मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
माइकल सिंह
२०७७ श्रावण ८ बिहीबार ०८:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

चीन-इरान सम्बन्धमाथि अमेरिकी नजर

Read Time : > 2 मिनेट
माइकल सिंह
२०७७ श्रावण ८ बिहीबार ०८:४१:००

यसै महिना चीन र इरानबीच २५ वर्षीय व्यापार तथा सैन्य सम्झौता हुन लागेको समाचार बाहिरियो । यो खबरपछि वासिंटनमा सानोतिनो हलचल नै आएको छ । प्रतिद्वन्द्वीको रूपमा उदाइरहेको चीन र वर्षौंदेखिको शत्रुराष्ट्र इरानबीचको सम्झौतामा अमेरिका हच्कनु स्वाभाविक पनि हो । यसले मध्यपूर्वमा अमेरिकाको अहिले जुन प्रभुत्वशाली स्थिति छ, त्यसलाई नै बदल्न सक्छ । 

लिक भएको सम्झौताका प्रावधानअनुसार उलेख्य छुटमा इरानी तेल लिएबापत चीनले इरानको आर्थिक विकासमा हिस्सेदारी बढाउनेछ । सम्झौताको खबर बाहिरिएपछि इरान र चीनमा उल्लास भने देखिएन । इरानका संकटग्रस्त राष्ट्रपति हसन रुहानीका आलोचकले यो सम्झौतालाई ‘नयाँ टुर्कमेन्चे’को संज्ञा दिए । इरानी जनताले अपमानजनक सम्झौताका रूपमा स्मरण गर्ने सन् १८२८ को ‘टुर्कमेन्चे’ सम्झौतापछि तत्कालीन पर्सियाले दक्षिण ककेसस क्षेत्रको ठूलो भूभाग रुसी साम्राज्यलाई बुझाउनुपरेको थियो । उता, बेइजिङमा भएको एक पत्रकार सम्मेलनमा यो सम्झौताबारे प्रश्न सोध्दा एक सरकारी प्रवक्ताले प्रस्ट उत्तर दिएनन् । उनले चीनले धेरै देशसँग ‘सामान्य मैत्रीपूर्ण सम्बन्ध विकास गरिरहेको’ र इरान त्यसैमध्ये एक देश भएको जवाफ दिए ।

मध्यपूर्वको सबैभन्दा पुरानो शत्रु राष्ट्र इरान र एसियाको उदाउँदो शक्तिराष्ट्र चीनबीच बढ्दो सम्बन्धलाई वासिंटनले ध्यानपूर्वक हेरिरहेको छ

यी दुई प्रसंगले बेइजिङ र तेहरानबीच त्यति धेरै कसिलो सम्बन्धतर्फ संकेत गर्दैन । यी दुवै एउटा दोधारमा छन्, भोलिका दिनमा एकअर्काको घनिष्टताले अमेरिकासँगको सम्बन्धमा समस्या आउँछ कि ? विगत केही वर्ष अमेरिका मध्यपश्चिम क्षेत्रको द्वन्द्वमा अल्झियो र यो अवधिमा चीनले यो क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक मात्र होइन, सैन्य गतिविधिसमेत विस्तार ग-यो ।

बेइजिङको उद्देश्य प्रस्ट छ, ऊ आफ्नो फाइदाका लागि अघि बढ्न चाहन्छ । अर्थात् ऊ ऊर्जा आयातको आवश्यकता पूरा गराउने र देशको अतिरिक्त पँुजी तथा श्रम उपयोग हुने स्थान खोजिरहेको छ । यथार्थमा ऊ राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘रोड एन्ड बेल्ट इनिसियटिभ’लाई अघि बढाउने ध्याउन्नमा छ । चीनले क्षेत्रीय आर्थिक परिदृश्य बदल्ने औजारको रूपमा अघि सारेको यो परियोजनालाई ऊ अमेरिकाको चीनलाई घेर्ने नीतिको जवाफका रूपमा पनि देखाउन चाहन्छ । छोटोमा भन्दा चीन बिआरआईमार्फत विश्वभर र आफ्नै जनताको आँखामा आफूलाई अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने महाशक्तिका रूपमा देखाउने प्रयासमा छ। 

