१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ७ बुधबार २०:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नुपर्ने अवस्था छैन : नेता नेपाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ७ बुधबार २०:५२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । काठमाडौं महानगरपालिका– १८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको बुधबार उद्घाटन गर्दै नेपालले यस्तो बताएका हुन् । 

 ‘बाहिर फैलिएको हल्लाको आधारमा होइन, हामी मिहिन ढंगले वाद–विवाद, संवाद गरिरहेका छौँ,’ नेपालले भने,  ‘वादेवादे जायते तत्वबाेध’ भने जस्तै  वाद, विवाद, संवाद हुनेबित्तिकै आत्तिहाल्नुपर्ने केही छैन । विधिबाट सबै टुंगो  लगाउनुपर्छ । हामी त्यही प्रयासमा छौँ ।’

उनले को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा जोड दिए ।  ‘नेताहरूको बीचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तोसुकै चुनौतीको सामना गर्न सकिन्छ,’ उनले भने, ‘एकताबद्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यही दिशामा अघि बढौँ । पुष्पलालको योगदानलाई चिरस्थायी बनाइराख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’  

नेपालले पार्टीको अहिले बसिरहेको बैठक र पार्टीभित्रको विवादका विषयमा धेरै किसिमका चर्चा–परिचर्चा चलिरहेकोबारे आफू पनि जानकार रहेको बताए ।  ‘यो विवादको चर्चाले हाम्रा शुभचिन्तकहरू धेरै चिन्तित भएका छन् । बैरीहरू धेरै खुसी भएका छन्,’ उनले भने, ‘पार्टी विधि र पद्धतिबाट चल्छ, पार्टी तौर–तरिकाबाट चल्छ । असल व्यवहार र आचरणबाट चल्छ । कम्युनिस्टहरू इमानदार हुन सक्नुपर्छ । जनताको सेवाको भावनाप्रति समर्पित भएर चल्न सक्नुपर्छ । त्यही विचारबाट हाम्रा कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने हो भने  सबै तहका जनप्रतिनिधिहरूलाई राम्ररी प्रशिक्षित गर्न सक्ने हो भने राम्रा काम गर्नेलाई गौरवबोध हुन्छ । कमी–कमजोरी गर्नेलाई सुधार गर्ने मौका मिल्छ ।’

नेता नेपालले कसैले जानी–जानी कमजोरी गर्छ भने त्यसको सजाय पार्टीले होइन व्यक्तिले पाउनुपर्ने बताए ।  ‘व्यक्तिले गरेको गल्तीमा पार्टीले सजाय भोग्ने हो भने पार्टी चिप्लिन्छ,’ उनले भने,  ‘पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ताले गरेको त्याग, तपस्या, बलिदान, विचार र संगठनमा गरेको मिहिनेतको आधारमा यो पार्टीको संरचना खडा भएको हो । एकजनाको पौरखबाट होइन हामी सबैको पौरखबाट यो निर्माण भएको छ भन्ने सन्देश हामी सबैले दिइरहेका छौँ । यही सन्देशका आधारमा हामी अघि बढ्नुको अर्को विकल्प छैन ।’

उनले समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको भन्दै सबै किसिमको चुनौतीको सामना गर्दै एकताबद्ध हुँदै अघि बढ्नुपर्ने जिम्मेवारी सबै नेताको काँधमा आएको पनि बताए ।