मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ९ शुक्रबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनैपूर्णिमामा यस वर्ष गोसाइँकुण्डमा मेला नलाग्ने 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १९:३४:००

धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण यो वर्ष सञ्चालन नहुने भएको हो ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले शुक्रबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन आयोजना गरी मेला सञ्चालन नहुने जानकारी दिएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले विश्वव्यापी संक्रमणको रूपमा कोराेना महामारीलाई मध्यनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको बताए । सरकारले जारी गरेको लकडाउन सकिए पनि धार्मिक स्थल, मेला, सभा–सम्मेलन, गोष्ठी सञ्चालनमा रोक यथावत् नै छ । ‘मेला व्यवस्थापनका लागि केही समयअघिदेखि नै तयारी गर्नुपर्ने, तर हालसम्म कुनै पनि तयारी भएको छैन,’ उनले भने, ‘१ भदौदेखि मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने भनिएको छ, मेला व्यवस्थापनका लागि समय अभाव भएकाले यो वर्ष  मेला हुँदैन ।’

मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने आउने उनले बताए । यदि कोही व्यक्ति गोसाइँकुण्ड मेला भर्न गएमा भिडभाड नगरी सामाजिक दूरी कायम गरी यात्रा गर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुरोध गरेको छ । यो वर्ष नागपञ्चमी (१० साउन) मा र जनैपूर्णिमा (१९ साउन) मा परेको छ ।