मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ८ बिहीबार ०४:००:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वृद्धको मृत्युपछि हटाइयो तुइनको बकेट

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार ०४:००:००

तुइन तर्न खोज्दा लडेर वृद्धको मृत्यु भएपछि हेटौँडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथनजिक रहेको तुइनको बकेट हटाइएको छ । बागमती प्रदेश सरकारले पक्की पुल बनाउने प्रतिबद्धता जनाएपछि बुधबार बकेट हटाइएको हो । 

राप्ती खोलामाथि चौकीटोल र मैनटार जोड्ने यो तुइनबाट लडेर मंगलबार ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो । बुधबार तुइन यथावत् रहे पनि मान्छे चड्ने बकेट हटाइएको वडाध्यक्ष सविन न्यौपानेले बताए । बकेट हटाएसँगै आवतजावत बन्द भएको छ ।

वृद्धको मृत्यु भएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएकाले तुइनको बकेट हटाइएको वडाध्यक्ष न्यौपनेले बताए । प्रदेश सरकारले पुलका लागि डिपिआर तयार गरिसकेको छ । तर, पुल निर्माणको काम अगाडि बढ्न सकेको थिएन । प्रदेश सरकारले एक करोडको लगानीमा दुई वर्षभित्र पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष न्यौपानेले बताए । प्रदेश सरकारको प्रतिबद्धतापछि स्थानीय बासिन्दाकै सहमतिमा बकेट हटाइएको हो । 

तुइनभन्दा केही पश्चिममा झोलुंगेपुल पनि रहेको छ । तर, पश्चिमका तीन गाउँका आठ सय परिवारलाई पायक नपर्ने भएकाले वर्षात्मा तुइनमै ओहोरदोहोर गर्दै आएका थिए । झोलुंगेपुलभन्दा तुइनबाट आवतजावत गर्दा दुई घन्टा कम समय लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।