मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले दुई साताअघि सञ्चालनमा ल्याएको कैलालीको अत्तरियास्थित सैपाल ग्यास उद्योग । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२०७७ श्रावण १० शनिबार ०५:२३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्र ग्यास उद्योगमा लगानी थप्दै, आयल निगमलाई भने उद्योग नखोल्न दबाब

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७७ श्रावण १० शनिबार ०५:२३:००

- निजी क्षेत्रको सिन्डिकेट तोड्न निगमद्वारा आफ्नै ब्रान्डमा ग्यास उत्पादनका लागि उद्योग स्थापना गर्ने तयारी  

- विद्युतले ग्यास प्रतिस्थापन गर्ने वेला निगमले उद्योग खोल्न नहुने भन्दै निजी क्षेत्रका उद्योगी भने रोक्ने लबिङमा 

आफूहरूले नाफामूलक व्यापार गरिरहेका ग्यास उद्योगीले नेपाल आयल निगमलाई ग्यास उद्योग र भण्डारणगृह निर्माणमा लगानी नगर्न दबाब दिएका छन् । विद्युत्ले ग्यासलाई प्रतिस्थापन गर्ने सरकारी नीति रहेको र सोविपरीत सरकारकै पूर्ण स्वामित्वमा सञ्चालित आयल निगमले ग्यासमा लगानी गर्न नहुने उद्योगीको तर्क छ । तर, उनीहरू नै भने ग्यास उद्योगमा धमाधम लगानी बढाइरहेका छन् ।  

ग्यास उद्योग क्षेत्रमा ठूलो लगानी गरेका स्थापित व्यवसायीले नै साना उद्योग र नयाँ उद्योग किनेर आफ्नो प्रभुत्व जमाउन खोजिरहेका छन् । यता निगमले भने व्यवसायीलाई ढुवानी गर्न सहज हुने गरी भण्डारणगृह बनाउने र निजी क्षेत्रको सिन्डिकेट तोड्न आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर ल्याउने योजना बनाएको छ । यो कार्यान्वयन गर्न लाग्दा उद्योगी–व्यवसायीले विरोध गरेका हुन् ।  

आयल निगमले झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ५–५ हजार टन क्षमताको भण्डारणगृह निर्माणको पक्रिया अघि बढाएको छ । निगमका ग्यास विभाग प्रमुख दीपक बरालका अनुसार दुवै ठाउँमा भण्डारणगृह निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर)का लागि टेन्डर खुलेको छ । धनुषाको महेन्द्रनगरमा आयल निगमले आफ्नै ब्रान्डमा सिलिन्डर ल्याउने गरी उद्योग निर्माण योजनालाई अघि बढाएको छ ।

सरकारले यो क्षेत्रमा लगानी गरी कारोबारमा हस्तक्षेप गर्न लागेको दाबीसहित ग्यास उद्योगीले विभिन्न तर्क गर्दै आएका हुन् । बिजुलीको खपत बढाउनुपर्ने वेलामा सरकारले ग्यासमा लगानी गर्न नहुने तर्क उनीहरूको छ । ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले साना उद्योग सञ्चालन गर्न कठिनाइ भएर बिक्रीमा राखिएपछि ठूला उद्योगले किनेको जानकारी दिए । ‘ग्यास उद्योगमा नाफा छ, त्यसैले साना उद्योगीले चलाउनै नसक्ने भएपछि ठूला उद्योगीले खरिद गरेका हुन्,’ उनले भने, ‘एउटासँग धेरै उद्योग हुँदा सञ्चालन खर्च पनि घट्छ, नाफा अझ बढ्छ ।’  

उनले बिजुलीको उत्पादन बढाएर खपत बढाउने सरकारी नीतिलाई साथ दिन पनि आयल निगमले ग्यासमा लगानी गर्न नहुने तर्क गरे । ‘सरकारको एउटा मन्त्रीले बिजुली उत्पादन बढी गरेका छौँ, खपत नबढाए खेर जाने स्थिति आयो भन्दै इन्डक्सन चुलो बाल्न आग्रह गरेको सुनिन्छ,’ उनले भने, ‘अर्का मन्त्रीले ग्यास उद्योग र भण्डारणगृह निर्माण गर्ने भनेको सुनिन्छ । यस्तो हुनुभएन ।’ बिजुलीको खपत बढाएर ग्यास घटाउनुपर्ने दाबी गर्दै उनले आयल निगमलाई यस क्षेत्रमा लगानी गर्नु आवश्यक नरहेको बताए । 

