उखु लगाएँ । खर्च पनि २० लाखभन्दा धेरै भयो,’ उनी भन्छन्, ‘तर, एक रुपैयाँको बेच्न पाइँदैन । अब त काम नै नलाग्ने भयो ।’ विगतका वर्षमा राम्रै आम्दानी भएकाले उनले यसपटक पनि उखु लगाएका थिए । ‘पहिला त १० बिघामा सबै खर्च कटाएर २५ लाखसम्म नाफा हुन्थ्यो । त्यही सम्झेर भएको सबै लगानी त्यता गरियो’, उनले भने, ‘योपटक त उठ्नै नसक्ने गरी डुबियो ।’

अर्जुनधारा–४ का युवा विक्रम डाँगीले देशमै केही गरौँ भनेर तीन बिघा जग्गा ठेक्कामा लिएर उखु लगाए । जसबापत उनी वर्षमा बिघाको ६० हजार भाडा तिर्छन् । यसपटक भने समयमा बेच्न नपाउँदा उनको उखु खेतमै बिग्रियो ।

उखु फाँडेर अर्को बाली लगाउन पनि नसक्ने अवस्थामा छन्, उनी । ‘मजदुरलाई पहिलाकै पैसा दिएको छैन । उनीहरू कसरी आउन् त ?’ उनी भन्छन्, ‘अब त कृषि गर्न पनि सोच्नैपर्ने भएको छ । फाँड्नसम्म लाखौँ ऋण लाग्ने भएपछि के गर्ने ? बैंकमा लाखौँ ऋण लिएर खेती गरियो अब कसरी ऋण तिर्ने ?’ 

झापामा उत्पादित उखु जुस बनाउनका लागि मात्र प्रयोग हुन्छ । यसका लागि कृषकले वैशाखदेखि असारसम्म खेतबाट निकालेर बजारसम्म पठाउने गरेका थिए । अघिल्लो वर्षसम्म घरमै व्यापारी आउने भएको भए पनि यसपटक भने किन्न कोही नआएको भेटवालले बताए । 

झापाबाट उत्पादन भएको उखु जुस बनाउनका लागि काठमाडौंसम्म पुग्ने गरेको थियो । तर, यसपटक भने लकडाउनका कारण खेतमै बिग्रिएको कृषक योगराज गिरी बताउँछन् । अगुवा कृषक गिरीका अनुसार झापामा तीन सयदेखि चार सय बिघामा उखुखेती हुँदै आएको छ । ‘लकडाउनले उखु खपत भएन । बारीमै कुहिएर, सडिएर नष्ट भयो,’ उनी भन्छन्, ‘हामीले टुलुटुलु हेर्नबाहेक केही गर्न सकेनौँ । लाखौँ डुब्यो । बैंकको ऋणले हामी किसान उठ्नै नसक्ने अवस्थामा पुग्यौँ । राज्यले सहयोग गरोस् ।’ 

थोरै क्षेत्रफलमा उखु लगाएका किसानले भने फाँडेर धान खेती लगाएका छन् । तर, धेरै क्षेत्रफलमा लगाएका कृषक भने फाँड्न पनि लाखौँ लाग्ने भएकाले अन्योलमा परेका छन् । ‘मैले ४० बिघामा लगाएको छु । थोरै भए पो फाँडेर धान लगाउनु । तर, मेरो त फाँड्नै ५० लाख जति लाग्छ,’ कृषक गिरी भन्छन्, ‘अब मंसिरसम्म पर्खिएर आगो लगाउनुको विकल्प छैन ।’ 

कृषि ज्ञान केन्द्र झापाले उखु खेतीका लागि उत्पादन हुँदासम्म प्रतिबिघा तीन लाख ९३५ लगानी हुने अनुमान गरेको छ ।  तर, उखुमा ठूलो क्षति नभएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंह बताउँछन् । ‘हामीले पास मिलाएर भए पनि कृषि उत्पादनलाई व्यवस्थित गरेका थियौँ । तर, उखुमा त त्यस्तो समस्या नहुनुपर्ने हो,’ उनले भने । उनका अनुसार जिल्लाको मेचीनगर र अर्जुनधारामा सबैभन्दा धेरै उखु खेती हुन्छ ।