मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ५ सोमबार १८:११:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

मेसीले रचे ला लिगामा इतिहास

Read Time : > 2 मिनेट
२०७७ श्रावण ५ सोमबार १८:११:००

लियोनल मेसीले कप्तानीका रूपमा बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि दिलाउन सकेनन् । बार्सिलोना उपाधिविहीन भए पनि मेसीले व्यक्तिगत रूपमा यसपटक पनि सफलता चुमेका छन् । उनी सातौँपटक ला लिगाकै सर्वाधिक गोलकर्ता बने । आइतबार राति ला लिगाकै अन्तिम चरणका खेल भए । बार्सिलोनाले आल्भेसमाथि ५–० को सानदार जित निकाल्यो । यस खेलमा कप्तान मेसी दुई गोल गर्दै सातौँपटक ला लिगाकै सर्वाधिक गोलकर्ता बने । 

 

 

चोटका कारण मेसीले लिगको सुरुवाती  खेल गुमाए । उतारचढाव प्रदर्शनका साथ लिगा अन्त्य गरेका मेसीले ३३ खेलमा २५ गोल गरेका छन् । चोटका कारण उनले पाँच खेल गुमाएका छन् । मेसीले लिग च्याम्पियन रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमाभन्दा चार गोल बढी गरेका छन् । बेन्जिमाले लगातार उत्कृष्ट प्रदर्शन गरी विपक्षीको पोस्टमा २१ गोल दन्काएका छन् । 

लिगको ३८औँ चरणको खेलमा रियल लेगानेससँग २–२ को बराबरीमा रोकियो । यद्यपि यस बराबरीले रियललाई केही समस्या भएन । रियललाई तीन वर्षपछि ला लिगा उपाधि दिलाउन प्रमुख भूमिका निर्वाह गरेका बेन्जिमा लेगानेसविरुद्ध गोल गर्न असफल भए । २०१९–२० को सिजनमा मुख्यत मेसी र बेन्जिमाबीच नै सर्वाधिक गोलकर्ताको होडबाजी चल्यो । 

बेन्जिमा अन्तिम खेलमा चुक्दा मेसी बाजी मार्न सफल भए । यसअघि मेसी र टेल्मो जाराबीच सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी थियो । सन् १९५३ मा टेल्मोले सर्वाधिक ६ पटक गोलकर्ताको उपाधि जितेका थिए । अब ला लिगामा मेसीको नाममा नयाँ रेकर्ड रहनेछ । लगातार चार सिजनमा सर्वाधिक गाेलकर्ता खेलाडीको बराबरी मेसीले गरेका छन् । उनले यो रेकर्ड हुगो सान्चेजसँग बराबरी गरेका हुन् । 

व्यक्तिगत रूपमा अन्तिम दिनमा कीर्तिमान रचे पनि मेसी त्यति खुसी भएनन् । मेसीले व्यक्तिगत सफलता सधैँ दोस्रो प्राथमिकतामा रहने बताएका छन् । मेसी भन्छन्, ‘व्यक्तिगत रूपमा प्राप्त हुने सफलतालाई दोस्रो दर्जाका रूपमा लिने गरेको छु् ।’ ला लिगा उपाधिसहित व्यक्तिगत रेकर्ड बनाउन पाउँदा अत्यधिक खुसी हुने उनले बताए । भन्छन्, ‘मेरो चाहना उपाधिसहित लिग सकाउनु थियो, तर पूरा भएन ।’ 

मेसीले लगातार तेस्रोपटक असिस्टको रेकर्ड पनि बनाएका छन् । उनले यो सिजनमा २१ पटक साथीहरूलाई गोल गर्न पास उपलब्ध गराए । उनले बार्सिलोनाकै पूर्वखेलाडी सावी हर्नान्डेजको रेकर्ड तोडे । सन् २००८/०९ को सिजनमा सावीले सर्वाधिक २० गोलको असिस्ट गरेका थिए । मेसीले अल्भेसविरुद्धको प्रतिस्पर्धामा फाटीलाई गोलका लागि अवसर सिर्जना गराएका थिए । 

कोरोना भाइरसपछि सुचारु ला लिगामा मेसीले करिअरकै सात सय गोल पूरा गरे । ३० जुनमा उनले व्यक्तिगत सात सय गोल पूरा गर्दा विश्वकै सातौँ खेलाडी बने । मेसीले बार्सिलोनाबाट ६ सय ३० तथा अर्जेन्टिनाबाट ७० गोल गरेका छन् । गत साता रियल म्याड्रिडलाई उपाधि सुम्पिएपछि आक्रोसित बनेका मेसी आल्भेसविरुद्धको फराकिलो जितमा खुसी देखिए । स्पेनिस ला लिगा उपाधि गुमाउँदा मेसीले टोलीमा व्यापक परिवर्तन हुनुपर्ने र सबै खेलाडीले मिहिनेत गर्नुपर्ने बताएका थिए । 

ला लिगा सुचारु हुँदा बार्सिलोनाको प्रदर्शन एकनास भएन । लिग रोकिँदा अंक–तालिकामा बार्सिालोना रियल म्याड्रिडभन्दा अगाडि नै थियो । तर, सुचारु भएपछि बार्सिलोनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन । यसविपरीत जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले लगातार दश खेलमा जित निकाली उपाधिमाथि कब्जा जमायो । 

मेसीले उपाधि गुमे पनि खेलाडीको प्रदर्शन एकनास हुनुपर्ने पक्षमा जोड दिएका छन् । उनी भन्छन्, ‘आजको दिन फरक पाएँ, सबै खेलाडी संगठित भए, सबैका मनोभावना छन् अहिले हामी शान्त भएर बस्नुपर्छ, किनभने आउँदा दिनमा च्याम्पियन्स लिग खेल्नु छ ।’ उनले भने, ‘यही टिमस्पिरिट कायम राख्न सक्यौँ भने च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार प्रदर्शन गर्नेछ ।’ 

हुन पनि बार्सिलोनाको ठूलो प्रयास नै युरोपियन च्याम्पियन्स लिग नै हो । कोरोना भाइरस महामारीका रूपमा फैलिनुअघि बार्सिलोनाले अन्तिम १६ को प्रतिस्पर्धामा नेपोलीसँग १–१ को बराबरी नतिजा निकालेको थियो । अब दोस्रो लेग घरेलु मैदान नाउ क्याम्पमा हुनेछ । 

सिजन    गोल
२००९/१०    ३४
२०११/१२    ५०
२०१२/१३    ४६
२०१६/१७    ३७
२०१७/१८    ३४
२०१८/१९    ३६
२०१९/२०    २५
एजेन्सीको सहयोगमा