मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डोनाल्ड अर्ल कोलिन्स
२०७७ श्रावण ६ मंगलबार ०५:२६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी नश्लवादको भार 

Read Time : > 2 मिनेट
डोनाल्ड अर्ल कोलिन्स
२०७७ श्रावण ६ मंगलबार ०५:२६:००

आफूलाई श्वेत चस्माले हेर्ने कि आफ्नै नांगो आँखाले भन्ने अन्तद्र्वन्द्वमा अश्वेत र आदिवासी समुदाय रुमल्लिएका छन्

अमेरिकी नश्लवाद काला, आदिवासी एवं अन्य अश्वेत (पिपुल्स अफ कलर्स) माथि यसरी गह्रुँगो भार बनेर बसेको छ कि उनीहरू त्यहीँ दबेका छन् । चाहे ती अफ्रिकी अमेरिकी, ल्याटिन अमेरिकी, ब्राजिलियन, क्यारेवियन वा कहीँका काला किन नहुन्, उनीहरूको अवस्था र नियति यहाँ उस्तै छ । समुद्री सतहको प्रतिवर्गइन्चमा वायुमण्डलको भारले १४.७ पाउन्डको दबाब पार्छ । अर्थात् हेरक वर्गसेन्टिमिटरमाथि एक किलोको दबाब परेको हुन्छ । वायुमण्डलको दबाबजस्तै प्रत्येक काला, आदिवासी र अश्वेत व्यक्तिको शरीर, मस्तिष्क र आत्माको प्रत्येक वर्गइन्चमा अमेरिकी श्वेत सर्वाेच्चता र नश्लभेदको भारले थिचेको छ । अमेरिकी श्वेत सर्वाेच्चता र नश्लवादले उनीहरूलाई यसरी थिचेको छ कि अश्वेतहरू प्रत्येक क्षण १० मिटर गहिरो पानीमुनि भएको अनुभूत गर्छन् । जसले अधिकांशलाई बिस्तारै पिँधमा धसाइदिएको छ या बाहिर उछिट्याइदिएको छ । उनीहरूलाई अमेरिकी नश्लभेदको भारले गर्भदेखि मृत्युसम्मै किचिरहन्छ । यसको भार चरम अश्वेत–पुरुषत्व एवं ल्याटिनी पितृसत्ताको वजनभन्दा कति हो कति गहुं्रगो छ । यो न सामाजिक तथा आर्थिक परिचालनले निमिट्यान्न हुन सकेको छ, न त शैक्षिक जागरणले यसमा कुनै परिवर्तन ल्याउन सकेको छ । यो रक्सी, लागुऔषधको नशाभन्दा पनि गहिरो गरी हामी सबैभित्र समाहित हुन पुगेको छ । यो सम्मानको राजनीति र असल कामले पनि प्रतिस्थापित हुन सक्नेछैन, जबसम्म अश्वेत रहन्छन्, यो विभेदको दबाब सधैँ रहिरहनेछ । 

यसले अश्वेतको मांसपेशी र छालालाई धुजा–धुजा पारेको छ । हाड र हाडभित्रको मासीलाई पिसेर पिठो बनाइदिएको छ । न्युरोन र रक्तनलीलाई यसले चुँडालिदिएको छ । र, अधिकांशलाई चिन्ताग्रस्त अवस्थामा उभ्याइदिएको छ । आखिर, कुन मानव जीवनभर आक्रमण र दमनको भयबाट ननिदाइरहन सक्छ र ? सन् १९७७ मा सात वर्षको उमेरमा जब मैले पहिलोपटक रुट्स नामको एउटा छोटो शृंखला हेरेँ, त्यसयता ४३ वर्षदेखि म कालो पुरुषको उकुसमुकुस जीवन व्यतीत गरिरहेको छु । त्यसयता, सधैँ नश्लभेदको वजनले मलाई किची नै रहेको छ । सन् १९९९ मा जब म एउटा सम्मेलनमा प्रस्तुतिका लागि अमेरिका छाडेर टोरेन्टो गएँ र सन् २००१ म अलास्का पुगेँ, त्यसवेला मात्रै मैले त्यो भार र दबाबबाट आफू मुक्त भएको महसुस गरेँ । 

प्रत्येक काला, आदिवासी र अश्वेतको शरीर, मस्तिष्क र आत्माको प्रत्येक वर्गइन्चमा अमेरिकी श्वेत सर्वाेच्चता र नश्लभेदको भारले थिचेको छ । अमेरिकी श्वेत सर्वाेच्चता र नश्लवादले उनीहरूलाई यसरी थिचेको छ कि अश्वेतहरू प्रत्येक क्षण १० मिटर गहिरो पानीमुनि भएको अनुभूत गर्छन् ।

