१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १२:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबार प्रवेशमा पत्रकारलाई रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १२:३०:००

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेशमा पत्रकारलाई रोक लगाइएको छ । समाचार संकलन गर्न सिंहदरबार प्रवेश गर्न खोज्ने पत्रकारलाई रोकिएको नौ दिन भइसकेको छ । प्रवेशमा अवरोध भएपछि सिंहदरबारको गेटबाटै उनीहरू फर्कनुपरेको छ । 

सूचना विभागबाट जारी गर्ने पत्रकार परिचयपत्रको म्यादअवधि सकिएको भन्दै सिंहदरबार प्रवेशमा रोक लगाइएको हो । विभागबाट जारी परिचयपत्रका म्यादअवधि असार मसान्तसम्म मात्रै हो । परिचयपत्र नवीकरण गर्न कार्यरत सञ्चार गृहले विभागमा सिफारिस पत्र पेस गर्नुपर्छ । कोरोना महामारीका कारण सञ्चार गृहले कार्यरत पत्रकारको नामावली विभागमा सिफारिस गर्न सकेका छैनन् । 

विगतका वर्षहरूमा म्याद सकिएको महिना दिनसम्म पनि पत्रकारलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको थिएन । परिचयपत्र नवीकरण नभएकै कारण पत्रकारलाई प्रवेश गर्न नदिने विषय गलत रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

उनले भने, ‘सिंहदरबार प्रवेशमा पत्रकारलाई रोकिएको खबर मैले पनि सुनेँ । यो गलत हो । सामान्य अवस्थामा पनि नवीकरण नभएको महिना दिनसम्म सिंहदरबार प्रवेशमा रोक लगाइएको थिएन । कोरोना महामारीको यस्तो अवस्थामा नवीकरणको निहुँ झिकेर पत्रकारलाई रोक्नु ठीक भएन । यसको हामी विरोध गर्छौँ । सहजीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

महासंघका अनुसार नवीकरणको निहुँमा पत्रकारलाई सिंहदरबार प्रवेशमा रोक लगाइएपछि साता दिनअघि नै सहजीकरण गर्न सञ्चार मन्त्रालयमा पत्र पठाइसकिएको छ । तर, मन्त्रालयले महासंघको पत्रलाई बेवास्ता गरिरहेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले यो विषय प्रत्यक्ष रुपमा सूचना तथा प्रसारण विभागको कार्यक्षेत्र भएको र त्यहाँबाट सिंहदरवार प्रवेशका विषयमा कुनै पनि अनुरोध वा जानकारी केही नआएको बताए ।
 
उनले विभागबाट अनुरोध आएमा यसबारेमा विचार गर्ने पनि बताए । साथै उनले यस विषयमा विभागका महानिर्देशकसँग बुझ्ने र सहजीकरण गर्नका लागि प्रयास गर्ने पनि बताए ।