मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुननरसिंह केसी
२०७७ श्रावण ५ सोमबार ०७:०६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओलीको अनियन्त्रित बोली

छिमेकीतिर बारम्बार शब्दवाण हानेर सिकार गर्न खोज्नेले आफैँ सिकार हुनुपरेको दृष्टान्त सम्झिनु बेस हुन्छ

Read Time : > 4 मिनेट
अर्जुननरसिंह केसी
२०७७ श्रावण ५ सोमबार ०७:०६:००

राज्यका उच्च निर्णायक पदाधिकारीको अनियन्त्रित बोली वैचारिक अराजकता र उत्तेजनाको स्रोत मात्रै बन्दैन, गम्भीर दुष्परिणामको उद्गम पनि हुन सक्छ । वाक्–संयम हरेक जिम्मेवार व्यक्तिको असल लाक्षणिक विशेषता हो । झन् राष्ट्रिय नेतृत्व र प्रधानमन्त्रीजस्तो जिम्मेवारी बोकेका केपी शर्मा ओलीको बेलगाम बोलीले कूटनीतिक मर्यादा मात्र होइन, देशलाई गम्भीर द्वन्द्वको चपेटातिर धकेल्दै छ । आफ्नै पार्टीले पनि पचाउन नसकेको यस्तो गतिविधि समग्र मुलुकका लागि संकटको बिउ हुन सक्छ । नीतिमा लोकतन्त्र र राष्ट्रवाद, नियतमा आत्मकेन्द्रित अहंकार र सर्वसत्तावादतिर ओली उन्मुख भइरहेको यथार्थ उहाँकै एकपछि अर्को सन्तुलन गुमाएका र चरम विवादमा परेका अभिव्यक्तिले पुष्टि गरिरहेका छन् ।

सचेत र निष्पक्ष नागरिकका लागि समेत उहाँका अभिव्यक्ति उखान–टुक्का वा परिहास वा उट्पट्याङ वा संस्कारको न्यूनताका रूपमा मात्र सीमित छैन, भयावह नतिजाको द्योतक लाग्न थालेको छ । संसद्मा विपक्षी दलका वक्ताको अभिव्यक्तिलाई निम्छरा टिप्पणी, सिंहमेव जयते कि सत्यमेव जयते, अमुक देशको कोरोना भाइरस कडा, बेसारपानीले कोरोना ठीक हुने जस्ता बोली र हालै ‘नक्कली अयोध्या’जस्तो अभिव्यक्तिका उन्मादको पहाडमा उभिन खोज्दा उहाँ स्वयं हँसी–मजाक र गिल्लाको पात्र बन्न पुग्नुभएको छ भने छिमेकी देशसँग जनस्तरीय सम्बन्धमा असमझदारी तथा चिसोपन बढ्दै छ । 

केही कालयता अपवाद नभई नियमित रूपमा आइरहेको उहाँको एकपछि अर्को बोली छिमेकीलाई अनाहकमा चिढ्याउने, तर मुलुकका समस्या झनै कचल्ट्याउने अराजक स्वभावबाट निर्देशित देखिन्छ । राष्ट्रहित, मुलुकको सिमाना र जनहितका लागि राष्ट्रिय स्वाभिमानका साथ विषयगत रूपमा छिमेकीसँग वार्ताको टेबुलमा उच्च कूटनीतिक कौशलका साथ स्पष्ट कुरा राख्नुपर्ने अवस्थामा प्रधानमन्त्री आफैँ परिस्थिति झन् विवादास्पद र जटिल बनाउँदै हुनुहुन्छ । हालसालै भानुजयन्ती र रामायणको प्रसंगमा सक्कली अयोध्या नेपालमै छ भन्दै ‘भारतले नक्कली अयोेध्या खडा गरेर झुटो राम जन्मभूमि बनाएको, नेपालमाथि सांस्कृतिक थिचोमिचो गरेको’ जस्ता सनसनीपूर्ण अभिव्यक्ति दिएर उहाँ गम्भीर विवादको पात्र बन्नुभएको छ ।

चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रमको सेरोफेरो र अयोध्यापुरी नै वास्तविक राम जन्मभूमि हो भन्ने उहाँको दाबीलाई राष्ट्रिय भावना मुखरित भइरहेको अर्थमा बुझ्न सकिन्न, न त यो नेपालमा अवस्थित ‘सक्कली अयोध्या र राम जन्मभूमि’को विकास गर्ने विज्ञको अनुसन्धान, सरकारी अठोट, जग्गा अधिग्रहण, गुरुयोजना, बजेटजस्ता अनिवार्य पक्षको घोषणा नै हो । यी कामलाई कार्यान्वयनको घोषणाका रूपमा उहाँले बोलेको भए त्यसको युगान्तकारी महत्व पनि हुन्थ्यो होला । सीता जन्मभूमि जनकपुर, चितवनको वाल्मीकि आश्रम, सँगै अवस्थित अयोध्यापुरी गाउँ र राम जन्मभूमिको तादात्म्यको पौराणिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक अन्वेषणबाट यसलाई स्थापित गर्नु पहिलो आवश्यकता थियो । तर, उहाँले बोल्नका निम्ति बोलिदिनुभयो, विवाद उठाइदिनुभयो र छाडिदिनुभयो । 

सतही रूपमा हेर्दा यो विचार नेपालको हितमा भएजस्तो लाग्छ, तर यसले खतरनाक परिणाम निम्त्याउन सक्छ, जसको दूरगामी र व्यापक असर रहन्छ । छिमेकी देशसँगको जनस्तरको सम्बन्धमा समेत वैमनस्यताको भाव बढाउँछ । हुन त भोलिपल्ट नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको सो अभिव्यक्ति राजनीतिक विषयको होइन, कसैको भावनामा चोट पु-याउने उद्देश्यले भनेको होइन, अयोध्या र राम जन्मभूमिबारे विवाद उठाउन खोजेको पनि होइन भन्दै स्पष्टीकरण र सामान्यीकरण गर्ने प्रयास ग-यो ।

राम्रो म खराब ऊ, समाधान म समस्या अरू, उपचार म रोग अरू भन्ने अहंवादका आँखाले अरूलाई हेर्ने स्वभाव विकृति हो, देशको प्रधानमन्त्री नै अराजकतावादी विचारका लागि अग्रणी भइसकेपछि मुलुकको हालत कहिल्यै सुध्रिँदैन ।

तर, प्रधानमन्त्री अभिव्यक्तिका भ्वाङ पार्दै जाने र परराष्ट्र मन्त्रालय रफ्फु भर्ने, यो शासकीय बिजोगबाहेक केही होइन । नपोखिनुपर्ने कुरा पोखिइसकेपछि कागजी वक्तव्यमा उठाउन खोजेर कसरी पार लाग्छ ? ‘भगवान् बुद्ध भारतमा जन्मेका हुन्’ भनी भारतीयले भनेको सुन्दा नेपाली रुष्ट हुनु जति स्वाभाविक छ, ‘नक्कली अयोध्या’ र ‘नक्कली राम जन्मभूमि’ भनिदिँदा उनीहरूको मर्ममा प्रहार भएको छ । बरु हाम्रा प्रागैतिहासिक र पौराणिक स्थल र वाल्मीकि आश्रम, उहाँले भन्नुभएको श्रीराम जन्मभूमि, अयोध्यापुरी, नेपालमा भएका पुरातात्विक अन्वेषण, उत्खनन, पर्यटकीय सर्किटमा आबद्ध गर्न बोलीभन्दा पूर्वाधार निर्माण गर्नतिर अग्रसर हुनु अहिलेको आवश्यकता हो । 

हजारौँ वर्षदेखि राम जन्मभूमिका रूपमा हिन्दू आस्थाको केन्द्र रहँदै आएको अयोध्याको सोही स्थानमा मुगल बादशाह बाबरले सन् १५२८–२९ मा मस्जिद बनाइदिएपछि नै हिन्दूहरूले यसलाई आफ्नो प्रतिष्ठा र पहिचानको मुद्दा बनाउँदै आएका छन् । सन् १९९२ मा हिन्दूहरूले ‘कारसेवा’ (स्वयंसेवा) अभियान सञ्चालन गरी सो मस्जिद भत्काइदिएपछि भड्केको जातीय दंगामा दुई हजार भारतीयको ज्यान गएको थियो । अनेकौँ आतंककारी मुसलमान समूहले १९९३ मा गरेको मुम्बई आक्रमणमा मात्र तत्काल दुई सय ५७ जनाको ज्यान गयो । त्यसपछि ६ महिनासम्म भएको दंगामा नौ सय भारतीयले ज्यान गुमाएका थिए । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले हिन्दू मन्दिर बनाउन दिने फैसला गरेपछि त्यहाँको संघीय सरकारले समग्र अयोध्यालाई नै गुरुयोजनामा राखी विश्वका सम्पूर्ण हिन्दूहरूको गौरव बढाउने स्थलका रूपमा विकास गर्न लागेको देखिन्छ ।

