१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ४ आइतबार ०९:३०:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वाटरगेट काण्ड : जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे

Read Time : > 7 मिनेट
२०७७ श्रावण ४ आइतबार ०९:३०:००

(मिडियाको शक्ति, संघर्ष र संस्कारमा केन्द्रित यो स्तम्भ नयाँ पत्रिकामा नियमित प्रकाशित हुनेछ)

प्रेस स्वतन्त्रताको उच्चतम प्रयोग हुँदा विश्वको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदमा आसीन व्यक्तिले निरीह भएर सत्ता त्याग गर्नुपर्‍यो

वाटरगेट काण्ड अमेरिकाको राजनीतिक इतिहासमा निकै चर्चित घटना हो । राजधानी वासिंटन डिसीस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटी(डीएनसी)को मुख्यालयमा भएको घुसपैठले अमेरिकामा ठूलो तरङ्ग ल्याएको थियो । सन् १९७२ को राष्ट्रपति चुनाव नजिकिँदै गर्दा डेमोक्रेटिक पार्टीको चुनावी कार्यक्रम चोर्न सत्तारुढ राष्ट्रपति सम्बद्ध मानिसले मुख्यालयमा घुसपैठ गरेका थिए ।

सुरुमा अधिकांश मिडियाले यसलाई सामान्य चोरीको घटनाको रूपमा लिए । वासिंटन पोस्टले समेत यो घटनालाई त्यसरी नै हेरेको थियो । त्यसैले घटनाको रिपोर्टिङका लागि पत्रिकाले अपराध बिटका बव वुडवार्डलाई खटाएको थियो । तर, रिपोर्टिङका क्रममा बव र उनका साथी कार्ल बर्नस्टिनले घटना पछाडि ठूलो राजनीतिक शक्ति रहेको पत्ता लगाए ।

सन् १९७२ जुन १७ को मध्यरातमा डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी)को मुख्यालयमा फोन ट्याप गर्दै गर्दा पक्राउ परेका पाँच व्यक्तिलाई सामान्य चोरी तथा टेलिफोनमा अवरोध पुर्‍याएको आरोप लागेको थियो । तर, अदालतमा ती पाँच सामान्य 'चोर'को पक्षमा भने निकै महँगा वकिलले वकालत गरिरहेका थिए । यसले नै यस प्रकरणमा केही गडबडी रहेको बवलाई लागेको थियो । पछि बवलाई सघाउन वासिंटन पोस्टले अर्का युवा पत्रकार कार्ल बर्नस्टिनलाई खटायो । यी दुईले आगामी दुई वर्षसम्म यो प्रकरणमा खोज अनुसन्धान गरे । यस क्रममा तिनले उजागर गरेका तथ्यले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिनुपर्ने अवस्था आयो । साथै वाटरगेट काण्डमा दुई वर्ष संलग्न हुँदा वुडवार्ड र बर्नस्टिनले खोज पत्रकारिताको विभिन्न नयाँ आयाम पनि निर्माण गरे । तिनले विकास गरेको शैली आज विश्वभरका पत्रकारिताको कक्षामा पढाइन्छ ।  

एक शासकको असुरक्षाको भावनाले निम्त्याएको काण्ड

सन् १९६८ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिचर्ड निक्सनले पपुलर भोटमा झिनो अग्रता पाएको भए पनि ५५.९५ प्रतिशत इलेक्ट्रोरल भोट पाएर राष्ट्रपति जिते । उनको पहिलो कार्यकाल विदेशनीतिका विभिन्न मोर्चामा सफल भएको थियो । निक्सनको पहिलो कार्यकालको उल्लेखनीय सफलतामा शीतयुद्धकालीन प्रतिद्वन्द्वी सोभियत संघसँग सम्बन्ध सौहार्दता विकास गर्न सक्नु र अर्को कम्युनिस्ट मुलुक चीनसँग औपचारिक सम्बन्ध कायम गर्नुलाई मानिन्छ । यसमा उनका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार (पछि विदेशमन्त्री ) हेनरी किसिन्जरले महत्वपूर्ण सहयोग प्रदान गरेका थिए ।

