१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १२:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हात हल्लाउँदै जेलबाट छुटे पूर्वडिआइजी कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १२:१४:००

श्रीमती हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला सजाय भुक्तान गरी जेलमुक्त भएका छन् ।

सर्वाेच्च अदालतले उनको कैद सजाय साढे आठ वर्षमा झारिदिएपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

कोइराला हात हल्लाउँदै कारागारबाट निस्किए । उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् ।

त्यही मुद्दामा तारा पनि एक वर्ष जेल बसेर छुटेकी थिइन् । रेग्मीबाहेक उनलाई लिन अन्य आफन्त कोही गएनन् ।

कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोमा सर्वाेच्चले गत १५ असारमा कैद घटाइदिएपछि उनी छुटेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो । सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिने गरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेकोजस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

२७ पुस २०६८ मा उनले घाँटी थिचेर श्रीमती गीताको घरमै हत्या गरेका हुन् । सोही रात उनले मकवानपुरको मेत्राङमा पेट्रोल छर्केर गीताको शव जलाएका थिए ।

पछि फेरि ८ माघमा शव जले–नजलेको हेर्न जाँदा उनलाई स्थानीयले पक्राउ गरेका थिए । डिआइजी भएको खुलेपछि तत्कालै छुटेकोमा पछि काठमाडौं आउने क्रममा उनी समातिएका थिए । १४ फागुनमा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

घटनाको दुई वर्षपछि वैशाख ०७१ पहिलो साता काठमाडौं जिल्ला अदालतले कोइरालालाई श्रीमतीको हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैद र प्रेमिका भनिएकी तारा रेग्मीलाई मतियार करार दिई एक वर्ष कैद सजाय सुनायो ।

मोहम्मद जुनैद आजादको इजलासले यस्तो फैसला गरेको थियो । यसविरुद्ध तत्कालीन पुनरावेदन अदालत पाटनले २३ मंसिर ०७२ मा जिल्लाकै फैसला सदर गऱ्याे । यसविरुद्ध उनी सर्वोच्च पुगेका थिए । सर्वाेच्चले उनको कैद सजाय साढे ११ वर्ष घटाइदिएको हो ।