भारतको अयोध्यामा सन् १८५३ देखि चल्दै आएको राम जन्मभूमिविरुद्ध बाबरी मस्जिदको राष्ट्रव्यापी विवादमाथि हाम्रा प्रधानमन्त्री जानेर होस् वा नजानेरै आगोमा घिउ हाल्न पुग्नुभएको छ । प्रधानमन्त्रीको भनाइ मुसलमान समुदायलाई भड्काउने र हिन्दूहरूको मर्ममा प्रहार गर्न लक्षित थियो नै भन्न नसकिएला, तर पनि अन्ततोगत्वा त्यस्तै हुन पुगेको छ । जनकपुर र भारतको अयोध्याबीच सम्पर्क स्थापित गर्ने कार्यमा प्रधानमन्त्री ओली आफैँ सक्रिय रूपमा सरिक हुनुभएको हो । तर, अप्रत्याशित रूपमा उहाँबाट प्रकट भएको लहडी र गैरजिम्मेवार बोली, स्वभाव र आनीबानीलाई स्वाभाविक मानेर छुट दिने मनस्थिति उहाँकै पार्टीभित्र कसैमा देखिन्न भने पार्टीभन्दा बाहिर त झन् रहेन नै ।

जनताको आकांक्षालाई सम्बोधन गर्नभन्दा आफ्नै पार्टीभित्र मच्चिएको महाभारतको मनोवैज्ञानिक हतासा प्रतिबिम्बित भएको देखिन्छ, उहाँको अभिव्यक्ति । भारतभरि नै अयोध्याको बाबरी मस्जिद प्रतिरक्षामा ज्यान फालेर लागेका मुसलमानको हकदाबीलाई प्रधानमन्त्रीको भनाइले बल दिएको छ भने राम जन्मभूमिको पक्षमा दुई सय वर्षदेखि संघर्ष गर्दै आएका हिन्दूहरूको मर्म र भावनामा प्रहार गर्ने हर्कत भएको छ ।

आमजनमानसमा भरिने घृणा वा श्रद्धाले अन्ततोगत्वा त्यो राष्ट्रको भाग्य र भविष्य निर्धारण गर्छ । आफ्नै स्वार्थ र मोहमा यथार्थवादी व्यवहार र कूटनीतिलाई बिर्सिनाले संकट पैदा गर्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना बाँडेको सुनेर मत दिएका जनताले पसिना बगाएर न्यूनतम जीविकोपार्जन गर्न पाउनुको सट्टा उल्टो भोकभोकै आँसु र रगत मात्र बगाइरहनुपरेको छ । एउटा छिमेकीतिर बारम्बार शब्दवाण हानेर सिकार गर्न खोज्नेले आफैँ सिकार हुनुपरेको दृष्टान्त पनि सम्झिनु बेस हुन्छ । यस्ता यावत् विकृतिको संवाहकले आखिर क्रूर तानाशाहको जन्म गराइदिन सक्छ ।

यसै पनि बाह्यजगत्मा नेपालको भूमिका शिथिल भइरहेको छ । बाह्यजगत्का मुख्य खेलाडीको नेपालभित्र गतिविधि भयंकर रूपबाट क्रमशः बढिरहेको छ । कूटनीतिक भूमिकामा नेपालको संलग्नता एकदमै कमजोर अवस्थामा पुगेको छ । त्यसमा पनि छिमेकी मुलुकसँगको सम्बन्धमा तत्काल र प्रत्यक्ष असर पार्ने संवेदनशील विषयमा बोल्दा पनि सोच्दै नसोची बोल्दै हिँड्ने प्रवृत्तिले निश्चय नै हामीलाई स्वाभिमानी र सुखी राष्ट्रको रूपमा गन्तव्यमा पु¥याउँदैन । ओठेजवाफको राजनीति अति भयो । राजनीतिक संस्कार घट्दै गयो । राम्रो म खराब ऊ, समाधान म समस्या अरू, उपचार म रोग अरू भन्ने अहंवादका आँखाले अरूलाई हेर्ने स्वभाव विकृति हो । देशको प्रधानमन्त्री नै अराजकतावादी विचारका लागि अग्रणी भइसकेपछि मुलुकको हालत कहिल्यै सुध्रिँदैन भन्ने ध्रुवसत्य हो ।