१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रद्धा जोगी
२०७७ श्रावण ९ शुक्रबार ०९:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिडबीच नै विद्यालय खोल्न सकिन्छ

Read Time : > 2 मिनेट
श्रद्धा जोगी
२०७७ श्रावण ९ शुक्रबार ०९:२३:००

विद्यालय सुचारु गर्ने बहसमा अभिभावक, तिनका रोजगारदाता र शिक्षकलाई एकअर्काविरुद्ध उभ्याएको देखिन्छ । तर, हामीले यस्तो विकल्प प्रयोगमा ल्याउन सक्छौँ, जसले अभिभावकलाई काममा फर्किन पनि रोक्दैन र बालबालिकालाई पढ्न अवरोध पनि पु-याउँदैन । यो विधि अवलम्बन गर्दा मानिसको जीवन धेरै जोखिममा समेत पर्दैन । कोभिड–१९ ले एक लाख चालिस हजारभन्दा धेरै अमेरिकीको ज्यान लिइसकेको छ ।

अमेरिकाका धेरै राज्यमा प्रकोप घट्नुको साटो बढिरहेको छ । अमेरिकामा अहिले जुन स्तरमा भाइरसको प्रकोप भइरहेको छ, त्यस स्तरको प्रकोप हँुदा अन्य समृद्ध मुलुकले विद्यालय खुलाएका छैनन् । हामीसँग कक्षाकोठामा संक्रमण कसरी फैलिन्छ भन्नेबारे सीमित तथ्यांक उपलब्ध छ । प्रकोपमाझ विद्यालय खुलेमा शिक्षकहरू भाइरस संक्रमणको उच्च जोखिममा पर्नेछन् । त्यसैले उनीहरू विद्यालय फर्किन डराइरहेका छन् । त्यसैले, सबैभन्दा सुरक्षित मार्ग किन्डरगार्डेनदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई डिसेम्बरसम्म अनलाइन कक्षामार्फत पढाउनु नै हो । 

तर धेरै विद्यार्थीसँग इन्टरनेटको पहुँच नभएकाले अनलाइन कक्षा लिन पाइरहेका छैनन् । केही अभावग्रस्त समुदायमा बसोवास गर्ने बालबालिका खाजाका लागि विद्यालयमा निर्भर छन् । तिनलाई पनि सम्बोधन गरिनुपर्छ । जसका अभिभावक घरबाट काम गर्न सक्दैनन्, तिनले अनलाइन कक्षामा भाग लिने सन्तानको निगरानी गर्न सक्दैनन्, यो पक्षलाई पनि ख्याल गर्नुपर्छ । अनलाइन कक्षामा जोड दिँदा यो वर्गलाई कसरी सम्बोधन गर्ने त ? 

अमेरिकी सरकारले विद्यालय खोल्न र विद्यार्थीलाई कक्षामै बोलाउन दबाब दिइरहेको छ । कोरोनाको समयमा पालना गर्नुपर्ने ६ फिटको दूरी राखेर हप्ताको पाँचै दिन विद्यालय खुलाउन सकिँदैन । कैयौँले दिन बिराएर कक्षा सञ्चालन गर्ने वा अनलाइन सिकाइमार्फत कक्षा सञ्चालन गर्ने विकल्प अपनाइरहेका छन् । यस्तो विधिले अभिभावक, विद्यार्थी र व्यापारलाई सामान्य अवस्थामा फर्काउन सघाउँछ त ? अमेरिकामा ५.१ करोड मानिस बेरोजगार भएकाले तिनको चासोलाई ध्यानमा राख्नुपर्छ । यी सबै पक्षलाई केही हदसम्म सम्बोधन गर्न पहिलो त यो सिजनभर कक्षाहरू पूर्णतः अनलाइन माध्यमबाट मात्र पढाइनुपर्छ ।

सबै कक्षा अनलाइनमार्फत सञ्चालन हुनुपर्छ, तर कठिन परिस्थितिमा रहेका विद्यार्थीका लागि विद्यालय वा शैक्षिक संस्थाको प्रयोग पनि गर्न सकिन्छ ।

