१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १०:३०:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

लकडाउनका बीच एक वर्षमा चार खर्बको लगानी स्वीकृत

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १०:३०:००

लगानी बोर्डले २ खर्ब ५५ अर्ब र उद्योग विभागले १ खर्ब ५० अर्बको लगानी स्वीकृत गरेका हुन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ अर्ब रुपैयाँले बढी हो ।

कोरोना संक्रमणको जोखिम र लकडाउनका बीच सरकारले गएको आर्थिक वर्ष निजी क्षेत्रका ४ खर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ अर्ब रुपैयाँले बढी हो । 

लगानी बोर्ड र उद्योग विभागबाट आर्थिक वर्ष ०७६/७७ मा जलविद्युत्, सोलार, सिमेन्ट उद्योग, होटेल, स्टिल, औषधि उद्योगलगायत क्षेत्रमा आएको ४ खर्ब ५ अर्ब ९९ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको हो । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार ६ अर्ब रुपैयाँसम्मको लगानी विभागले स्वीकृत गर्छ । त्यसभन्दा बढीको लगानीलाई बोर्डले स्वीकृत गर्छ । यसअनुसार बोर्डले गत आवमा १० परियोजनामा आउने २ खर्ब ५५ अर्ब २९ करोड ३२ लाख रुपैयाँको लगानी स्वीकृत गरेको हो । त्यस्तै, उद्योग विभागले १ खर्ब ५० अर्ब ६९ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ ।  

अघिल्लो आर्थिक वर्ष बोर्डले ७१ अर्ब रुपैयाँ बराबरको लागनीमात्र स्विकृत गरेको थियो । विभागले भने २ अर्ब ८३ अर्ब २५ करोड रुपैयाँ गरी कुल ३ खर्ब ५४ अर्ब रुपैयाँकोमात्र लगानी स्विकृत भएको थियो ।  

विभागले स्विकृत गरेको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब ३३ अर्ब रुपैयाँले कम हो भने लगानी बोर्डले स्विकृत गरेको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २ खर्ब ६२ अर्ब रुपैयाँ बढी हो ।  

सरकारले गरेका क्रमिक सुधार र उद्योगी–व्यवसायीमा बढेको उत्साहले गएको वर्षमा उल्लेखनीय दरमा लगानी बढेको उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । ‘लगानीका लागि गरिएको कानुनी तथा संरचनागत सुधारका कारण नेपालमा व्यवसायको अनुकूल वातावरण बनिरहेको छ, डुइङ बिजनेस इन्डेक्समा पनि सुधार आएर हामी १४औँ स्थानमा उक्लिएका छौँ,’ उनले भने, ‘कोरोना महामारीले यस वर्ष चुनौती थपेको छ, तर अझ लगानी बढ्ने हाम्रो अपेक्षा छ ।’

यस्ता स्वीकृत परियोजना
गत आवमा बोर्डले ८ जलविद्युत् परियोजना र २ सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको हो । बोर्डको ५ असार ०७७ मा बसेको बैठकले ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ का लागि ८७ अर्ब ८५ करोडको लगानी स्वीकृत गरेको छ । 

त्यस्तै, ४२ दशमलव ९ मेगावाटको आँखु खोला हाइड्रोपावर परियोजनाको ६ अर्ब ३० करोड,  ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला हाइड्रोपावरको १० अर्ब ३१ करोड, ९७ दशमलव २ मेगावाटको इसुवा खोला हाइड्रो इलेक्ट्रिक परियोजनाको १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाटको कालीगण्डकी गोर्गे हाइड्रोपावर परियोजनाका लागि २८ अर्ब ६ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको हो । दाङ सिमेन्ट इन्डस्ट्रिज  परियोजनाका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोडबराबरको लगानी स्वीकृत भएको छ । त्यसअघि २२ माघ ०७६ को बोर्ड बैठकले ५० मेगावाटको मस्र्याङ्दी बेँसी जलविद्युत्का लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ, अपर त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका लागि ८ अर्ब २२ करोड र अपर त्रिशूली १ जलविद्युत् आयोजनाका लगि ६४ अर्ब ७४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको थियो ।  

