Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ श्रावण १० शनिबार ०६:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिक उड्डयन प्राधिकरणले ९ अर्ब र वायुसेवा निगमले ३ अर्बले घटाए बजेट

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ श्रावण १० शनिबार ०६:४६:००

सरकारका दुई ठूला संस्था नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि भारी मात्रामा बजेटको लक्ष्य घटाएका छन् । निगमले गत वर्षभन्दा झन्डै ३ अर्ब बजेटको आकार घटाएको छ । प्राधिकरणले झन्डै १० अर्बको हाराहारी घटाएको छ । 

निगमको गत आर्थिक वर्ष २४ अर्ब १५ करोड रुपैयाँको बजेट थियो । चालू आर्थिक वर्षका लागि २१ अर्ब १६ करोड रुपैयाँको बजेट बनाइएको छ । त्यसैगरी, प्राधिकरणको बजेट ४६ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षका लागि ३७ अर्ब रुपैयाँको लक्ष्य बनाएको छ । कोभिड–१९ का कारण साढे चार महिनाभन्दा बढी समय उडानमा लागेको प्रतिबन्धका कारण दुवै निकायले भारी आम्दानी गुमाएकाले आगामी आर्थिक वर्षको बजेटकै लक्ष्य घटाएका हुन् । 

निगम सञ्चालक समितिले बजेट पारित गरिसकेको छ । प्राधिकरणको बजेट उपसमितिले अन्तिम रूप दिएर सञ्चालक समितिमा पेस गरेको छ । दुवै संस्थालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ योजना र कार्यक्रमभन्दा पनि पुराना कार्यक्रम सम्पन्न गर्ने योजनासहितको बजेट तयार पार्न निर्देशन दिएको थियो । 

निगमको बजेट ३ अर्ब घटाइयो 
निगम व्यवस्थापनले पनि आगामी आर्थिक वर्षको बजेट गत वर्षभन्दा २ अर्ब ९८ करोड घटाएको छ । केही दिनअगाडि सञ्चालक समितिबाट पारित बजेटअनुसार कुनै पनि नयाँ योजना राखिएको छैन ।

नयाँ जहाज खरिदका लागि बजेटमा राखिएको छैन । सञ्चालन खर्च घटाउने अभियानअन्तर्गत विदेशी पाइलट र करारका सामान्य प्रशासनतर्फका कर्मचारी हटाइने भएको छ । गत साता मात्रै निगम सञ्चालक समितिले १ सय ४५ जना प्रशासनतर्फका कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको थियो । विदेशी पाइलटको पनि तलब घटाउनुका साथै विस्थापित गर्ने योजना रहेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।   

निगमले जहाज उडानबाट १६ अर्ब आम्दानी गर्ने र ग्राउन्ड ह्यान्डलिङबाट ५ अर्ब आम्दानी गर्नेसमेत लक्ष्य राखेको छ । गत वर्ष १ अर्ब ७५ करोड घाटामा गएको निगमलाई सञ्चालन खर्च घटाएर नाफामा लैजाने लक्ष्यसमेत निगमले राखेको छ ।

प्राधिकरणले नयाँ आयोजनामा बजेट नदिने
प्राधिकरणले चालू खर्चलाई कटौती र नयाँ कार्यक्रमविना बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष ४६ अर्बको बजेट तयार गरेको प्राधिकरणले यसपटक मुस्किलले ३७ अर्बको लक्ष्य राखेको प्राधिकरणका अर्थ विभाग प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

‘नयाँ आयोजनालाई बजेट रोकिएको र चालू खर्चअन्तर्गत अत्यावश्यक मात्रै खरिदको सूचीमा राखिएको छ,’ दाहालले भने । ठूला आयोजना भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका कार्यक्रम भने नरोकिएको दाहालले जानकारी दिए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भने खासै बजेट विनियोजन गरिएको छैन । तारबार र एक्सेस रोड (पहुँच मार्ग)का लागि मात्रै केही रकम विनियोजन गरिएको दाहालको भनाइ छ । 

प्राधिकरणले भैरहवाका लागि ५ अर्ब, पोखराका लागि ५ अर्ब तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४ अर्ब हाराहारी बजेट विनियोजन गरेको छ । निजगढका लागि १ अर्ब ५० करोड रुपैयाँ मात्रै विनियोजन गर्न लागिएको छ । यता आन्तरिकतर्फका हब विमानस्थलहरूको मर्मत तथा सुधारका लागि पनि बजेट छुट्याइएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालन गर्नेसमेत योजनामा राखिएको छ । 

नयाँ विमानस्थल निर्माणमा भने बजेट विनियोजन गरिएको छैन । प्राधिकरणले जम्मा बजेटको १० प्रतिशत चालू खर्च र ९० प्रतिशत पुँजीगत खर्चका लागि बजेट विनियोजन गर्न लागेको अर्थ विभाग प्रमुख दाहालले जानकारी दिए ।