मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण १० शनिबार २०:३५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

नारायण नगरपालिकाको अनियमितता : एउटै कम्पनीसँग १७ विद्यालयलाई आवश्यक पर्ने सेनेटरी प्याड खरिद 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १० शनिबार २०:३५:००

नारायण नगरपालिका नगर शिक्षा शाखाले नगरभित्रका १७ विद्यालयका लागि आवश्यक पर्ने सेनेटरी प्याड एउटै कम्पनीबाट खरिद गरी पठाउन लागेको खुलेको छ । खरिद प्रक्रियासम्बन्धी कुनै मापदण्ड नै नअपनाई र विद्यालयको क्षेत्राधिकारमा पर्ने काम शिक्षा शाखाले आफूखुसी गरी पठाउन लागेपछि शिक्षकहरूले विरोध गरेका छन् । शाखाले २१ लाख ७९ हजारबराबरको सेनेटरी प्याड एउटै कम्पनीसँग खरिद गरेर पठाउन लागेको हो ।

९ साउनमा नारायण नगरपालिकाभित्रका सबै विद्यालयका लागि भनेर सेनेटरी प्याड बोकेको ठूलो मालबाहक गाडी त्रिभुवन माविमा आएपछि घटना सार्वजनिक भएको हो । गाडीमा नगरभरिका विद्यालयका लागि आवश्यक सेनेटरी प्याड र बिलसँगै थियो ।  विद्यालयका प्रधानाध्यापहरूले सामान र बिल थाहै नदिएर आएपछि अचम्ममा परेको बताएका छन् । कतिपयले सामान नलिने घोषणा नै गरे । केही शिक्षकले भने कमिसनको चक्करले नारायण नगरपालिका अदृश्य रूपमा ठेकेदार बनेको आरोपसमेत लगाएका छन् । लकडाउनको बहाना बनाएर खरिद प्रक्रियाविपरीत नगरपालिकाले एउटै कम्पनीबाट सामान खरिद गरेको छ । 

पहिला कोटेसन आह्वान गरेर नै सेनेटरी प्याड खरिद गर्ने तयारी भएको एक शिक्षकले बताए । तर कार्यालय प्रमुखले समयमै सामान ल्याउन सक्ने भए काम गर्नुहोस् नत्र हुँदैन भनेपछि रणनीति परिवर्तन भएको उनको भनाइ छ । नारायण नगर शिक्षा शाखाले नगरभित्रका प्रअहरूलाई बोलाएर रकम फ्रिज हुनुभन्दा तपाईंहरूको खातामा रकम पठाइदिन्छौँ सामान खरिद गरेपछि वा आएपछि रकम बिलअनुसार चेक काट्नुहोला भन्ने सहमति भएको ती शिक्षकले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिको बैठक राखेर मात्रै भुक्तानी प्रक्रियामा जाने त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारका प्रधानाध्यापक निरक तारामीले बताए । सामान ल्याउने विषयमा छलफल भए पनि ‘विद्यालयले कोटेसन तथा सूचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो,’ बिल र सामान सँगसँगै आएपछि छलफल गर्नुपर्ने विषय बनेको तारामीको भनाइ छ ।
नियमअनुसार विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने हो । नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले यसमा नगरपालिकाको कुनै हात नभएको बताए । उनले भने, ‘शिक्षा शाखाका साथीहरूले सहजीकरण गरिदिएको हुन सक्छ ।’ तर खरिदबारे कुनै जानकारी नभएको नेपालीको भनाइ छ । नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन नमिल्ने र नगरपालिकाको नाममा कसैले बदमासी गरेको भए छानबिन हुने उनले बताए । उनले केही जनप्रतिनिधिहरूले कर्मचारीमाथि आरोप लगाएको पनि हुन सक्ने बताए । 

सहजीकरण मात्रै गरिदिएका हौँ : शिक्षा शाखा
नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले लकडाउनले समस्या भएपछि प्रअहरूलाई नगरपालिकामा बोलाएर स्वास्थ्य सुरक्षाका लागि आएको बजेट फ्रिज गर्न नहुने भन्दै विभिन्न विद्यालयको खातामा रकम जम्मा गरिदिएको बताए । यस्तै सामान खरिदमा एकरूपता होस् र गुणस्तरीयता कायम होस् भनेर एउटै कम्पनीबाट खरिद गर्न सहजीकरण गरिदिएको उनले बताए । उनले भने, ‘राम्रो होला भनेर काम गरेको हो । अहिले व्यक्तिगत रूपमा बदनाम गराउने काम भयो । नियत गलत होइन, बुझाइ गलत भयो ।’ सामान खरिद गर्ने पूरै अधिकार विद्यालयको भएको र अहिले छानिएको सप्लायर्सबाट सामान लिने नलिने जिम्मा पनि स्वयं विद्यालयकै भएको उनले बताए । 

रारा मेडिसिन सप्लायर्स सुर्खेतबाट सेनेटरी प्याड ल्याइएको खुलेको छ । खरिदका लागि भन्दै नगरपालिकाले सीधै विद्यालयको खातामा २ देखि ६ लाखसम्म रकम जम्मा गरिदिएको छ । 
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले घटनाबारे छानबिन गर्ने बताए । नारायण नगर शिक्षा शाखाले भने आपतकालीन रूपमा ११ साउनमा प्रअहरूलाई बैठकमा बोलाएको एक शिक्षकले बताए ।