Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ६ मंगलबार ०८:५०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बिपीले देखाएको मार्ग

Read Time : > 3 मिनेट
२०७७ श्रावण ६ मंगलबार ०८:५०:००

सन्दर्भ : बिपी स्मृति दिवस

अक्टोबर २, १९४६ मा नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाले पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिकामा ‘नेपालीसँग आधुनिक समयको चाहना पूरा गर्न आफ्नो संगठन नहुनु दु:खद’ भनेर लामो लेख लेखे । संगठनको औचित्य र अपरिहार्यता बुझेर उत्तिबेलै बिपीलाई संगठनको अभाव खट्किएको रहेछ । नेपाली कांग्रेसको स्थापना मुलुक रूपान्तरणका लागि गरिएको थियो । तर, आज कांग्रेसको सिद्धान्त, सोच र व्यवहार कहाँ छ ? के यही कांग्रेसले लोकतान्त्रिक समाजवादको सपना सकार पार्छ ? 

बिपीले संघर्षलाई सर्वोपरि ठाने । मुलुकको मुहार फेर्न उनले सशस्त्र क्रान्ति गरे । उदार लोकतन्त्रको अभ्यास गरे । असफल सशस्त्र विद्रोहको आदेश दिए । गान्धीवादी बाटो समाते । उनले जे–जे गरे, त्यो सबै लोकतान्त्रिक नेपालका लागि गरे । उनले अँगालेका ती सबैखाले संघर्ष उदार लोकतान्त्रिक शासन प्रणाली, स्वतन्त्र र भयरहित समाजका खातिर थियो । हुन त अहिले बिपीले चाहेकोभन्दा पनि अघि बढेर लोकतान्त्रिक गणतन्त्र नै प्राप्त भइसकेको छ । तर, चिनियाँ शासन प्रणालीतर्फ उन्मुख नेकपाको सरकारले नेपाली नागरिकको ठूलो संघर्षबाट प्राप्त उदार लोकतान्त्रिक संविधानकै मर्ममा प्रहार गरिरहँदासमेत कांग्रेस विरोधको शब्द उच्चारण गर्न नसक्ने गरी थला बसेको छ । कांग्रेस सिद्धान्तविहीन चरित्रका लागि निर्माण भएको थिएन । यो पार्टी प्रतिपक्षी सत्ताको लाचार छाया होइन, आवाजविहीन र कमजोर नागरिकको आवाज हुनुपर्ने हो । तर, कांग्रेस प्रतिपक्षीको धर्म निर्वाहमा समेत असफल किन छ ? बिपी, गणेशमान र सुर्वणशमशेरजस्ता आदर्श नेताको सपना बोकेको, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोजप्रसाद कोइराला, तेजबहादुर अमात्य, बुद्धसिंह राना, दुर्गानन्द झाजस्ता कैयाँैको बलिदानीबाट बनेको कांग्रेस के यही बेथितिका निम्ति हो ? कांग्रेसले न बिरासतको बि“डो थाम्न सकेको छ, न त संघर्षको साख नै बचाउन सकेको छ । 

