Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण ६ मंगलबार ०५:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वदेशमा उत्पादित औषधि नकिन्ने, विदेशबाट भने नियमित खरिद गर्ने

Read Time : > 2 मिनेट
२०७७ श्रावण ६ मंगलबार ०५:५३:००

देशमै उत्पादन गरेको औषधि र स्वास्थ्य सामग्रीलाई प्रोत्साहन गर्नु सट्टा निरुत्साहित गरेको भन्दै औषधि उद्योगी आन्दोलित

 

नेपालमा उत्पादन भएका औषधि र स्वास्थ्य सामग्रीको बेवास्ता गर्दै सरकारले निरन्तर रूपमा विदेशबाट खरिद गर्दै आएपछि औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएको छ । संघले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन प्रतिबन्ध लगाउन माग गर्दै २९ असारदेखि आन्दोलन थालेको हो । कोरोना भाइरसको महामारीका वेला उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर नेपाली उद्योगीले आफैँले उद्योग खोलेर उत्पादन गर्न थाले पनि स्वदेशी उत्पादन प्रयोग नगरेर सरकारले विदेशबाट नियमित खरिद गरेपछि औषधि उत्पादक संघ विरोधमा उत्रिएका हुन् । 

सरकारको यस्तो निर्णयले नेपाली कम्पनीलाई निरुत्साहित गरेको औषधि उत्पादन क्षेत्रका विज्ञहरू बताउँछन् । विदेशी कम्पनीहरूको प्रलोभनमा परेर औषधि व्यवस्था विभागले स्यानिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेपछि नेपाली उद्योगी झन् आक्रोशित बनेका छन् । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई बेवास्ता गर्दै विदेशी कम्पनीको हितमा काम गर्नुले औषधि व्यवस्था विभागको नेतृत्वमाथि प्रश्न उठेको उनीहरूको भनाइ छ । 

औषधि उत्पादन संघका पूर्वमहासचिव प्रज्वलजंग पाण्डे नेपालीलाई पुग्ने औषधि स्वदेशमै उत्पादन भइरहे पनि सरकारले त्यसको बेवास्ता गरेको बताउँछन् । लकडाउनमा पनि स्वदेशी उत्पादक कम्पनीले कुनै पनि प्रकारको औषधि अभाव हुन नदिएको तर सरकारले भने विदेशबाट खरिद गर्दै आएको उनले बताए । बाहिरबाट आएका गुणस्तरहीन र दर्ताविनाका औषधि आमनेपालीले सेवन गरिरहेको भन्दै यसलाई रोक्न पाण्डेले सरकारसँग माग गरे । उनका अनुसार हाल मास्क, पिपिई सेट, कस्मेटिक सामग्री, खाद्य परिपूरकलगायतका सामग्री आवश्यकताअनुसार स्वदेशमै उत्पादन भइरहेको छ । तर, सरकारले आफूहरूलाई उत्पादन अनुमति र प्रोत्साहन नदिएको उद्योगीहरूको भनाइ छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वव्यापी रूपमा देखापरेको कोभिड महामारीको समयमा भारतले २६ प्रकारका अत्यावश्यक औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसको असर नेपालमा पनि प-यो । तर, स्वदेशी उद्योगहरूले आफैँले औषधि उत्पादन गरे । चरम संकटका वेला मागअनुसार बजार धानेका उद्योगीहरूलाई निरुत्साहित गरी औषधि व्यवस्था विभागले भारतीय कम्पनीको हितमा काम गरेपछि चर्को विरोध सुरु भएको हो । सरकारले स्यानिटाइजर, पिपिई, मास्कको विश्वव्यापी रूपमा चरम अभाव झेलेपछि नेपाली उद्योगहरूले करोडौ रुपैयाँ लगानी गरेर मास्क कम्पनी, ४० वटा स्यानिटाइजर बनाउने कम्पनी दर्ता गरेर उत्पादन गरिरहेका छन् । उत्पादित सबै सामान विश्व स्वास्थ्य संगठनले दिएको मापदण्डभित्रै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मुलुकमा सबैभन्दा बढी अभाव भएको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भाँडो (भिटिएम) हो । भिटिएम अभाव पूर्ति गर्न बारामा रहेको एभरेस्ट कम्पनीले महिनौँ लगाएर उत्पादन सुरु गरेको छ । सो कम्पनीले उत्पादन गरेको भिटिएम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत विश्वस्तरको भनी परीक्षण गर्न उपयुक्त भएको सुझाब दिएको छ । तर, सरकारले भने अझै औपचारिक रूपमा प्रयोगको स्वीकृति दिएको छैन । अरूले किनेर सहयोग गरेको भिटिएम लिने, तर स्वदेशी उत्पादन नकिन्नुले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसमेत शंकाको घेरामा परेका छन् । 

नेपालमा २०२९ सालमा औषधि उत्पादन सुरु भएको थियो । औषधि व्यवस्था विभागका अनुसार हाल ६३ वटा कम्पनीले एलोपेथिक औषधि उत्पादन गर्दै आएका छन् । दुई दर्जन कम्पनी सञ्चालनको प्रक्रियामा छन् । मुलुकभर माग हुने औषधिको ५० प्रतिशतभन्दा बढी स्वदेशी उत्पादनले पूरा गर्दै आएको पाण्डे बताउँछन् । अबको दुई वर्षमा मुलुकलाई आवश्यक पर्ने ९५ प्रतिशत माग नेपाली उद्योगले पूरा गर्न सक्ने व्यवसायीहरू बताउँछन् । नेपाली औषधि उद्योगमा ५५ अर्ब बराबरको लगानी छ । 

थप एक सय ८६ नयाँ संक्रमित पुष्टि
देशमा सोेमबार एक सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् । चार हजार दुई सय १६ को पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । २४ घन्टामा एक सय ७३ जना निको भएर घर फर्किएका छन् ।

मुलुकमा संक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगेको छ । त्यसमध्ये ११ हजार आठ सय ६८ जना निको भएर घर गइसकेका छन् । हाल पाँच हजार नौ सय ३६ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुुसार संक्रमितमध्ये ४० जनाको मृत्यु भइसकेको छ ।

नेपालका ९९ प्रतिशतभन्दा धेरै कोरोना भाइरस संक्रमितमा कुनै पनि लक्षण नभएको चिकित्सकहरूले बताएका छन् । मन्त्रालयको तथ्यांकअनुसार २२ हजार दुई सय २८ जना क्वारेन्टाइनमा बसेका छन् । भारतबाट घर फर्किने मानिसको संख्या घट्दै गएकाले संक्रमण दर घटेको र परीक्षण पनि कम भएको हो ।