१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुग्लिन बजार
नवीन अर्याल काठमाडाैं
२०७७ श्रावण ४ आइतबार ०७:१७:००
Read Time : > 3 मिनेट
नयाँCity प्रिन्ट संस्करण

राजमार्गको सुनसान जीवन

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ श्रावण ४ आइतबार ०७:१७:००

पृथ्वी राजमार्ग अर्थात् काठमाडौं उपत्यकाको लाइफलाइन । चौबीसै घन्टा सवारीसाधनको लर्को रहने यो राजमार्ग हत्तपत्त खाली हुँदैनथ्यो । देशभरबाट काठमाडौं भित्रिने र बाहिरिने यात्रुबाट राजमार्गछेउछाउका रेस्टुराँ गुल्जार रहन्थे । कोरोना प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन गरिएयता दृश्य फेरिएको छ ।

गाडीको भीड छैन । लकडाउन खुकुलो बनाइएसँगै राजमार्गआसपासका रेस्टुराँ खुलेका छन्, तर ग्राहक छैनन् । सडकमा ट्रक, टिपर, ट्यांकर र एम्बुलेन्सको बाहुल्यता छ । लामो दूरीका सार्वजनिक यातायात ठप्प छन् । पास बनाएर काठमाडौं छिर्ने निजी कार र बाइक फाट्टफुट्ट देखिन्छन् ।

करिब साढे तीन महिना राजमार्ग ठप्प रह्यो । आसपासका होटेल, रेस्टुराँ पनि बन्द रहे । ‘अलिअलि निजी गाडी चल्न थालेपछि १० दिनअघि क्याफे खोलेँ, तर चलाउन सकिनँ,’ नौबिसेनजिकको २० किलोस्थित हिमालयन फ्रेस कफी र ग्रिन भ्यु रेस्टुराँका सञ्चालक रामप्रसाद गिरी भन्छन् ।

काठमाडौं उपत्यकाका लाइफलाइन मानिने पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा लकडाउन खुकुलो बने पनि चहलपहल बढ्न सकेको छैन । सडक दायाँ–बायाँका होटेल, रेस्टुराँ ग्राहकको पर्खाइमा छन् ।

सामान्य अवस्थामा उनको रेस्टुराँ विदेशी पर्यटक र निजी गाडीका नेपाली यात्रुबाट भरिभराउ रहन्थ्यो । रेस्टुराँअघिल्तिर पर्यटक र निजी गाडी रोकिन्थे । ‘लकडाउनअघि रेस्टुराँ राम्रै चलेको थियो, कोरोनाले व्यापार सुकाइदियो,’ गिरी भन्छन्, ‘विदेशी पर्यटक आउन नथालुन्जेल र निजी गाडी निर्बाध नचलेसम्म रेस्टुराँ पनि चल्ने देख्दिनँ, यसका लागि कोरोना भाइरस मत्थर हुनैपर्छ ।’ त्यसका लागि लामो प्रतीक्षा गर्नुपर्ने उनले बुझेका छन् ।

धादिङको नौबिसे भन्नासाथ लामो दूरीका यात्रुले खाजा, खाना खाने ठाउँ बुझिन्छ । दैनिक करिब १८ घन्टा गुल्जार रहने नौबिसे अहिले विश्राममा छ । अधिकांश रेस्टुराँ र खानाघर अझै बन्द छन् । खोलिएका पनि ग्राहक देखिँदैनन् ।

खाली कुर्सी र टेबलले ग्राहकको प्रतीक्षा गरिरहेका छन् । नौबिसेबाट एक किलोमिटर टाढा धार्केको ए-वान होटेल एन्ड रेस्टुराँ, सुपा देउराली होटेल, न्यु गण्डकी स्टाफ होटेल, होटेल घर आँगन पनि सुनसान छन् । लकडाउनअघि यात्रुलाई खाना, खाजा दिन भ्याइनभ्याई हुने होटेलका कर्मचारी अहिले फुर्सदमा छन् ।

गल्छी बजारमा अलिअलि रेस्टुराँ खुलेका छन्, तर ग्राहक छैनन् । होटेल गल्छी प्यालेस, मामा-भान्जा खाना एन्ड खाजाघरलगायत रेस्टुराँ ग्राहक पर्खेर बसेका छन् । गजुरीका रेस्टुराँ सुनसान छन्, तर बजारमा चहलपहल बाक्लिएको छ । बजारमा धादिङका गाउँबाट किनमेल गर्न आउने ग्राहक बढेका छन् ।

मलेखुबजारस्थित एक रेस्टुराँ

मलेखु बजारको दृश्य पनि त्यसभन्दा फरक छैन । यहाँका हरेक रेस्टुराँले अघिल्तिर माछा झुन्ड्याएका हुन्थे । र, रेस्टुराँमा माछाको स्वादमा रमाइरहेका यात्री देखिन्थे । अहिले न त्यहाँ माछा झुन्ड्याइएको छ, न त ग्राहक नै देखिन्छन् । निजी गाडीका यात्री पनि कोरोना संक्रमण हुने त्रासका कारण हत्तपत्त रेस्टुराँतिर छिर्दैनन् । ‘लकडाउनले व्यापार स्वात्तै घटेको छ, फाट्टफुट्ट आउने ग्राहकलाई सेवा दिइरहेका छौँ,’ मलेखु दिनेश होटेलकी सञ्चालक देवकी सिलवाल भन्छिन् ।

