महान् विचारक कन्फ्युसियस एकपटक आफ्ना शिष्यहरूका साथमा लामो यात्रामा थिए । बाटोमा पर्ने कुनै एक गाउँमा पुगेपछि उनले त्यहाँ बसोवास गर्ने एउटा परिवारका एकजना निकै बुद्धिमान् बालकबारे थाहा पाए । त्यसपछि कन्फ्युसियसले उनीसित भेटघाट गरे । भेटघाटका क्रममा कन्फ्युसियसले ती बालकलाई सोधे– संसारमा मानिसबीच निकै असमानता र भेदभाव छ । यसलाई हामी कसरी हटाउन सक्छौँ ?
बालकले तुरुन्तै जवाफ दिए– यस्तो किन गर्नुपर्यो ? यसको के नै आवश्यकता छ र ? हामीले पर्वतलाई फुटाएर समथर बनाइदियौँ भने चराचुरुंगी कहाँ बस्लान् ? हामीले नदी र सागरलाई पुरिदियौँ भने माछा कसरी जीवित रहलान् ? विश्व यति विशाल र विस्तृत छ कि त्यसमाथि यी असमानता र विसंगतिको उसमाथि कुनै प्रभाव पर्नेछैन । ती बुद्धिमान् बालकको यस्तो जवाफ सुनेर कन्फ्युसियसका शिष्य निकै प्रभावित भए ।
उनीहरूले बालकको मुरीमुरी प्रशंसा गरे । तर, कन्फ्युसियसले गम्भीरतापूर्वक भने– मैले यस्ता निकै धेरै बालक देखेको छु, जो आफ्नो उमेर र क्षमताअनुसार खेलकुद र बालसुलभ गतिविधिमा मन लगाउनुको साटो संसार र संसारको गतिलाई बुझ्नतिर मन लगाउँछन् । तर, मेरो अनुभवअनुसार तीमध्ये कुनै पनि प्रतिभावान् बालकले जीवनमा एउटा पनि महत्वपूर्ण काम गर्न सकेनन् । किनकि, उनीहरूले आफ्नो बालापनको सरलता, चञ्चलता र सहज अनुत्तरदायित्वको कुनै अनुभव नै गरेनन् ।