अहिले प्रतिपक्षी कांग्रेसले उठाउनुपर्ने दर्जनाैँ मुद्दा थाती छन् । संविधानविपरीतको नागरिकता विधेयकदेखि कैयाैँ भ्रष्टाचारका मुद्दा असरल्ल छन् । इतिहासको गौरवशाली भारी बिसाएपछिको कांग्रेस सरकारका बेथितिमा मौन मात्र छैन, उल्टै भाग खोज्ने अवस्थामा पुगेको छ । राणाविरुद्ध क्रान्ति गर्न निर्माण गरिएको पार्टीमा आज राणाकै वर्गीय चरित्रबाहेक केही देखिन छोड्दै छ । प्रजातन्त्र र प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर पार्टी नेतृत्वलाई जेलको कालकोठरीमा कोचिएको हिजोको कहालीलाग्दो दिन वर्तमान कांग्रेस नेतृत्वले भुलिसकेको छ । चीनमा नेपालको संविधानले कल्पनासमेत गर्न नसक्ने एकदलीय शासन प्रणाली छ । तर, त्यही कम्युनिस्ट पार्टीबाट स्वयं प्रधानमन्त्री, मन्त्रीहरू उनको दलका नेतागण नेपालको शासनसत्ता कसरी सञ्चालन गर्ने भनेर प्रशिक्षण लिँदै छन् । अझ रोचक त के छ भने चिनियाँ सरकारको प्रयोजनमा उदार लोकतन्त्रको पक्षधर कांग्रेसका नेता–कार्यकर्ता सयर सपाटामा निक्लन्छन् र विकासको अनौठो गीत गाउँछन् । यसर्थ, सत्तासीन पार्टीको आन्तरिक किचलो सल्ट्याउन चिनियाँ राजदूतले धपेडी गरिरहँदा कांग्रेस टोलाएर बस्न बाध्य छ । यहाँनेर प्रश्न उठ्छ, मुलुकमा उदार लोकतन्त्रको जगेर्ना अब कसले गरिदिने ? आसन्न महाधिवेशन त्यो प्रस्थानबिन्दु बन्न सक्छ ।

अहिले प्रतिपक्षी कांग्रेसले उठाउनुपर्ने दर्जनाैँ मुद्दा थाती छन् । संविधानविपरीतको नागरिकता विधेयकदेखि कैयाैँ भ्रष्टाचारका मुद्दा असरल्ल छन् । इतिहासको गौरवशाली भारी बिसाएपछिको कांग्रेस सरकारका बेथितिमा मौन मात्र छैन, उल्टै भाग खोज्ने अवस्थामा पुगेको छ ।

महाधिवेशनको राप : पार्टीभित्रको आन्तरिक समस्या र बाह्य परिस्थिति हेर्दा निर्धारित समयमै चौधाैँ महाधिवेशन हुनेमा शंकै छ । किनकि झन्डै दर्जन जिल्लामा तहगत संरचना समायोजनकै काम टुंगिन बाँकी छ । तर, जिल्ला–जिल्लामा क्रियाशील सदस्यताको फारम पुगेसँगै नेतृत्वबारे जोड–घटाउ भने सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा नेकपामा फुट आए एउटा धार समाएर सरकारमा पुग्दा महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्न सकिने दाउमा छन् । यसका लागि देउवाका दूतहरूको सत्तासँग बाक्लै संवाद भएका पनि छन् । यही कारण प्रधानमन्त्री ओलीका हदैसम्मका गैरजिम्मेवार अभिव्यक्तिसमेत देउवाले सुनेनन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका स्वाभाविक दाबेदार हुन् । तर, उनको साँघुरो सोच उनकै लागि बाधक हुने देखिँदै छ । उदारता देखाउन नसकेकै कारण उनलाई पन्छाउन गुटका सबै उद्यत देखिन्छन् । र, पौडेल समूहका प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला पनि सभापतिका आकांक्षी हुन् । त्यसैले उनलाई नेताहरूको व्यवस्थापन गर्न हम्मे पर्नेछ । पौडेल र सिटौला समूहबीच सहमति भए देउवा उम्मेदवारीबाट हच्किन सक्छन् । त्यसो भएमा उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबी गर्लान् । देउवाले उम्मेदवारी नदिँदा पौडेलमाथि पनि सभापतिमा उम्मेदवारी नदिन दबाब पर्छ । सिटौला केन्द्रदेखि प्रदेशसम्म टिमै खडा गरेर प्रतिस्पर्धामा होमिने तयारीमा देखिन्छन् । सभापतिमा निर्वाचित भएपछि देउवाले सिटौलालाई खासै वास्ता गरेका छैनन् । पौडेल पनि सिटौलाप्रति अनुदार नै छन् । दुवै गुटसँग सुमधुर सम्बन्धको सम्भावना नदेखेका सिटौला संगठन समाप्त हुँदै गएको र मुलुक वामपन्थीको कब्जाउन्मुख भएकाले पार्टीमा मुकाबिला गर्न सक्ने नेतृत्वको आवश्यकता औँल्याइरहेका छन् । उनले आफ्नो पुरानो टिमलाई विस्तार गरी महाधिवेशनमा होमिन सम्पर्क कार्यालय खोलिसकेका छन् ।

