१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण ५ सोमबार ०९:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाका कारण सरकारी कार्यालयहरू डुबानमा

Read Time : < 1 मिनेट
२०७७ श्रावण ५ सोमबार ०९:५१:००

आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलंगवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घर डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।
 
सदरमुकाम मलंगवाको बालमन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरूले बताएका छन् । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुमबासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको बागमती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा पानीकाे सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटानसमेत सुरु गरेको जिल्लाका किसानले बताएका छन् ।

गहिरो स्थान र निकास नरहेका ठाउँमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ ।

मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोवास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै, वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ ।

सर्लाहीको कर्णाली भनेर चिनिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ । रासस