१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १४:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा स्थायी कमिटीको प्रस्ताव : राहत, उद्धार र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण, स्वयंसेवी बनेर परिचालित हुन पार्टीपंक्तिलाई आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १४:१९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले बाढी, पहिरो र डुबानमा परेका पीडितहरूको उद्धार, राहत र उपचारका साथै अस्थायी आवासको प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

मंगलबार केहीबेर बसेर सकिएको बैठकले विशेष प्रस्ताव पारित गर्दै त्यस्तो ध्यानाकर्षण गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘गत ३० जेठ गतेदेखि मनसुन सुरु भएयता देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण पीडित बनेकाहरूको उद्धार, राहतलाई प्रभावकारी बनाउन तथा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न, घरवारविहीन बनेकाहरूलाई आवासको प्रबन्ध गर्न, ध्वस्त सडक र पुलको अविलम्ब पुनर्निर्माण गर्न विशेष प्रस्ताव पारित गरेर बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ,’ श्रेष्ठले भने ।

त्यस्तै, पार्टी नेता, कार्यकर्ता, युवा, विद्यार्थी सबैलाई स्वयंसेवी भावनाका साथ उद्धार, राहत, पुनर्स्थापनालगायतको काममा परिचालित हुनसमेत आह्वान गरिएको उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि अहिलेको विशेष अवस्थामा सरकार र पार्टीपंक्ति बाढी, पहिरो र डुबानबाट पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा जुट्नुपर्ने भएकाले बैठक एक सातापछि बस्ने गरी स्थगित गर्नुपरेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओली भने बैठकमा उपस्थित थिएनन् । बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरेर साढे १ पछि मात्र सुरु भएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री अन्य काममै व्यस्त रहेकाले अनुपस्थित रहेको जानकारी दिँदै एकताको रक्षा र देशको आवश्यकता सम्बोधन गर्ने गरी सहमतिका लागि सकारात्मक गृहकार्य भइरहेको जानकारी दिए ।

‘अहिलेको स्थितिमा सकारात्मक परिवर्तन हुने गरी सहमति हुन्छ,’ उनले भने । अर्को बैठक साउन १३ गते  बिहान ११ बजे बालुवाटारमै बोलाइएको छ ।