कांग्रेसमा दुई महामन्त्रीका लागि डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय गगनकुमार थापा र डा. मिनेन्द्र रिजालको नाम अहिले चर्चामा छ । सह–महामन्त्रीको हैसियतले चौधाैँ महाधिवेशनमा महामन्त्रीमा प्रकाशशरण महतको दाबी स्वाभाविक देखिन्छ । तर, देउवाले गुटका पुरानै सदस्यमध्येबाट नरोजी पौडेल वा सिटौला समूहबाट कसैलाई तान्न सक्ने सम्भावना पनि छ । पछिल्लो समय देउवागुटनजिक पुगेको ठानिएका विश्वप्रकाशलाई गुटका रैथानेले सहजै स्विकार्ने अवस्था छैन । पार्टीमा प्रभावशाली नेताका रूपमा स्थापित तथा अघिल्लैपटक महामन्त्रीमा उम्मेदवारी दिएका गगनलाई भने यसपालि महामन्त्रीमा उम्मेदवारी र जित चुनौतीपूर्ण देखि“दैन । पौडेल उनलाई तान्न प्रयासरत छन् तर सिटौलाले सभापतिमा उम्मेदवारी दिए भने गुट छाड्न उनलाई गाह्रो हुनेछ । अर्का आकांक्षी डा. रिजाल शशांकलाई सभापतिमा उठाएर महामन्त्रीमा आफू उम्मेदवारी दिने दाउमा छन् । 

डा. शशांकलाई सभापतिको उम्मेदवार हुनबाट रोक्न सक्दा पौडेललाई पनि रोक्न सकिने डा. शेखरको आकलन छ । पौडेल र सिटौलागुट मिल्न नदिँदा आफैँ सभापतिमा दोहोरिने देउवाको बुझाइ हो । उता गुटमा सर्वसम्मति भए देउवालाई हराएर कांग्रेस सभापति बनेको इतिहास रचिनेमा पौडेल आशावादी छन् । सिटौला दुवैलाई रोक्न सके पार्टीलाई वैचारिक रूपमा सबल र कम्युनिस्टको वेग रोक्न सक्ने बनाउन सकिने ठान्छन् । यिनै रस्साकस्सीबीच कांगे्रसमा महाधिवेशनको माहोल बन्दै गएको छ । तर, सिद्धान्तविहीन र आदर्शबाट च्यूत हुन पुगेको कांग्रेस कसरी पुनर्जीवित होला र उदारवादी लोकतन्त्रको फराकिलो आँगनमा पुग्ला, त्यो भने अझै अन्योल नै देखिन्छ । जुन रस्साकस्सी आसन्न महाधिवेशनलाई लिएर चलेको देखिँदै छ, कम्तीमा त्यसले कांग्रेसको पुनर्जीवनकोे सम्भावना देखाउँदैन । लोकतान्त्रिक अजेन्डाहरूमा कांग्रेसको व्यवहारले नै गन्तव्यलाई देखाउने हो । 

बिपी स्मृति दिवसका सन्दर्भमा यति मात्र भन्न सकिन्छ– कांग्रेसले आगामी महाधिवेशनमा परिवर्तनको झन्डा उठाओस् । यथास्थितिबाट अघि बढेर समयानुकूल नेतृत्वको चयन गरोस् । र, बिपीले देखाएको आदर्श र मार्गमा चलोस् । लोकतन्त्रमार्गीको भविष्य कहिल्यै अन्धकार हुँदैन । अन्यथा, यथास्थितिमै रुमल्लिए प्रजापरिषद् हुँदै विसर्जनको मार्ग तय हुनेछ । 

[email protected]