यहाँका करिब आधा रेस्टुराँ मात्र खुलेका छन् । सिलवालका अनुसार मलेखु बजार करिब तीन महिना पूरै बन्द रह्यो । माछाबाहेक ताजा तरकारीका लागि पनि यो बजार लोकप्रिय छ । खासगरी, पोखरा र काठमाडौं जाने यात्रुले यहाँबाट ताजा तरकारी किनेर लैजान्थे ।

रेस्टुराँजस्तै तरकारी र गेडागुडी पसलमा पनि भीडभाड हुन्थ्यो । अहिले ती सबै फुर्सदिला छन् । ‘गाडी नै चलेका छैनन्, व्यापार कहाँबाट होस् । हामीलाई परिवार पाल्न धौधौ भइसक्यो,’ मलेखुमा तरकारी पसल गर्ने जनकपुरकी नीरज सिंह भन्छिन् ।
 ...

मनकामना केबलकारनजिकको रमाइलो डाँडा बजार अझै खुल्न सकेको छैन । यहाँका अधिकांश सटर बन्द छन् । खुलेका एकाध रेस्टुराँमा ग्राहक नभई सञ्चालकका परिवार मात्र देखिन्छन् । साना गाडी र बाइकमा यात्रा गर्नेहरूले खाजा खाने ठाउँ हो, यो । केबलकार चढेर मनकामना मन्दिर जाने र फर्किने श्रद्धालुले पनि यहीँ खाना खान्थे ।

तात्तातो दाल, भात, तरकारी खाने ठाउँ मुग्लिन अहिले सेलाएको छ । राजमार्गमा गाडी नगुड्दा मुग्लिनको अस्तित्व नै संकटमा पर्ने रहेछ।

मनकामना केबलकार प्रवेशद्वारअगाडि गाडी र मानिसको भीडभाड रहन्थ्यो । फलफूल, फूलपाती, चनाचटपटे र पानीपुरी बिक्री गर्ने व्यापारीले सडक ढाकेका हुन्थे । प्रवेशद्वारमा रहेका रेस्टुराँमा ग्राहक भरिभराउ देखिन्थे । तर, यो क्षेत्र सुनसान छ । केबलकारका डिब्बा पार्किङमा थन्किएका छन् । लकडाउनलगत्तै लागेका होटेलका सटर अझै उघारिएका छैनन् ।

अत्यावश्यकबाहेकका सेवा, व्यवसाय खोल्न प्रतिबन्ध कायम छ । धार्मिक स्थलमा पनि भीडभाडमा रोक लगाइएको छ । त्यसैले मनकामना केबलकार कहिलेदेखि सञ्चालनमा आउने हो भन्ने यकिन छैन । स्वदेश–विदेशी पर्यटकको चहलपहल रहने कुरिनटारकै रिभरसाइड रिसोर्ट पनि सुनसान छ ।

 ...
काठमाडौं, पोखरा र नारायणगढको संगमस्थल मुग्लिन रातमा पनि जागा रहन्थ्यो । घरैपिच्छे होटेल र रेस्टुराँ रहेको यो बजारले लकडाउनयता निदाउन पाएको छ । अलिअलि खुलेका रेस्टुराँमा स्थानीय बासिन्दाबाहेक ग्राहक देखिँदैनन् । यहाँ खाना खाएर यात्रुले आफ्नो गन्तव्य पछ्याउँथे । ‘यो तात्तातो दाल, भात, तरकारी खाने ठाउँ हो,’ एक होटेल व्यवसायी भन्छन्, ‘अहिले मुग्लिन सेलाएको छ ।’ उनको बुझाइमा राजमार्गमा गाडी नगुड्दा मुग्लिनको अस्तित्व नै संकटमा पर्ने रहेछ । करिब चार महिना भयो, मुग्लिन यसरी सुस्ताएको ।

पृथ्वी राजमार्ग छाडेर मुग्लिन–नारायणगढ सडकतिर मोडिँदा पनि लकडाउन प्रभाव उस्तै देखिन्छ । यो सडकखण्ड चौडा बनाइएपछि दायाँ–बायाँ होटेल, रेस्टुराँ धमाधम खुल्दै थिए । व्यवसायीको लगानी यो सडकखण्डमा बढ्दो थियो । अहिले केही होटेलमा ट्रक र ट्यांकर मात्र रोकिएको देखिन्छ । ‘लकडाउनअघि निकै चहलपहल थियो, त्यसयता अधिकांश होटेल बन्द छन्,’ चितवन जुगेडीस्थित न्यौपाने कोल्ड स्टोर एन्ड खाना घरका सञ्चालक रविन न्यौपाने भन्छन्, ‘ग्राहक नभएपछि यत्तिकै खोल्नुको के अर्थ र !’

चितवनको रामनगर पनि राजमार्गका यात्रुकै कारण गुल्जार रहन्थ्यो । काठमाडौंबाट मेचीदेखि महाकालीसम्म चल्ने लामो दूरीका सवारीसाधनले यात्रुलाई खाना खुवाउने एक मुख्य बजार हो, यो । मुग्लिनजस्तै रातभर जागा रहन्थ्यो, रामनगर पनि । तात्तातो खाना खाने यो ठाउँ पनि कोरोना त्रासका कारण सेलाएको छ, अहिले । चितवन सदरमुकाम भरतपुर पनि पूर्ण रूपमा खुल्न सकेको छैन । अलिअलि खुलेका रेस्टुराँमा सहरवासी धाउन थालेका छन् । तर, कोरोनाको भय कम नभएसम्म सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।