मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ७ बुधबार ०७:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राहत, उद्धार र पुनर्निर्माणका लागि सरकारलाई नेकपाको ध्यानाकर्षण

पार्टीपंक्तिलाई स्वयंसेवक बन्न आह्वान,  एक साताका लागि बैठक स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ७ बुधबार ०७:५२:००

नेकपाले बाढीपहिरो र डुबानमा परेका पीडितको उद्धार, राहत र निःशुल्क उपचारका साथै अस्थायी घरवारविहीनलाई आवासको प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकले विशेष प्रस्ताव पारित गर्दै त्यस्तो ध्यानाकर्षण गराएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षतिग्रस्त सडक तथा पुल पनि तत्काल मर्मत गरी आवागमन चालू गर्न पनि आग्रह गरिएको बताए ।

‘प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकालाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालू गर्न आग्रह गर्दछ,’ बैठकपछि पारित प्रस्तावमा छ ।

त्यस्तै, बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीलाई प्राकृतिक विपत्तिका वेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान पनि गरेको छ । बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको छ । 

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि अहिलेको विशेष अवस्थामा सरकार र पार्टीपंक्ति बाढीपहिरो र डुबानबाट पीडितको राहत, उद्धार र पुनस्र्थापनामा जुट्नुपर्ने भएकाले बैठक एक सातापछि बस्ने गरी स्थगित गर्नुपरेको जानकारी गराएका थिए । सहमतिका लागि कोसिस जारी रहेको जानकारी गराउँदै ठोस प्रगति नभइसकेकाले अहिलेलाई राहत र उद्धारको काममा केन्द्रित हुने गरी १३ साउनसम्मका लागि बैठक स्थगनको प्रस्ताव राखेका थिए ।

बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन् । बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरेर साढे १ पछि मात्र सुरु भएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री अन्य काममै व्यस्त रहेकाले अनुपस्थित रहेको जानकारी दिँदै एकताको रक्षा र देशको आवश्यकता सम्बोधन गर्ने गरी सहमतिका लागि सकारात्मक गृहकार्य भइरहेको जानकारी दिए । ‘अहिलेको स्थितिमा सकारात्मक परिवर्तन हुने गरी सहमति हुन्छ,’ उनले भने । 

‘प्रचण्डलाई झुक्याएर राष्ट्रपतिकहाँ लगिएको होइन’ 

प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई झुक्याएर राष्ट्रपतिनिवास नलगेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यक्ष प्रचण्ड झुक्किएर राष्ट्रपतिनिवास नगएको बताए । ‘अध्यक्ष झुक्याएर लाने खालको हुनुहुन्न । सत्य के हो भने उहाँ जानुभएको हो, झुक्याउँदा झुक्किने र झुक्किएर जाने खालको हुनुहुन्न,’ श्रेष्ठले भने ।

गत आइतबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमै अर्ली महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने प्रस्तावप्रति अध्यक्ष प्रचण्ड सकारात्मक भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह उनीसँग सशंकित बन्दै आएको छ । बैठकलगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपतिनिवास पुगेपछि अर्ली महाधिवेशनबारे कुनै न कुनै प्रकारको सहमति भएको हुन सक्ने नेकपा वृत्तमा आशंका छ । 

पछिल्लो समय उनलाई साथ दिँदै आएको नेपाल समूह धेरै सशंकित बनेपछि विश्वस्त बनाउने कोसिस गर्दै आएका छन् । उता, अध्यक्ष ओली र उनीनिकट नेताहरू पनि प्रचण्डले ढुलमुले चरित्र देखाएको भन्दै सशंकित छन् । तर, प्रचण्डले भने छलफलका क्रममा प्रधानमन्त्रीका तर्फबाट त्यस्तो प्रस्ताव आए पनि आफू त्यसका पक्षमा नभएको भन्दै थप छलफलबाटै ठोस निकास आउने बताउँदै आएका छन् ।