राष्ट्रपति निक्सन

निक्सनले राष्ट्रपति पद सम्हालेको पहिलो वर्ष अमेरिकाले पहिलोपटक अन्तरिक्षमा पाइला टेकेको थियो । अर्थतन्त्रमा केही सफलता, केही असफलता भोगेको र भियतनाम युद्धविरुद्धको गतिरोध कामय रहेको भए पनि उनी लोकप्रिय नै थिए । दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने व्यवस्थाअनुरूप उनी सन् १९७२ को चुनावमा उठेका थिए । उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जर्ज म्याकगर्भन त्यति बलिया प्रतिस्पर्धी थिएनन् । त्यस वर्षको चुनावमा निक्सनले अमेरिकाका ५० मध्ये ४९ राज्यमा जित हासिल गरेका थिए । उनले ९६.६५ प्रतिशत इलेक्ट्रोरल भोटले जितेका थिए । पपुलर भोटमा पनि उल्लेख्य वृद्धि भएको थियो ।

तर, चुनावअघि राष्ट्रपति निक्सनको अभियानका पदाधिकारीमा भने आत्मविश्वास देखिएन । त्यसैले विपक्षीको चुनावी रणनीति थाहा पाउन तिनको कार्यालयमा गैरकानुनी रूपमा जासुसी उपकरण लगाउने हदसम्म उनीहरू अघि बढे । यसबारे निक्सन प्रशासनका उच्च पदाधिकारी र यसलाई कार्यान्वयन गर्ने सुरक्षा संयन्त्रका केही व्यक्तिलाई जानकारी थियो । रिचर्ड निक्सनलाई पुनः निर्वाचित गराउने उद्देश्यले गठित चुनावी समितिका मानिस प्रत्यक्ष जोडिएको यो प्रकरण पूर्ण रूपमा उदांगो हुन दुई वर्ष मिडियाले प्रयास गरिरह्यो । विशेषतः वासिंटन पोस्ट र पोस्टका दुई रिपोर्टर बव वुडवार्ड र कार्ल बर्नस्टिनको प्रयासले वाटरगेट काण्डभित्रको षड्यन्त्र उजागर भयो । र, निक्सनको शासन अवधि लम्ब्याउने उद्देश्यले चालिएको कदम नै उनको शासन छोट्याउने कारण बन्यो ।

वाटरगेट काण्डका सूत्रधारहरू

डमोक्रेटिक नेसनल कमिटीको मुख्यालयमा भएको घुसपैठ राजनीतिक रूपले अभिप्रेरित होला भनेर कसैले पनि सोचेको थिएन। वाटरगेट काण्डअघि अमेरिकामा राजनीतिलाई सम्मानित पेसाको रूपमा हेरिन्थ्यो । त्यसैले पनि धेरैले यसलाई राजनीतिक षडयन्त्रका रुपमा बुझेनन् । विपक्षी डेमोक्रेटिक पार्टीविरुद्ध बृहत् स्तरको जासुसीका लागि सल्लाह दिने पहिलो व्यक्ति ‘कमिटी फर रि–इलेक्सन अफ द प्रेसिडेन्ड(सिआरपी)’का आर्थिक सल्लाहकार गोर्डन लिड्डी थिए ।

निक्सनलाई पुनः निर्वाचित गराउने उद्देश्यले गठित सिआरपीमा त्यो समय स्टुअर्ट म्यागरुडर कार्यवाहक अध्यक्ष थिए । लिड्डीले आफ्नो प्रस्ताव महान्यायाधिवक्ता जोन मिचेल र राष्ट्रपतिका सल्लाहकार जोन डिनलाई पनि बताएका थिए । लिड्डीको सम्पूर्ण योजना अव्यावहारिक हुने भनिए पनि केही पक्ष कार्यान्वयन गरिने भयो । यसअन्तर्गत वाटरगेट कम्प्लेक्सस्थित डेमोक्रेटिक पार्टीको मुख्यालयमा गोप्य रूपमा चुनावी कागजातको फोटो खिच्ने र टेलिफोनमा जासुसी उपकरण जोड्ने योजना स्वीकृति भएको थियो । पछि, जोन मिचेल महान्यायाधिवक्ताको पद छाडी सिआरपीको प्रमुख बनेर आएपछि विपक्षीहरूको जासुसी गर्ने कार्य अघि बढ्यो ।