२ सय ५७ उद्योगमा साढे १ खर्बको लगानी
यस अवधिमा विभागमा २ सय ५७ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको कुल लगानी १ खर्ब ५० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । विभागले लगानी स्वीकृत गरेका उद्योगमध्ये ५७ वटा ठूला, १ सय २३ वटा मझौला र ९५ वटा साना रहेका छन् । यी उद्योगले १७ हजार ३ सयलाई रोजगारी दिनेछन् । औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार १० करोडसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग भनिन्छ । त्यस्तै, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला उद्योग भनिन्छ । यस अवधिमा विभागले विदेशी लगानी रहेका २ सय २६ उद्योगका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

लगानीका चुनौती 

कोरोना महामारीले विश्व नै आक्रान्त बनिरहेको अहिलेको अवस्थामा स्वदेशी तथा विदेशी लगानी बढाउन चुनौतीपूर्ण हुने उद्योगी–व्यवसायी बताउँछन् । तर, चुनौतीलाई चिरेर लगानी बढाउन सकिने अवसरसमेत रहेको वरिष्ठ उद्योगी तथा औद्योगिक घराना सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाको भनाइ छ । ‘अहिले विश्वभर नै लगानीको वातावरण खलबलिएको छ, चीनबाट धेरै विदेशी लगानी बाहिरिन थालेको छ,’ उनले भने, ‘हामीले सस्तो विद्युत्, न्यून ब्याजदर र सस्तो तथा सुमधुर श्रम सम्बन्ध बनाउन सकेमा चीनबाट बाहिरिएको लगानी नेपाल भित्र्याउन सकिन्छ ।’ सरकारले पनि चुनौतीकै बाबजुद लगानी प्रवर्द्धन तथा आकर्षणको काम गरिरहेको सचिव घिमिरेले बताए । खासगरी ऊर्जा, खानीजन्य, कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी बढ्ने अपेक्षा गरेको उनले बताए । 

तीन सुधार गर्न सके प्रशस्त लगानी भित्रिन्छ : शिवरतन सारडा
अध्यक्ष, सारडा ग्रुप

स्वदेशी तथा विदेशी लगानीका लागि सबैभन्दा पहिला अनुकूल वातावरण हुनुपर्छ, अहिले नेपालमा अनुकूल वातावरण छ, कतिपय सुधार पनि भइरहेकै छ । अब मुख्य तीनवटा काम गर्न सकेमा प्रशस्त लगानी भित्रिन्छ । पहिलो, नेपालले विद्युत् महसुल दर घटाउनुपर्छ, उद्योगलाई कम मूल्यमा विद्युत् दिनुपर्छ । दोस्रो कुरा, पुँजी सहजै पाउने अवस्था बनाउनुपर्छ, त्यो भनेको ब्याजदर एकल बिन्दुमा हुनुपर्छ, कमसेसम्म कर्जाको ब्याजदर ५ प्रतिशतमा झार्नुपर्छ । तेस्रोचाहिँ श्रम सम्बन्ध सुमधुर र सस्तो हुनुपर्छ । यी तीन काम गर्न सके प्रशस्त मात्रामा स्वदेशी तथा विदेशी लगानी बढ्छ । 

व्यावसायिक वातावरण बन्दै गएकाले अझ लगानी बढ्छ : चन्द्रकुमार घिमिरे
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

गएको वर्ष स्वदेशी तथा विदेशी लगानीको वृद्धि उत्साहप्रद नै देखिएको छ, चालू आवमा अझ बढ्ने अपेक्षा गरेका छौँ । सरकारले लगानी प्रवद्र्धनमा क्रमिक सुधार गरिरहेकै छ । कानुन तथा संरचनागत सुधार क्रमिक रूपमा भइरहेको छ । औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएका छौँ, नियमावली ल्याउँदै छौँ । बौद्धिक सम्पत्ति ऐन र खानी ऐन पनि छिट्टै ल्याउँछौँ । हामी गत वर्ष डुइङ बिजनेसमा १४ स्थान सुधार गर्दै ९०औँ स्थानमा पुगेका छौँ । यसमा अझ माथि जाने अपेक्षा छ ।