निगमले भने व्यवसायीका विभिन्न अड्चनका कारण उद्योगमा लगानी गर्न आवश्यक देखेको हो । १ वर्षअघि कमिसन वृद्धि गर्नका लागि उनीहरूले व्यवसाय गर्नै नसक्ने स्थितिमा पुगेको भन्दै ग्यास लिन भारत नजानेदेखि बजारमा ग्यास नपठाउनेसम्मका कार्यक्रम घोषणा गरेका थिए । त्यसपछि सरकारले बाध्य भएर कमिसन वृद्धि गरेको थियो । संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे साना उद्योग किनेर ठूला उद्योगीले लगानी विस्तार गरिरहेको बताउँछन् । ‘अहिले करोबार गरिरहेको उद्योगले नै किनिदियो भने सहज हुन्छ भन्ने हिसाबले खरिद–बिक्री भइरहेको हो,’ उनले भने, ‘ठूलो नाफा देखेर कसैले लगानी गरेको होइन ।’

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल उपभोक्ताको मागलाई ध्यानमा राखेर सरकारी ब्रान्डमा ग्यास सिलिन्डर आउने बताउँछन् । ‘हामी ग्यास सहज उपलब्ध होस् भन्ने चाहन्छौँ, यसका लागि निगमले आफ्नै ब्रान्डमा ग्यास ल्याउँछ । भण्डारणगृह पनि बनाउँछ,’ उनले भने ।

उद्योग संघका पदाधिकारी नै लगानी थप्दै
ग्यास उद्योग संघका पूर्वअध्यक्ष सावरमल अग्रवालले काभ्रेमा सञ्चालन गरिरहेको सगर ग्यासको शाखा उद्योग नवलपरासीको रामग्राम–१०, लक्ष्मीपुरमा स्थापना गर्न आयल निगमबाट अनुमति लिइसकेका छन् । उनले त्यहाँ प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाइसकेका छन् ।

बालाजुस्थित नेपाल ग्यास खरिद गरेर यो क्षेत्रमा प्रवेश गरेका गोकुल भण्डारीले अहिले नेपाल (नारायणी)सहित चार स्थानमा प्लान्ट राखिसकेका छन् । पहिले काठमाडौं र चितवनमा मात्र कारोबार गरिरहेको यो समूहको ग्यास अहिले प्रदेश २ र गण्डकी प्रदेशमा समेत पुगिसकेको छ । उनले धादिङ, नुवाकोट र बाँकेको कोहलपुरमा नारायणी र नेपालका थप १–१ वटा प्लान्ट राख्ने प्रक्रियासमेत अघि बढाएका थिए, तर आयल निगमले अनुमति दिएन । ग्यास उद्योग संघको अध्यक्ष भएपछि भण्डारीले तीव्र रूपमा लगानी विस्तार गरेका हुन् ।

त्यस्तै, संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले आफ्नो स्वामित्वमा ७ उद्योग पु¥याएका छन् । उनले केही समयअघि मात्र सुदूरपश्चिममा सैपाल ग्यास उद्योग १८ करोडमा किनेका थिए । सो उद्योग दुई साताअघिबाट सञ्चालनमा आइसकेको छ । घिमिरेसँग अहिले सैपालसहित, एभरेस्ट, सुगम, सुगम कामख्य, प्रिमा, सहारा र त्रिशूल ग्यास उद्योग छन् । संघका वरिष्ठ उपाध्यक्ष कुशप्रसाद मल्लीले राजधानीमा ग्यास सञ्चालन गरेको लामो समयपछि धादिङमा रहेको एचपी ग्यास किनेका छन् । १ साउनदेखि उनले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरिरहेको उद्योग २१ करोड ५० लाखमा खरिद गरेका हुन् । सो उद्योगमा थप लगानी गरी आक्रामक बजार रणनीतिअनुसार व्यवसाय गर्ने मल्लीको योजना छ ।

संघका सचिव धर्मराज बर्तौलाले कास्कीमा रहेको गृहलक्ष्मी र धादिङमा रहेको गीता ग्यास उद्योग सञ्चालन गरिरहेका छन् । उनले आफ्ना नातेदारमार्फत थप अर्को उद्योग त्रिवेणीसमेत खरिद गरेका छन्, सो उद्योग बर्तौला परिवारले १३ करोड २१ लाख रुपैयाँमा डिल पूरा भएर अहिले पेपर वर्कको काम भइरहेको स्रोतको भनाइ छ ।

संघका पूर्वउपाध्यक्ष सीताराम तिमिल्सिनाले ग्यास उद्योग छाडेको करिब ८ वर्षपछि पुनः नयाँ उद्योग लिएर आएका छन् । उनले १४ माघ ०७६ मा आयल निगमबाट नयाँ उद्योग सञ्चालनको अनुमति लिएर धादिङको धुनबेँसी नगरपालिका–९ मा उद्योग स्थापना गरी सीता ब्रान्डमा ग्याससमेत बिक्री गर्न थालिसकेका छन् । उनले यसअघि एभरेस्ट ग्यास उद्योग बिक्री गरेका थिए ।