वासिंटनस्थित वाटरगेट होटेल

यस कामको जिम्मा सिआरपीका सुरक्षा संयोजक जेम्स म्याकोर्डले पाए । म्याकोर्डले वाटरगेट कम्प्लेक्सस्थित डेमोक्रेटिक नेसनल कमिटीको मुख्यालयका फोनमा वायरटेप लगाउने कामको जिम्मा पूर्वएफबिआई एजेन्ट अल्फ्रेड बाल्ड्विनलाई दिए । सन् १९७२ मे २८ मा नेसनल डेमोक्रेटिकको मुख्यालयका दुई फोनमा वायरटेप लगाइयो, जसमध्ये एउटा डेमोक्रेटिक नेसनल कमिटीका अध्यक्ष ल्यारी ओब्रायनको फोनसमेत थियो । खासमा जुन १७ को मध्यरातमा पक्राउ परेका पाँचजना अघिल्लोपटक फोनमा लगाइएका उपकरण चेकजाँच गर्न गएका थिए ।

अधिकांश मिडियाले जस्तै वासिंटन पोस्टले पनि डेमोक्रेटिक नेसनल कमिटिको मुख्यालयभित्रको घुसपैठलाई सामान्य घटनाका रुपमा हेरेका थिए, तर पोष्टका दुई रिपोर्टरले घटना पछाडि ठूलो राजनीतिक शक्ति रहेको पत्ता लगाए । 

तर, सो रात वाटरगेट कम्प्लेक्समा रात्रिकालीन ड्युटी गरिरहेका सुरक्षा गार्ड फ्र्यांक विलिसले भवनका केही ढोकाका स्वचालित छेस्किनीमा टेप लगाएको भेटे । उनले घुसपैठको आशंकामा प्रहरीलाई फोन गरिदिए । लगत्तै स्थानीय क्षेत्रमा गस्ती गरिरहेका प्रहरी घटनास्थल पुगे र ती पाँचजना पक्राउ परे । पक्राउ पर्नेहरू भर्गिलियो गोन्जालेज, बरनार्ड बार्कर, जेम्स म्याक्कोर्ड, युजेनियो मार्टिनेज र फ्र्यांक स्टुर्गिस थिए । तीविरुद्ध चोरी तथा टेलिफोन अवरोधको मुद्दा लगाइएको थियो । डेमोक्रेटिक पार्टीको कार्यालयमा घुसपैठ गर्नेहरूबारे अनुसन्धान गरिरहेको एफबिआईको अनुसन्धान टोलीले पक्राउ परेका बार्कर र मार्टिनेजको एड्रेस बुकमा हवार्ड हन्टको नाम पाएको थियो, जो तत्कालीन समयमा राष्ट्रपति कार्यालयमा काम गरिरहेका थिए ।

मिडियाको भूमिका

वाटरगेट काण्डमा अमेरिकाको राष्ट्रपति कार्यालयको हात रहेको तथ्य सार्वजनिक गर्ने काम अमेरिकी मिडियाले गरेका थिए । यस खुलासाका लागि पत्रकारिता इतिहासमै उत्कृष्टमध्येको एक खोज पत्रकारिताको अभ्यास भएको बताइन्छ । विशेषतः वासिंटन पोस्टको यसमा सबैभन्दा प्रमुख भूमिका रह्यो । वासिंटन पोस्टका दुई पत्रकार बव वुडवार्ड र कार्ल बर्नस्टिन शृंखलाबद्ध रिपोर्टिङमार्फत डिएनसी मुख्यालयको घुसपैठ सामान्य चोरी नभएर राजनीतिक रूपमा प्रेरित घटना भएको उजागर गर्न सफल भए । उनीहरूले त्यसमा राष्ट्रपति निक्सन प्रशासनका उच्च पदाधिकारी र स्वयं निक्सनकै संलग्नता रहेको तथ्य बाहिर ल्याएका थिए ।

अन्य पत्रपत्रिकाले जस्तै वासिंटन पोस्टले पनि सुरुमा डिएनसी मुख्यालयको घुसपैठमा पक्राउ परेकाहरूलाई सामान्य चोरकै रूपमा लिएको थियो । यसैले घटनाको रिपोर्ट तयार पार्नका लागि दुई कनिष्ठ रिपोर्टरहरू बव वुडवार्ड र कार्ल बनस्टिनलाई खटाइएको थियो । यी दुई रिपोर्टरले खोजको सुरुमै अर्थात् सन् १९७२ अगस्ट १ मा निक्सनको चुनावी अभियानका लागि दिइएको २५ हजार डलरको चेक डोनेसन वाटरगेट कम्प्लेक्समा पक्राउ परेका एक व्यक्तिको खातामा जम्मा भएको पाएका थिए ।

