मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ८ बिहीबार १८:०६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

धनगढी उपमहानगरद्वारा महिलाका लागि छुट्टै होल्डिङ सेन्टर सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार १८:०६:००

धनगढी उपमहानगरपालिकाले महिलाका छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित महिला तथा उपचारका लागि धनगढी आएर अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरीलाई राख्न धनगढीको बी पोलिटेक्निक इन्स्टिच्युटमा होल्डिङ सेन्टर र आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

धनगढी उपमहानगरका अनुसार महिलाका लागि छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन सञ्चालन गरेको धनगढी उपमहानगरले मात्रै हो । आइसोलेसनमा १० शय्या छन् भने होल्डिङ सेन्टरमा १२ शय्या राखिएको धनगढी नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठ्यारो अवस्थामा रहेका गर्भवती, सुत्केरीलाई होल्डिङ सेन्टरमा राखेर उपचार गरिने उनले बताए । कुरुवा तथा शिशुको हेरचाह गर्ने व्यक्तिको पनि व्यवस्था गरिएको उनले बताए ।

आइसोलेसन कक्षमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएका महिलालाई राखेर उपचार गरिने व्यवस्था गरिएको नगरप्रमुख वडले बताए ।  ‘२४सै घन्टा स्वास्थ्यकर्मी र एम्बुलेन्स सुविधा उपलब्ध हुने व्यवस्था पनि गरेका छौँ,’ वडले भने, ‘लम्की–चुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी महिलामाथि यौन दुर्व्यवहार भएको घटनाले महिलाका लागि छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन वार्ड निर्माण गरिएका हुन् ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले महिलाका लागि छुट्टै आइसोलेसन आवश्यक रहेको बताए । सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम बढी भएकाले पनि छुट्टै आइसोलेसन आवश्यक रहेको बताए । उपमहानगरले एक गैरसरकारी संस्थाको सहकार्यमा आइसोलेसन र होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।