मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
 हात्ती लगाएर भत्काइएको चेपाङको घर । फाेटाे : विवेक पोख्रेल
२०७७ श्रावण ५ सोमबार ०५:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चेपाङका घर हात्ती लगाएर भत्काइयो

Read Time : > 1 मिनेट
२०७७ श्रावण ५ सोमबार ०५:५७:००

चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुुसुमखोलास्थित सुकुमबासी बस्तीमा रहेका चेपाङ समुदायका घर शनिबार हात्ती लगाएर भत्काएको छ । आठ घर भत्काएको र दुई घरमा आगजनीसमेत गरेको पीडितहरूले बताएका छन् । 

बर्खाको समयमा निकुञ्जले आफूहरूको बिचल्ली बनाएको भन्दै पीडितहरूले आइतबार वडा कार्यालयमा गुनासो गरेका छन् । उनीहरू तीन घन्टा हिँडेर वडा कार्यालय पुगेका हुन् । चेपाङ बस्ती माडी सदरमुकाम वसन्तपुर बजारबाट २२ किलोमिटर टाढा छ । निकुञ्ज प्रशासनले बस्तीका अन्य परिवारलाई पनि एक हप्ताभित्र घर छोडेर जान धम्की दिएको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए । 

निकुञ्जले भने मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बनाइएका छाप्राहरू मात्र हटाएको बताएको छ । मान्छे बसेका घरहरूमा कुनै असर नपु-याएको वार्डेन नारायण रुपाखेतीको जिकिर छ । ‘यो बर्खामा कसैले मानिस बसेको घर भत्काउँछ ? कुसुमखोलाको अतिक्रमित टहरा भत्काइएको हो, हामीले पहिलेदेखि नै हटाउन भन्दै आएका थियौँ,’ उनले भने । 

 

चेपाङ समुदाय कुुसुमखोला क्षेत्रमा ०५३ देखि बस्दै आएका थिए । माडी नगरपालिकाका अनुसार धादिङ, मकवानपुरलगायत जिल्लाबाट आएका एक सय ६० परिवार त्यहाँ बसेका थिए । तर, ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार बस्ती छोडेर माडीकै विभिन्न ठाउँमा बसाइँ सरेका थिए । १५ परिवार भने अहिले पनि कुुसुमखोलामै बसिरहेको वडाध्यक्ष सुवेदी बताए । 

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले चेपाङका घर मात्रै भत्काउनु गलत भएको बताए । सुकुमबासी बस्तीलाई व्यवस्थापन गर्ने नगरपालिकाको योजनामा निकुञ्जले समस्या सिर्जना गर्दै आएको उनको आरोप छ ।

‘कुसुमखोलाका सुकुमबासीलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा ९० वटा घर बनाउन लागेको थियो, तर निकुञ्ज बाधक भयो,’ ढकालले भने । माडी–९ को राईटोलमा ४० घर बनाउँदै गर्दा १२ घरमा निकुञ्जले जस्ता हाल्न नदिएको तथा माडी–७ को देवेन्द्रपुरमा ५० घर बनाउने तयारी गर्दा पनि निकुञ्जले काम नै सुरु हुन नदिएको मेयर ढकालको आरोप छ । 

मध्यवर्ती क्षेत्रभित्रको बस्तीलाई उठाएर नयाँ घरमा सार्न खोज्दा पनि निकुञ्जले अवरोध गरेको मेयर ढकालले बताए । ‘माडीका हरेक क्षेत्र मध्यवर्ती क्षेत्रभित्र पर्छ, यहाँ ४२ सय घर छन् । कि त सबै भत्काउन सक्नुप¥यो, होइन भने चेपाङका घर मात्रै भत्काउने छुट कसैलाई छैन,’ उनले भने ।