मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण ५ सोमबार १२:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लकडाउनले घट्यो सवारी दुर्घटना

दुई वर्षकाे अवधिमा बागमती प्रदेशको १० जिल्लामा सवारी दुर्घटनाबाट ९ सय १९ जनाले ज्यान गुमाए  

Read Time : > 1 मिनेट
२०७७ श्रावण ५ सोमबार १२:०२:००

विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा करिब तीन महिनाभन्दा बढी लकडाउन हुँदा सवारी दुर्घटनामा कमी  भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशको १० जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा सवारी दुर्घटनाका कारण पाँच सय पाँचजनाले ज्यान गुमाएका थिए । 

तर, लकडाउनका कारण सवारीसाधन सञ्चालन न्यून हुँदा ०७६/७७ मा चार सय १४ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५/७६ को तुलनामा ०७६/७७ मा लकडाउनका कारण सवारी दुर्घटना कम भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले बताए । ‘वर्षातको समय र फागुन–चैत महिनामा सवारी दुर्घटना बढी हुने गरेको छ,’ उनले भने, ‘त्यो समयमा लकडाउन हुँदा सवारीसाधनको न्यून चापसँगै दुर्घटनामा कमी आएको हो ।

आव ०७५/७६ मा दुई हजार तीन सय ३५ वटा सवारी दुर्घटनाका कारण पाँच सय पाँचजनाले ज्यान गुमाएका थिए । कार्यालयको तथ्यांकअनुसार ०७६/७७ मा एक हजार ६ सय ६४ वटा सवारी दुर्घटनाका कारण चार सय १४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । ०७५/७६ मा दुई हजार ८७ र ०७६/७७ मा एक हजार नाै सय १२ जना घाइते भएका थिए । दुई आर्थिक वर्ष अवधिमा २० चौपायाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

चितवनमा ज्यान गुमाउने धेरै, रसुवामा थोरै
बागमती प्रदेश प्रहरी कार्यालयले तयार पारेको जिल्लागत तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण प्रदेशको १० जिल्लामध्ये ज्यान गुमाउनेको संख्या चितवनमा धेरै र रसुवामा थोरै छ ।

आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ अवधिमा चितवनमा दुई सय ६५ र रसुवामा ११ जनाले ज्यान गुमाएका छन् । यसैगरी दुई आर्थिक वर्ष अवधिमा मकवानपुरमा एक सय २३, सिन्धुलीमा ८७, रामेछापमा ४३, दोलखामा २५, काभ्रेमा एक सय तीन, धादिङमा एक सय ३८, सिन्धुपाल्चोकमा ६८ र नुवाकोटमा ४८ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा मकवानपुरमा दुई सय ११, चितवनमा पाँच सय ३९, सिन्धुलीमा ८१, रामेछापमा ४७, दोलखामा ४३, काभ्रेमा तीन सय १३, धादिङमा एक हजार चार सय ८४, सिन्धुपाल्चोकमा ४४, नुवाकोटमा २८ र रसुवामा १४ वटा दुर्घटना भएको कार्यालय प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए ।