मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै तत्कालिन समयमा निस्किएको दबाब र्याली ।
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण १० शनिबार १९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला पन्त हत्याको दुई वर्ष पूरा : अपराधी अझै फेला परेन 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण १० शनिबार १९:०१:००

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । अघिल्लो वर्ष १० साउन ०७५ मा  निर्मलाको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको दुई वर्ष पूरा भए पनि अझैसम्म अपराधी फेला परेको छैन ।

होमवर्क गर्छु भन्दै घरबाट साथीको घर हिँडेकी निर्मलाको बलात्कारपछि हत्या गरेर घर जाने बाटो उखुबारीमा उनको शव फ्याँकिएको अवस्थामा भोलिपल्ट फेलापरेको थियो । उनी घरनजिकै सरस्वती माध्यमिक विद्यालय कक्षा नाैमा अध्ययनरत थिइन् । निर्मलाको वास्तविक हत्यारा पत्ता नलगाएपछि हालसम्मका भएका सबै अनुसन्धानको उपलब्धि शून्य देखिएको छ ।  निर्मला हत्याकाण्ड छानबिनका लागि सरकारले सहसचिव हरि मैनाली नेतृत्वका उच्चस्तरीय छानबिन समिति बनायो, उक्त समितिले समेत हत्याराको सुइँकोसमेत पत्ता लगाएन । राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाको छानबिन गरेर प्रतिवेदन बनाएको छ । आयोगकी आयुक्त मोहना अन्सारी स्वयं आएर घटनाको अनुसन्धान गरेकी थिइन् । 

घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी विभागको सिफारिसमा गृह मन्त्रालयले आठ प्रहरी निलम्बन गऱ्याे । प्रहरीले घटनाको आन्तरिक छानबिनका लागि एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्ती नै गऱ्याे ।

निर्मला हत्याकाण्ड छानबिनका लागि कञ्चनपुर प्रहरीले दुई वर्षमा सात सयभन्दा बढी व्यक्तिमाथि अनुसन्धान गरेको छ । कतिपयलाई पक्राउ गरेर हिरासतमै राखेर अनुसन्धान गऱ्याे, कतिपयलाई सोधपुछ गरेर कागज बनाउँदै छाड्यो, कतिपयलाई सामान्य सोधपुछ गरेपछि छाड्यो । ७० भन्दा बढी व्यक्तिको रगतको नमुना लिएर (डिएनए) परीक्षणका लागि लगे पनि उपलब्धि हात पार्न सकेको छैन । शव फेलापरेकै दिनदेखि आन्दोलन चर्किएकाले मुख्य अपराधी उम्किएको प्रहरीको भनाइ छ ।

निर्मलाको वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै अधिकारकर्मी हेलन श्रेष्ठ नेतृत्वमा दबाबमूलक संघर्ष समिति र अर्की अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महिनौँ आन्दोलन गरेका थिए । स्थानीय, प्रदेश र केन्द्रसम्म पनि आन्दोलन गर्दा केही प्रगति भएन । 

अनुसन्धान आन्दोलनबाट नभई अध्ययन, तथ्य र विधिबाट हुने विज्ञहरूको भनाइ छ । विज्ञहरूले सुरुवातदेखि नै आन्दोलन गर्दासमेत अनुसन्धान प्रभावित भएको बताएका छन् । आन्दोलनका कारण गत वर्ष कञ्चनपुरको जनजीवन मात्र प्रभावित नभई आर्थिक कारोबारमा समेत प्रभाव परेको थियो । मृत फेलापरेकै दिनदेखि अनावश्यक आन्दोलन गर्ने, मूल मुद्दा छाडेर सहायक मुद्दाहरू दायर भएपछि मुख्य अपराधी पत्ता लाग्न नसकेको कतिपयको बुझाइ छ । महिला अधिकारकर्मी माया नेगीले धेरै छानबिन अनुसन्धान टोली गठन भए पनि मुख्य अपराधी पत्ता  लाग्न नसक्नु  दुःखद भएको बताइन् ।