१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ७ बुधबार १७:२५:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

जसले ४५ रातोकार्ड व्यहोरे

Read Time : > 2 मिनेट
२०७७ श्रावण ७ बुधबार १७:२५:००

‘जब उनी टेलिभिजनमा अन्तर्वार्ता दिन उपस्थित हुन्छन्, उनको साथमा रातोकार्ड हुन्छ, बोडोयालाई खुबै मन पर्छ रातोकार्ड,’ कोलम्बियन फुटबल जर्नालिस्ट कार्ल वास्कविक आफ्नो ब्लगमा लेख्छन्, ‘रातोकार्ड व्यहोरे पनि उनी कहिले पनि मैदानबाहिर रिस देखाउँदैनन् ।’ कोलम्बियन फुटबल इतिहासमा धेरै फुटबल खेलाडी जन्मिए, तर जरार्डो बोडोया अरूभन्दा निकै फरक छन् ।

४४ वर्षीय बाेडोया फुटबल खेल इतिहासकै धेरै रातोकार्ड व्यहोर्नेमा पर्छन् । २० वर्षको फुटबल करिअरमा उनले ४५ पटक रातोकार्डकाे सामना गरी मैदानबाट बाहिरिए । यसैकारण विश्लेषक उनलाई अहिलेसम्मकै खराब फुटबलरको ट्याग दिन्छन् । कोलम्बियाका चर्चित फुटबल पत्रकार कार्ल एक दिन उनै बाेडोयाको अन्तर्वार्ता लिन घरमा पुगेका थिए । अन्तर्वार्ता दिँदा बाेडोयालाई फरक व्यक्तित्वका रूपमा आफूले पाएको जनार्लिस्ट कार्लको अनुभव छ । 

‘हामीले सुनेका थियौँ, बाेडोया अन्तर्वार्तामा उग्र हुन्छन र खल्तीमा भएको रातो कार्ड झिकेर पत्रकारलाई बाहिर पठाउँछन्,’ बाेडोयासँग अन्तर्वार्ता लिनुअघिको जर्नालिस्ट कार्ल सम्झन्छन्, ‘अरूले भनेको र सुनेकोजस्तो हामीले त्यस्तो अनुभव केही गरेनौँ, बोडोयासँग एकदम सहज तरिकाले अन्तर्वार्ता भयो ।’ 

मैदानभित्र र बाहिर व्यक्तिसँग कस्तो व्यवहार गर्ने बाेडोयालाई राम्रोसँग थाहा छ । मैदानमा जसरी पनि टोलीलाई जिताउनुपर्ने भावनाका साथ उनी डटेर खेल्छन् । मैदानबाहिर सामान्य व्यक्तिका रूपमा उनी प्रस्तुत हुन्छन् । यही फरकताले नै मैदानभित्रका अति नराम्रा खेलाडी बाहिरी व्यवहारका कारण कोलम्बियामा चर्चित छन् । 

‘मैदानमा कसरी विपक्षीलाई ढाल्ने र जित निकाल्ने योजनाका साथ जाने गर्छु,’ बाेडोयाले अन्तर्वार्ता क्रममा कार्ललाई भने, ‘म जति मैदानमा रिस देखाउँछु, त्यति नै बाहिर नरम स्वभावको व्यक्ति हुँ ।’ कोलम्बियाको घरेलु फुटबलमा बाेडोया एक खराबका खेलाडीसाथै राम्रा व्यक्तित्वका रूपमा लिने गर्छन् । रातो कार्ड व्यहोर्दा उनले देखाउने प्रतिक्रिया सामान्य नै हुन्छ । 

सन् २०१५ मा फुटबलबाट बिदा भएका बाेडोयाले त्यस सिजनमा दुईपटक मात्र रातोकार्ड खाँदै मैदान बाहिरिए । पूरै करिअरमा उनी पहिलोपटक दुईचोटि मात्र रेफ्रीको कारबाहीमा परे । सन् २०१६ देखि कोलम्बियाको एक स्थानीय क्लबका सहायक प्रशिक्षकका रूपमा उनी मैदानमा छन् । 

