१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १० शनिबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १० शनिबार २१:२४:००

काष्ठमण्डप पुनर्निर्माणको ७० प्रतिशत काम सकिएको छ । यही क्रममा शनिबार मुख्य दलिनको पूजा गरिएको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वको काष्ठमण्डपको धुरीमा लगाइने मुख्य दलिन अर्थात् धलिंको महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रदेश सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यसहितले जजमान बसेर पूजा गराएका हुन् । 

धलिं काष्ठमण्डपको संरचना निर्माणको महत्वपूर्ण अंग भएको उपभोक्ता समितिले जनाएको छ । श्रीखण्ड तरुमूल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा बज्रयानी परम्पराअनुसार पूजा गरिएको समितिका अध्यक्ष तथा प्रदेश सांसद शाक्यले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी वैशाख ०७५ मा सुरु भएको काष्ठमण्डपको हाल ७० प्रतिशत काम पूरा भइसकेको छ । 

मेयर शाक्यले निर्धारित समयमै पुनर्निर्माण पूरा गर्ने दाबी गरे । उनले अबको ध्यान सम्पदा पुनर्निर्माणमा केन्द्रित गर्दै निर्माण–पुनर्निर्माण तीव्र गतिका साथ अघि बढाउने बताए । उनले यो वर्ष मात्रै सम्पदा पुनर्निर्माणका ९० वटाभन्दा बढी योजना अघि बढाइएको बताए ।

उपभोक्ता समितिका अनुसार काष्ठमाण्डप महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको छ । ‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ मेयर शाक्यले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ । केही सबलीकरण पनि गरेका छौँ ।’ 

काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि उपभोक्ता समितिलाई पहिलो चरणमा ५० लाख तथा दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड गरी १० करोड ५० लाख रुपैयाँ दिइसकेको छ ।