मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
माडी नगरपालिकाका मेयरको उपस्थितीमा खरेलले पठाएको रकम दानबहादुर प्रजालाई हस्तान्तरण गरिदै । 
२०७७ श्रावण ८ बिहीबार २२:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वडिआइजी रमेश खरेलले दिए दानबहादुरलाई १० हजार 

दानबहादुरले भने–अब बस्ने छाप्रोको पनि व्यवस्था गर्दिनुस् 

Read Time : > 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार २२:१९:००

चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङबस्तीमा आगो लगाइदिँदा नगद १० हजार, नागरिकतासहित घर जलेका दानबहादुर चेपाङलाई सहयोग मिलेको छ । पूर्वडिआइजी एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले प्रजालाई  नयाँ पत्रिकामार्फत १० हजार रुपैयाँ प्रदान गरेका हुन् । 

प्रजालाई माडी नगरपालिका कार्यालयमा मेयर ठाकुरप्रसाद ढकालसहित स्थानीयको रोहवरमा बिहीबार नगद हस्तान्तरण गरिएको छ । अविरल वर्षा र बाढीपहिरोले चारैतिर वितण्डा मच्चाइरहेका वेला निकुञ्जले घरमा आगो लगाइदिएपछि प्रजाको घर र १० हजार रुपैयाँ जलेको समाचार पढेर मन थाम्नै नसकेको खरेलले बताए । सोही कारण सानै भए पनि सहयोग गरेको उनको भनाइ छ । ‘खेतमा कोदालो चलाएर कमाएको दानबहादुर प्रजाको पैसासँगै घर जलेछ, यो कुराले मन थाम्नै सकिनँ,’ खरेलले भने । उनले जलेबराबरको रकम सहयोग गरेका हुन् । 

सहयोगबापतको रकम पाएपछि दानबहादुरले भने, ‘दुःखले कमाएको पैसा त पाएँ, अब सुखले बस्न पाए हुन्थ्यो । हामी ०५३ सालदेखि बस्दै आएको ठाउँलाई सरकारले मध्यवर्ती क्षेत्र भनेर निकाल्न खोजेको छ । नगरपालिकाले पनि हाम्रो लागि छुट्टै घर बनाउँदै थियो, तर त्यहाँ पनि निकुञ्जले रोकेको छ । हामीलाई छाप्रै भए पनि बस्ने बास मिलाइदिनुस् । बरु कोदालो खनेरै पेट पालाैँला ।’  

गत शनिबार निकुञ्ज र सेनाको टोलीले कुसुमखोलाका दुई घरमा आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काएका थिए । घर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन् । घर नहुँदा उनीहरू स्थानीय स्कुलमा आश्रय लिइरहेका छन् । बारीमा लगाएको धान र मकै पनि निकुञ्जले नोक्सान गरिदिएको उनीहरूको भनाइ छ । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले उनीहरूलाई केही दिनभित्रै सुरक्षित रूपमा कुसुमखोलाबाहिर बसोवास गराउने योजनामा बनाएको बताए । विगतमा एक सय ६० भन्दा बढी घर भए पनि बसाइँसराइका कारण अहिले यहाँका जम्मा १५ घर रहेको नगरपालिको तथ्यांक छ । 

सुकुमबासी बस्तीलाई व्यवस्थापन गर्ने नगरपालिकाको योजनामा निकुञ्जले अवरोध गर्दै आएको माडी नगरपालिकाका मेयर ढकालको आरोप छ । ‘कुसुमखोलाका सुकुमबासीलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा ९० वटा घर बनाउन लागेको थियो । तर, निकुञ्ज बाधक भयो,’ ढकालले भने । माडी–९ को राईटोलमा ४० घर बनाउँदै गर्दा १२ घरमा निकुञ्जले जस्ता हाल्न नदिएको र माडी–७ को देवेन्द्रपुरमा ५० घर बनाउने तयारी गर्दा पनि निकुञ्जले काम नै सुरु हुन नदिएको मेयर ढकालको आरोप छ । तर, निकुञ्जका वार्डेन नारायण रूपाखेतीले भने धम्की दिएर घर भत्काएको र आगो लगाएको विवरण गलत भएको दाबी गरे ।