यद्यपि चिनियाँ नेतालाई के थाहा छ भने मध्यपूर्व मामिलामा होमिएकामध्ये थोरै शक्ति राष्ट्र मात्रै यहाँबाट सहजै उम्किन सफल भएका छन् । मध्यपूर्वमा कायम गहिरो राजनीतिक विभाजनका कारण त्यहाँ कैयौँ विवाद चलिरहन्छ । बाह्य शक्तिलाई कुनै पक्ष नलिई सम्बन्ध कायम राख्न अप्ठ्यारो हुन्छ । यस अर्थमा इजरायल, इरान र अरब राज्य सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहने चीनलाई आगामी दिनमा जोखिम आइपर्न सक्छ । चीनका लागि त्योभन्दा पनि ठूलो चुनौती अमेरिकाले यो क्षेत्रमा खेल्ने महत्वपूर्ण भूमिकाबाट आइपर्नेछ । हालसम्म त अमेरिकाले मध्यपूर्वमा निभाएको सुरक्षात्मक भूमिकाले चीनलाई फाइदा गरेको छ । चीनले मध्यपूर्वमा ठूलो परिमाणमा पुँजी तथा नागरिक परिचालन गर्दा पनि उल्लेख्य सुरक्षा खर्च बढाउनुपरेको छैन । यही कारणले पनि हुन सक्छ, चीन अन्यत्र जस्तो मध्यपूर्वमा अमेरिकाविरुद्ध कठोर देखिँदैन । ऊ मौन रूपमा आफूलाई फैलाइरहेको छ । 

मध्य–पूर्वमा चीनसँग सबैभन्दा नजिक देखिएको इरानका आफ्नै समस्या छन् । अहिले अमेरिकाले इरानविरुद्ध अधिकतम ‘दबाब’को नीति अघि सारेको छ । यस दबाबमा चेपिएको तेहरानलाई जो भए पनि साथ चाहिएको छ । र, धनी र शक्तिशाली हुनुका अतिरिक्त चीनको इरानसँग अर्को समानता छ । दुवै अमेरिकाको वर्तमान विश्वव्यापी भूमिकालाई चुनौती दिन चाहन्छन् । तर, इतिहास हेर्ने हो भने इरान वैदेशिक शक्तिसँग सशंकित रहने गरेको देखिन्छ । त्यसैले पछिल्लो समय चीनले उल्लेख्य छुटमा थोरै तेल किन्ने अनि त्यसबापत इरानको घरेलु बजारलाई सस्तो चिनियाँ सामानले ढाक्ने जुन कार्य भइरहेको छ, त्यसविरुद्ध इरानीहरूमा असन्तुष्टि देखिन थालेको छ । इरानीहरू कसैको कनिष्ठ मित्र बन्न चाहँदैनन्, बरु ती चीन र रुसजस्ताको बराबरीका रूपमा हेरिन चाहन्छन् । 

चीन र इरानको बढ्दो सम्बन्धबीच अमेरिकासँग के विकल्प छ ? अमेरिकाले इरानको चीनसँगको परनिर्भरता उसको नीतिगत छनोट भएको जोड दिनुपर्छ । अर्थात् पश्चिमी शक्तिले इरान उसको आणविक महत्वाकांक्षा र क्षेत्रीय नीतिमा परिवर्तन गर्न तयार भए बाँकी विश्वले ऊसँग सहकार्य गर्न तयार रहेको जनाउ दिनुपर्छ । यसका लागि पहिले त वासिंटनले उसका क्षेत्रीय मित्रहरूको विश्वास जित्नुपर्छ । अन्यथा ती पनि बेइजिङसँगको मित्रताका लागि अग्रसर हुन सक्छन् । चीनले इरानलाई हतियार बेच्ने कुरा आएमा अमेरिका अघि सरेर सीधा चीनलाई सतर्क गराउनुपर्छ । 

चीन–इरानबीचको सम्बन्ध लामो समयदेखि एकाअर्काका लागि महत्वपूर्ण हुँदै आएको थियो । यो सम्बन्ध इरानका लागि आणविक तथा मिसाइल विकासमा महत्वपूर्ण रहेको थियो । औपचारिक वा अनौपचारिक जुनसुकै रूपमा भए पनि दुई देशबीच आगामी दिनमा घनिष्टता थप बढ्नेछ । चीन पश्चिमतर्फ आफ्नो शक्ति विस्तार गर्ने प्रयास गरिरहेको र इरान अमेरिकी शक्तिबाट आफूलाई सुरक्षित राख्न केन्द्रित रहँदा दुई शक्तिको समीप्य स्वाभाविक हो । तर, यस क्रममा अमेरिका पनि हेरेर भने बस्नेछैन । 

(माइकल सिंह नेसनल सेक्युरिटी काउन्सिलअन्तर्गतको मध्यपूर्व मामिलाका पूर्ववरिष्ठ निर्देशक हुन् ।) 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य