१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण ९ शुक्रबार १६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा विश्वविद्यालयमा उपकुलपति माग्दै विद्यार्थी आन्दोलित

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १६:५३:००

पोखरा विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।  लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

यसबीचमा  दुईपटक ई. बुद्धिबहादुर जोशी निमित्त उपकुलपति बने भने एकपटक प्रा. इन्द्रप्रसाद तिवारी निमित्त उपकुलपति बने । तर, पछिल्लो तीन महिनादेखि निमित्त उपकुलपतिसमेत नहुँदा विश्वविद्यालयका परीक्षालगायत सबै काम ठप्प भएपछि आफूहरू सडकमा आउनुपरेको पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियररिङ विभागअन्तर्गत सिभिल इन्जिनियरिङ अन्तिम सेमेष्टरमा अध्ययनरत महेश चौलागाईंले जानकारी दिए ।

शुक्रबार पोखरा विश्वविद्यालयका विद्यार्थीले पोखराको सहिदचोकमा विभिन्न ब्यानरसहित प्रदर्शन गरेका छन् । उनीहरूले उक्त विश्वविद्यालयका रिक्त पदपूर्तिको निम्ति दोस्रो चरणको सुरक्षित तथा शान्तिपूर्ण दबाबमूलक कार्यक्रम नाम दिएर गरेको कार्यक्रममा ‘हामी हजुरलाई स्वागत गर्न तयार छौँ, हजुरचाहिँ कहिले सवारी हुने उपकुलपतिज्यू ?’ ‘क्षमता नभेटिएको कि दायित्व बिर्सेको ?’ ‘शिक्षामा घुस्यो व्यापार विद्यार्थीको जीवन अन्धकार’ ‘विद्यार्थी पढ्ने कि अभिभावक गुहार्ने ?’ ‘विश्वविद्यालयलाई राजनीति अखडा बनाउन पाइँदैन’ जस्ता नाराअंकित प्लेकार्ड बोकेर उपस्थित थिए । 

 

विश्वविद्यालयमा उपकुलपति, रजिष्टार र डिनसहित नौ पद खाली रहेको लामो समय भइसकेको छ । व्यवस्थापन, साइन्स एन्ड टेक्नोलोजी, हेल्थ एन्ड साइन्स र मानविकी संकाय गरी चारवटा संकाय रहेको विश्वविद्यालयमा सबै संकायका परीक्षालगायत सबैका सबै गतिविधि ठप्प छन् । यसरी लामो समय उपकुलपतिसहित पदाधिकारी रिक्त रहँदा आफूहरूको भविष्य अन्योलमा रहेको विद्यार्थीले बताए ।

९६ घन्टाभित्र सरकारलाई रिजल्ट निकाल्न माग गर्दै विद्यार्थीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई दुईबुँदे ज्ञापनपत्रसमेत विद्यार्थीले बुझाएका छन् ।