मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १९:४४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

१५ साउनदेखि पर्यटन उद्योग खुलाउन मन्त्री भट्टराईको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १९:४४:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १५ साउनदेखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । मन्त्रिपरिषद्को बैठकले १५ साउनदेखि होटेल, ट्रेकिङलगायतका क्षेत्र र १ भदौदेखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न उनले आग्रह गरेका हुन् । 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्ड्यन, होटेल, ट्रेकिङलगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएकोसमेत बताए  । कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिलेदेखि नै तयारी गर्न मन्त्री भट्टराईको आग्रह गरे । उनले पर्यटकको संख्या बढाउनभन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरूलाई आग्रह गरे । कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधितकतम रूपमा भएको बताए । उनले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मौद्रिक नीतिले कोभिड– १९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको दाबी गरे । उनले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले मौद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरूलाई आग्रह गरे । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको सिवाकोटीले स्पष्ट पारे । उनले कोभिड– १९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको बताए । चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम आगामी चैतभित्र तिरेमा १० प्रतिशत छुट दिइएको बताए । 

यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाएको उनले बताए । सो छुट व्यवसायीले जुनसुकै समयमा तिर्दासमेत पाउने उनले स्पष्ट पारे । राष्ट्र बैंकले पर्यटन क्षेत्रका श्रमिकहरूको व्यवस्थापन हुने गरी नै विभिन्न समयमा कर्जा उपलब्ध गराउनेलगायतका नीति ल्याएको स्पष्ट पारे । 

कार्यक्रममा पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताए । उनीहरूले वैशाख, जेठ र असार महिनाको ब्याजदरमा दिइएको २ प्रतिशत छुटले केही राहत मिले पनि साउनयता ब्याजदरमा छुट नदिइएकाले किस्ता भुक्तानीमा समस्या आउने बताए ।