त्यसपछि उनीहरूले घटनामा राजनीतिक षड्यन्त्र हुन सक्ने कोणबाट खोजमा लागेका थिए । पछि तिनको खोजमा ‘डिप थ्रोट’ छद्म नामका एक स्रोतले धेरै सूचना दिन सघाएका थिए । पछि ती व्यक्ति तत्कालीन एफबिआई सहनिर्देशक मार्क फेल्ट रहेको खुलासा भयो । डिप थ्रोटलाई व्यक्तिगत रूपमा वुडवार्डले मात्र भेटेका थिए र उनले फेल्टको निधनपछि मात्र उनको पहिचान खुलाउने बताउँदै आएका थिए । तर, सन् २००५ मे ३१ मा ३३ वर्षपछि ‘भ्यानिटी फेयर’ म्यागजिनमा छापिएको एक लेखमा फेल्टले आफ्नो पहिचान आफैँले खुलाए । ‘मानिसहरूले डिप थ्रोट भनेर चिन्ने व्यक्ति मै हुँ’ लेखमा फेल्टले स्विकारेका छन् ।

उनले सहनिर्देशक हुँदा डेमोक्रेटिक पार्टी मुख्यालयसम्बन्धी अनुसन्धानमा प्राप्त भित्री तथ्य वुडवार्डलाई भेटेरै दिएका थिए । वासिंटन पोस्टबाहेक यस प्रकरणलाई न्युयोर्क टाइम्स र टाइम म्यागजिनले मात्र लेखिरहेका थिए । अन्य मिडियाले स्रोतलाई मात्र आधार मानेर यति महत्वको समाचार पछ्याउन नहुने बताइरहेका थिए । केही मिडिया त राष्ट्रपतिको बचाउ गर्न अघि बढिरहेका थिए ।

उता निक्सन प्रशासनले वाटरगेट काण्डमा उसको चुनावी अभियानको कुनै पनि सदस्य संलग्न नभएको तर्क गरिरहयो । वासिंटन पोस्टलाई बदनाम गराउने अभियान चलाउनसमेत ह्वाइट हाउस पछि परेन । वासिंटन पोस्टका तत्कालीन सम्पादक वेन ब्राड्ली डेमोक्रेटिक पार्टीसम्बद्ध नेताहरूसँग नजिक रहेको र केनेडी परिवारसँग उनको पारिवारिकस्तरको सम्बन्ध भएकाले नियतवश रिपब्लिकनलाई बदनाम गराउन खोजेको आरोप लगाइयो । हुन त निक्सन र प्रेसबीच पहिलेदेखि राम्रो सम्बन्ध थिएन, वाटरगेट स्क्यान्डलपछि यो झनै खराब स्तरमा तल झर्‍यो । टाइम म्यागजिनका अनुसार त्यो समय निक्सनले आफूहरूप्रति नकारात्मक रहेका मिडियाविरुद्ध सरकारी एजेन्सी प्रयोग गर्नेबारे समेत छलफल गरेका थिए ।

महाभियोग र राजीनामासम्मको बाटो

नयाँ तथ्य उजागर हुँदै जाँदा निक्सनविरुद्ध लेख्ने मिडियाको संख्या बढ्न थाल्यो र जनमत पनि निक्सनविरुद्ध बलियो हुँदै गयो । प्रकरण चर्किंदै जाँदा निक्सनका सल्लाहकार जोन अर्लिकम्यानले महान्यायाधिवक्ता रिचर्ड क्लेइनडेइन्स्टलाई डेमोक्रेटिक पार्टी मुख्यालयमा भएको घुसपैठबारे ह्वाइट हाउसका कसैलाई पनि पूर्वजानकारी नभएको प्रस्टीकरण दिए । यसले पनि विवाद साम्य भएन ।