र, घरमा इन्टरनेट नभएका, अभिभावक काममा जानुपर्ने, खाजाका लागि विद्यालयमा निर्भर विद्यार्थीहरूका लागि भने शैक्षिक संस्था पनि प्रयोग गर्नुपर्छ । यसका लागि विद्यालय मात्र होइन, अन्य शैक्षिक स्थल र ठूला खाली स्थललाई ‘सेफ सेन्टर फर अनलाइन लर्निङ (अनलाइन सिकाइका लागि सुरक्षित केन्द्र)’ मा रूपान्तरण गर्नुपर्छ । यो कुनै नयाँ र क्रान्तिकारी अवधारणा भने होइन । धेरै विश्वविद्यालयले आफ्ना विद्यार्थीमध्ये केहीलाई क्याम्पसमा पढाइरहेका छन्, जबकि कक्षाहरू पूर्णतः अनलाइनमार्फत मात्र सञ्चालन भइरहेका छन् । धेरै विद्यार्थी घरबाटै कक्षा लिइरहेका छन् । यसले गर्दा शैक्षिकस्थलको भिडभाड कम हुन्छ र कक्षाकोठामा समाजिक दूरी कायम गर्न असम्भव हुँदैन । 

विद्यालयका स्टाफले विद्यालय आएका विद्यार्थीलाई अनलाइन कोर्समा सम्पर्क गराउन सहयोग गर्नेछन् । यसका लागि ती स्टाफ कुनै विषयमा पोख्त हुनुपर्छ भन्ने पनि हुँदैन । भर्खरै कलेजबाट पास भएका बेरोजगार युवा यी शैक्षिक केन्द्रमा कामका लागि योग्य हुन सक्छन् । पठनपाठनको कुरा गर्दा केही शिक्षकले तिनका अनलाइन कोर्स प्रसारण गर्न विद्यालय भवन प्रयोग गर्न सक्छन्, तर सम्भवतः धेरै घरमै बसेर अनलाइन कक्षाको तयारी गर्नेछन् । 

यस प्रायोजनका लागि विद्यालय र शैक्षिक केन्द्र मात्र होइन, अन्य सार्वजनिक स्थल पनि उपयोग गर्न सकिन्छ । आखिरमा यीमध्ये धेरै हाल प्रयोगविहीन छन् । रंगशाला, सभाहल, पार्कजस्ता स्थलमा पनि ‘सेफ सेन्टर फर अनलाइन लर्निङ’ सञ्चालन गर्दा सामाजिक दूरीको नियम पालना गर्न सहज हुन्छ । मुख्य कुरा यी केन्द्रमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनिवार्य गराउनु हुन्न । र, कक्षाकोठामा विद्यार्थीहरूका लागि डेस्क र ल्यापटपबाहेक धेरै कुराको आवश्यकता पनि पर्दैन । कक्षाहरू अनलाइन सञ्चालन हुन सुरु भएदेखि यो सिजनमा पहिले नै ल्यापटप वितरण भइसकेकाले यो धेरै कठिन पनि हुनेछैन । भौतिक रूपमा उपस्थित हुने विद्यार्थीलाई माक्स अनिवार्य गराउन र डेस्कहरू भौतिक दूरी पालना गराएर राख्नु पनि महत्वपूर्ण हुन्छ । खाजाका लागि विद्यालयमा भर पर्ने विद्यार्थीहरूका लागि सेफ सेन्टर फर अनलाइन लर्निङले खाजा खुवाउने व्यवस्था गराउनुपर्नेछ । 

विद्यार्थीको अवलोकनका लागि मानसिक स्वास्थ्य तथा अन्य परामर्शदाताको सेवाको व्यवस्था हुन सक्छ । कुनै केन्द्रमा प्रकोप फैलिएमा विद्यार्थीलाई अन्य सेन्टरमा पठाउने वा घरबाटै कक्षा सुरु गराउने विकल्प प्रयोग गर्न सकिन्छ । अनलाइन कक्षामा प्रत्यक्ष कक्षामा उपस्थित भएर पढेजस्तो त हुँदैन, तर रोगको खतरामाझ केही कम स्तरको विकल्पमा पनि जान सकिन्छ । सबैलाई विद्यालयमा बोलाएर रोग बढाउनुभन्दा अर्थतन्त्र पनि खुलाउन सघाउने सेफ सेन्टर फर अनलाइन लर्निङ विकल्पमा सरकारी कोष प्रयोग गर्नु उचित हुन्छ।

(श्रद्धा जोगी युनिभर्सिटी अफ टेक्सस–अस्टिनकी खगोलशास्त्रकी प्राध्यापक हुन्, उनी छैटौँ कक्षामा अध्ययनरत विद्यार्थीकी आमा पनि हुन् ।)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य