Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण ९ शुक्रबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशमा ७३ करोड लागतमा ३२ पुल निर्माण

Read Time : > 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार ०७:४५:००

बागमती प्रदेश सरकारले दुई वर्षमा १२ जिल्लामा ७३ करोड ६७ लाख ४३ हजार रुपैयाँ लागतमा ३२ वटा पुल निर्माण गरेको छ । बागमती प्रदेशले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा  काठमाडौंमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेपलाञ्चोकमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, नुवाकोटमा ३, धादिङ, सिन्धुली र रामेछापमा १–१ वटा पुल निर्माण गरेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

निर्माण गरिएका पुलहरूमा स्टिल ट्रस २, सस्पेन्सन २, स्टिल प्लेट गर्डर ४, आरसिसी बिम १७ र आरसिसी बक्सका ७ वटा रहेको निर्देशनालयका निमित्त निर्देशक डा. सहदेवबहादुर भण्डारीले बताए । मन्त्रालयले चालू आर्थिक वर्ष ०७७/७८ मा १ सय २० वटा पुल निर्माण गर्ने लक्ष्य लिएको छ । यसका लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । हाल १३ वटा झोलुंगेसहित १ सय २० वटा पुल निर्माणाधीन रहेका निमित्त निर्देशक भण्डारीले जानकारी दिए ।

यसैगरी, प्रदेश सरकारले दुई आर्थिक वर्षमा ८ सय ७ कच्ची, १ सय ५५ कालोपत्रे, ३ सय २० ग्राभेल र २४ किलोमिटर ढलान सडक निर्माण गरेको छ । प्रदेश सरकारले सडक निर्माणका लागि ६ अर्ब १४ करोड ८८ लाख ५७ हजार खर्चिएको छ । मन्त्रालयले खानेपानीमा वित्तीयतर्फ ८७, भौतिकतर्फ ८४, सिँचाइमा वित्तीयतर्फ ७०, भौतिकतर्फ ७७, भवन तथा सहरी विकासमा वित्तीयतर्फ ४२, भौतिकतर्फ ६७ र सडक निर्माणमा वित्तीयतर्फ ६२ र भौतिकतर्फ ७० प्रतिशत प्रगति भएको जनाएको छ ।

प्रदेश सरकारको कामको परिणाम अब देखिन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुरको कैलाश गाउँपालिकास्थित दुबुखोला पुलको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब सरकारको कामको परिणाम देखिने  बताए । ‘प्रदेश सरकारले सोचेभन्दा बढी काम गरेको छ,’ उनले भने, ‘हेटौँडामा बसेर प्रदेश सरकारको काम देखिँदैन, रामेछाप, दोलखा र सिन्धुलीमा प्रशस्त भइरहेको छ ।’ खेल मैदानदेखि स्वास्थ्य संस्थासम्मको निर्माणमा सरकार जुटेको मुख्यमन्त्री पौडेलको जिकिर छ । भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले विकास निर्माणको काममा एक कदम अघि बढ्ने प्रयासमा जुटेको बताए । सडक निर्माणसँगै कोरोना महामारीको जोखिमका बाबजुद सरकारले पुल निर्माण सोचेअनुसार भएको मन्त्री फँुयालले दाबी गरे ।