मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ६ मंगलबार १८:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रश्न– जोखिम भत्ता कहिले पाइन्छ ?

Read Time : > 1 मिनेट
२०७७ श्रावण ६ मंगलबार १८:५०:००

कोरोना संक्रमितको उपचारमा संलग्न भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोरोना संक्रमितको उपचारमा संलग्न सबै जनशक्तिलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरे पनि चार महिनादेखि आश्वासनको भरमा काम गर्नुपरेको उनीहरूको भनाइ छ । 

जोखिम भत्ता व्यवस्थापन आदेश, ०७७ बमोजिम सुरु तलब स्केलको ५० देखि शतप्रतिशतसम्म कर्मचारी र स्वास्थ्यकर्मीले भत्ता पाउनेछन् । ‘भत्ताको कुरै छाड्नुस् एक दिन बिदासमेत पाइएको छैन,’ कोरोना विशेष अस्पतालकी इन्चार्ज डा. शान्ति भुर्तेलले भनिन् । कोरोना विशेष अस्पतालका डाक्टर, नर्स, सरसफाइ कर्मचारीलगायत सबैले कुनै सुविधा नपाएको गुनासो गरेका छन् । हाल कोरोना विशेष अस्पताल बन्द अवस्थामा छ । 

चालू अवस्थामा रहेको भरतपुर अस्पतालमा पनि यो समस्या उस्तै छ । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीका लागि दुई साता क्वारेन्टाइन र एक साता छुट्टीको व्यवस्था निर्देशिकाले गरेको छ । तर, एक दिन पनि छुट्टी नलिई काम गरेको डा. भुर्तेलले बताइन् । ६४ दिनसम्म निरन्तर काम गरेको उनले बताइन् । कोभिड– १९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन ०७७ मा छुट्टीको अनिवार्य व्यवस्था रहेको छ । 

गर्भवती चिकित्सकले समेत छुट्टी पाएनन्
डा. रश्मी शर्मा गर्भवती छिन् । तैपनि उनले ४४ दिन लगातार कोरोना संक्रमितको उपचार गरेको बताइन् । उनले पनि हालसम्म कुनै भत्ता र सुविधा नपाएको बताइन् । डा. सुदीप राउत चीनको वुहान सहरबाट उद्धार भई नेपाल आएका थिए । आफू जोखिममुक्त भएपछि उनी कोरोना संक्रमितकै उपचारका लागि कोरोना विशेष अस्पतालमा हाजिर भए । सेवा पनि गरे । तर, अहिलेसम्म रित्तो हात रहेको उनको भनाइ छ । 

कोरोना विशेष अस्पतालमै कार्यरत डा. सुलभ सुवेदीले काजमा कोरोना विशेष अस्पताल गएको र पुनः पहिले कार्यरत अस्पतालमा फर्किएको बताए । सरकारले भत्ता उपलब्ध गराउने भनेको, तर हालसम्म नपाएकोमा उनले दुखेसो पोखे । कोरोना विशेष ल्याब इन्चार्ज रही तीन महिना काम गरेका चिनकाजी महर्जनले पनि सुविधा नपाएको बताए । ल्याबमै तीन महिना कार्यरत रुसन पियाले पनि सुविधा नपाएको गुनासो गरे । 

भरतपुर अस्पताल विकास समितिले भने अस्पतालमा कार्यरत सबैलाई २५ प्रतिशत भत्ता दिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । ‘केन्द्र सरकारबाट आउने पैसा आएको छैन,’ अध्यक्ष डा. अधिकारीले भने, ‘विकास समितिले दिन मिल्ने र बोलेको रकम दिइसकिएको छ ।’ 


सरकार जिम्मेवार भएन : कार्की
‘स्वास्थ्यकर्मीहरू दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेका छन् । तर, सरकारले यी स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सकेको छैन, हामीसँग पटकपटक उधारोमा सम्झौता मात्र हुने काम भएको छ,’ नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले भने । उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहार भए तर भत्ता वा सुविधा दिने कुराले प्राथमिकता नै नपाएको उनको भनाइ छ । 

देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेअनुरूप जोखिम भत्ता नपाएको गुनासो गरिरहँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कर्मचारीहरूले भने जोखिम भत्ता पाएका छन् ।