बाेडोयाले व्यहोरेका ४१ रातोकार्ड एकै प्रकृतिका छन् । विपक्षी खेलाडीलाई सीधै एल्बो (कुइना) ले मुखैमा प्रहार गर्दा ४१ पटक र टाउकोमा बुटले हिर्काउँदा उनले चारपटक रातोकार्ड खाए । करिअरमा उनी १५ पटक प्रतिबन्धमा परे । यति धेरैपटक अनुशासनको कारबाहीमा पर्दा उनी पत्रकारसँग बोल्न डराउँदैनथे । 

उनी भन्थे, ‘यो सामान्य नै हो, खेलको भावनाअनुसारै मैले आफ्नो कला देखाएको हुँ ।’ करिअरमा साढे तीन दर्जन रातोकार्ड पाएका बाेडोयाले पहिलोपटक पाउँदाको स्मरण यसरी गरेका छन्, ‘खेलको २१औँ मिनेटमै करिअरकै पहिलो रातोकार्ड पाएँ, त्यसवेला मैले होस गुमाएँ, त्यसपछि बानी नै पऱ्याे ।’ 

क्लब लेभलमा एक सफल खेलाडी भए पनि राष्ट्रिय टोलीमा उनी त्यति जम्न सकेनन् । कोलम्बिया २००१ मा कोपा अमेरिका च्याम्पियन बनेको थियो । त्यही वर्ष नै उनले राष्ट्रिय टोलीमा बिताएका राम्रा दिन थिए । उनी सम्झन्छन्, ‘राष्ट्रिय टोलीमा स्थान पाउँदा पनि राम्रो गर्न सकिनँ, यही नै दुःख लाग्छ ।’ त्यो संस्करणको सेमिफाइनलमा उनले होन्डुरसविरुद्ध पेनाल्टी गोल गरेका थिए । फाइनलमा मेक्सिकोलाई १–० ले हराउँदा कोलम्बियाले उपाधि उचाल्यो ।

उनी भन्छन्, ‘२००१ को हामीहरूको टिम एकदम बलियो थियो, गोलरक्षकदेखि फरवार्डसम्म एक से एक थिए, अहिले यस्तो टिम पाउन गाह्रो छ ।’ करिअरमा उनले १३ क्लब परिवर्तन गरे । मध्य तथा दक्षिण अमेरिकाका विभिन्न क्लबको अनुभव संगालेका बाेयोडाले रेसिङलाई ३५ वर्षपछि लिग च्याम्पियन बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए । 

त्यसवेला रेसिङले प्रतिद्वन्द्वी रिभर प्लेटलाई हराएको थियो । उनले अर्जेन्टिनाको विश्वचर्चित बोको जुनियर क्लबबाट पनि खेले । उनले सबैभन्दा बढी माया गरेका क्लब सान्टा फे र रेसिङ हुन् । यस क्लबका समर्थकले बोेडोयालाई आइकन मान्छन् । यद्यपि रातोकार्ड खाँदा पनि समर्थकहरू बेन्चबाट उठेर नै सम्मान गर्थे । सान्टा र रेसिङसँगको नाता गहिरो भएको उनी बताउँछन् । ‘मलाई सान्टा फेका समर्थकले अहिले पनि माया गर्छन्, यहाँको जस्तो समर्थक मैले अन्यत्र पाउन सकिनँ,’ उनले भने, ‘फुटबलका सच्चा समर्थक नै सान्टाका हुन् ।’ 

सन् १९९८ मा उनले करिअरमै तीन उपाधि जिते । रमाइलो पक्ष के रहयो भने यस सिजनमा उनले १४ पटक रातोकार्ड खाए । पाँचपटक रेसिङबाट खेल्दा, आठपटक सान्टाबाट प्रतिस्पर्धा गर्दा एकै वर्ष एक दर्जनभन्दा बढी रातोकार्डको उनले सामना गरे । 

एजेन्सीको सहयोगमा