१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
केदार दाहाल काठमाडौं
२०७७ श्रावण ७ बुधबार १०:३३:००
Read Time : > 1 मिनेट
पर्यटन डिजिटल संस्करण

साढे चार महिनापछि पर्यटन गतिविधि खुल्दै, आगामी सिजनका लागि आन्तरिक र बाह्य दुवै पर्यटक घुमफिरमा जान पाउने

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ श्रावण ७ बुधबार १०:३३:००

लकडाउनले साढे चार महिनादेखि शून्य रहेको पर्यटन गतिविधिमा फेरि चहलपहल बढ्ने भएको छ ।  सरकारले १ भदौदेखि हवाई उडान खोल्ने निर्णय गरेसँगै पर्यटन व्यवसायी पनि उत्साहित देखिएका छन् । होटेल व्यवसायीले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सुचारु गर्ने निर्णय गरेका छन् । 

सरकारले बुधबारदेखि लकडाउन पूर्ण रूपमा हटाउने निर्णय गरेपछि पर्यटन व्यवसायी झन् उत्साहित भएका छन् । उनीहरूले आगामी सिजनको सुरुदेखि नै आन्तरिक र विदेशी दुवै पर्यटकलाई घुमफिरमा सहज बनाउने तयारी गरेका छन् ।  

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुलाउने निर्णय गरेको हो । यता, व्यवसायीले भने उडान खुलाउनुभन्दा अघि नै होटेल उद्योग खोल्ने तयारी गरेका छन् । 

होटेल संघ नेपाल ( हान) ले औपचारिक निर्णय नगरे पनि साउन १५ देखि स्वास्थ्य प्रोटोकल लागू गरेर खोल्ने तयारी गरेको हो । ‘उडानभन्दा पहिले नै होटेलहरू खोल्नेछौँ,’ हानका महासचिव साजन शाक्यले भने । स्वास्थ्य प्रोटोकलको निर्देशिका होटेलहरूले तयार पारेर तालिमसमेत लिइसकेका छन् । साउन १५ देखि खुलाउने गरी काम भइरहेको शाक्यले बताए । 

यस्ता छन् होटेलका स्वास्थ्य मापदण्ड 
होटेलमा पाहुना बसेको ७२ घन्टापछि मात्रै अर्काे पाहुना राखिनेछ । त्यस्तै रुम स्यानिटाइज गरिनेछ । पाहुनलाई एक्लाएक्लै खानाको व्यवस्था गरिनेछ । यसमा बफे सिस्टम केही समयका लागि खारेज गरिनेछ । यता पाहुनाले पनि मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ । साथै अन्य नियम पनि अनिवार्य पालना गर्नुपर्नेछ । स्विमिङ पुल बन्द गरिनेछ । त्यस्तै होटेलभित्र हुने अन्य गतिविधि पनि तत्काल खोलिने छैन । त्यस्तै क्यासिनो पनि खुल्ने छैन ।

एयरलाइन्सहरूले खोले बुकिङ   
सरकारले १ भदौदेखि आन्तरिक उडान खुलाउने निर्णयसँगै अन्तर्राष्ट्रिय र आन्तरिक एयरलाइन्सले टिकट बुकिङ खुला गरेका छन् । नेपाल वायुसेवा निगमले मलेसिया र दुबईको टिकट खुलाउने तयारी गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले पनि टिकट बुकिङ खुलाउने तयारी गरेका छन् । बुद्ध एयरले पनि  टिकट बुकिङ खुला गरेको छ । बुद्ध एयरले बुधबारदेखि सबै सेक्टरको टिकट बुकिङ गरेको छ ।