सधैँ थिचिरहने त्यो भारबाट उत्सर्जित नैराश्य, प्रतिशोधपूर्ण क्रोध र चिडचिडाहटले मेरा उपलब्धिहरू कहिल्यै पनि पर्याप्त राम्रा हुन सकेनन्, जुन अमेरिकामा कालो हुनुको नियति हो । यो भार र दबाब करोडौँमाथि एकनास घोप्टिरहेको छ र यसले अश्वेतको आयु पनि घटाइदिएको छ । यसले जीवनलाई गुणस्तरीय बन्न दिइरहेको छैन । यसैले हामीलाई तनाव, उच्च रक्तचाप, क्यान्सर एवं डायबेटिजको विषाक्त मेनु पस्किदिएको हो । बिआइपिओसीको झिनो प्रतिशत जो अमेरिकी कुलीनसँगै उभिएका छन्, उनीहरूलाई पनि असुरक्षा र हीनताको ग्रन्थीले सधैँ घोचिरहन्छ । यो हाम्रो टाउकोभित्र गुञ्जिएको काल्पनिक चिच्याहट भने होइन । हामीलाई समाजले दिनहुँ तिमी बाहिरिया हौ भन्ने सन्देश दिइरहन्छ । अश्वेत विद्यार्थीले जब कुनै कुलीनको विश्वविद्यालयबाट स्वीकृतिपत्र पाउँछ, त्यो उसले नश्लका कारण पाएको ठान्दै उसको उपलब्धिलाई तिरस्कारपूर्ण नजरले हेरिन्छ । यस्तै झिनामसिना आक्रमणले अश्वेत आफ्नो अर्थवत्ता मापन गर्न श्वेतदृष्टि खोज्ने अवस्थामा पुगेका छन् । जसका कारण प्रत्येक क्षण संघर्षमय बन्न पुगेको छ । आफूलाई श्वेत चस्माले हेर्ने कि आफ्नै नांगो आँखाले भन्ने अन्तद्र्वन्द्वमा यो समुदाय रुमल्लिएको छ । जातिवाद, रंगभेद, स्त्रीद्वेष र आत्मसम्मोहनबीचको घालमेलले अधिकांश अश्वेत एवं आदिवासी पुरुषलाई जातिवादी, घरेलु हिंसापीडक, बलात्कारी बन्न प्रेरित गरिरहेको छ । के यो थोपरिनु अमानवीयताको पराकाष्ठा होइन ? त्यसैले अश्वेत र आदिवासी महिला गरिबीका थुप्रै मोर्चामा एक्लिन पुगेका छन् । 

अफ्रिकन प्रवासी र आदिवासी शताब्दीयौँदेखि यो दलनको प्रतिरोधमा छन् । उनीहरूले आफूलाई स्वतन्त्र गरी दासताको प्रतिरोध गरेका छन् । त्यसैले, बचेखुचेको अफ्रिकी लोकपरम्परालाई संगीत, प्रार्थना, परिवार, औषधि र खानामा जोडेर सांस्कृतिक हरणविरुद्ध लडिरहेका छन् । नागरिक अधिकारको आन्दोलन, आत्मसम्मान, अफ्रिकीवादजस्ता आन्दोलन निर्माण गरेर जिम क्रो (रंग एवं जातिभेदी कानुन)विरुद्ध उनीहरू उभिएका छन् । सीमान्तीकरण, गैरकानुनी हत्या, व्यवस्था कायम गर्ने नाममा गरिने हत्या, बलात्कार, ज्यालाविभेदसँग पनि यो समुदाय लडिरहेको छ । र, आफ्नै खुट्टामा उभिएर प्रदर्शन गर्दै, आफ्नो स्वतन्त्रता र खुसीका लागि अवसरको खोजीमा एकपछि अर्काे अमेरिकी सहर भौँतारिइरहेका छन् । तर, मार्कस गार्भीदेखि, मेल्कम एक्स, मार्टिन लुथर किंगदेखि असाताश कुरसम्मका संगठित प्रतिरोधले दमन, जेलनेल, हत्या र निर्वासनको सामना गरेको छ । यस्तो दबाब हटाउन कहिलेसम्म पर्खिनुपर्ने हो ?

(कोलिन्स अमेरिकी विश्वविद्यालय वाशिङटन डीसीमा इतिहासका उप–प्रध्यापक हुन्)
अलजजिराबाट