निक्सनले यो प्रकरणबाट उम्कने अन्तिम प्रयासका रूपमा मिडियामा वाटरगेट काण्डसँग नाम जोडिएका ह्वाइट हाउसका केही उच्च पदाधिकारीसँग राजीनामा मागे । यसमा एचआर हाल्डेम्यान, अर्लिकम्यान र जोन डिनजस्ता निक्सनका दाहिने हात मानिने पदाधिकारीसमेत थिए । तर, यसअघि जोन डिन र राष्ट्रपति निक्सनबीच राष्ट्रपति कार्यालयमा घटनाबारे वार्ता भएको थियो । छलफलका क्रममा डिनलाई आफूहरूको कुरा रेकर्ड भइरहेको आशंका लाग्यो । अप्रिल १५ मा जोन डिन र राष्ट्रपतिबीच छलफल भएको थियो । डिनका अनुसार भेटमा राष्ट्रपतिले अनौठो व्यवहार देखाएका थिए । यसैले डिन त्यो सम्बाद रेकर्ड भएको निष्कर्षमा पुगे । डिनले यो कुरा सिनेटको छानबिन समितिमा बताए । डिनको यो खुलासाले वाटरगेट काण्डमा नयाँ मोड ल्याइदियो । यो खुलासापछि निक्सनविरुद्ध उनकै पार्टीभित्र आवाज उठ्न थाल्यो ।

सिनेटको छानविन समितिले ह्वाइट हाउसभित्रका छलफलसमेत रेकर्ड हुने विषयमा दबाब दिएपछि ह्वाइट हाउसले दर्जनौँ अडियो सिनेटसमक्ष बुझायो । तर, धेरै अडियो सम्पादन भएको भेटिएपछि मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुग्यो । यसबीच सन् १९७३ अक्टोबर ३० बाट निक्सनविरुद्ध महाभियोग प्रक्रिया सुरु भयो । अमेरिकाको इतिहासमा निक्सनअघिका राष्ट्रपति एन्ड्रयु ज्याक्सन र निक्सनपछिका बिल क्लिन्टन र डोनाल्ड ट्रम्पविरुद्ध मात्र औपचारिक रूपमा महाभियोग प्रक्रिया अघि बढेको छ ।

कुनै पनि घटनामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रक्रियाले राष्ट्रपतिलाई हटाएको भने छैन । निक्सनको समयमा उनीविरुद्ध महाभियोग सुनुवाइ पास हुने पक्काजस्तो भएको थियो, त्यसैले उनले राजीनामा दिए ।

१९७४ जुलाई २४ मा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई वाटरगेट काण्डसँग जोडिएका सबै अडियो विनासम्पादन सार्वजनिक गर्न आदेश दियो । यो आदेशपछि राष्ट्रपति कार्यालयले सम्पूर्ण अडियो रेकर्ड विनासम्पादन सार्वजनिक गर्नुपर्यो । वाटरगेट काण्डबारे निक्सनलाई सुरुतिरै जानकारी रहेको प्रस्ट पार्ने एक अडियो रेकर्ड अगस्ट ५ मा सार्वजनिक भयो । यसपछि उनकै पार्टीका धेरै सिनेटर पनि उनीविरुद्ध महाभियोगको पक्षमा उभिन थाले ।

‘स्मोकिङ गन’ नामक टेपमा वाटरगेट घटनालगत्तै निक्सन र एचआर हाल्डम्यान कुराकानी गरेको सुनिन्छ । त्यसमा उनीहरू एफबिआईले यस प्रकरणमा गरिरहेको अनुसन्धानलाई कसरी रोक्ने भन्ने विषयमा कुरा गरिरहेका थिए । अडियोमा दुई नेता यो घटना राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएको भनेर सिआइएलाई भन्न लगाउने र एफबिआईको अनुसन्धान रोक्न लगाउने विषयमा बोलिरहेका सुनिन्थे । यो अडियो बाहिरिएपछि वाटरगेटस्थित डेमोक्रेटिक कार्यालयमा भएको घुसपैठलाई लुकाउने सम्पूर्ण प्रयासबारे निक्सन पहिलेदेखि नै जानकार रहेको प्रस्ट भयो । त्यसको पाँच दिनपछि निक्सनले राष्ट्रपति पदबाट राजीनामा दिए । अमेरिकाको इतिहासमा राष्ट्रपति पदबाट राजीनामा दिने एक मात्र राष्ट्रपति रिचर्ड निक्सन मात्र हुन् ।

अमेरिकामा संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रतालाई प्रतिरक्षा गर्छ । प्रेस स्वतन्त्रताको उच्चतम प्रयोग हुँदा विश्वको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदमा आसीन व्यक्तिले निरीह भएर सत्ता त्याग गर्नुपर्‍यो । यो प्रकरणले अमेरिकी नागरिकलाई राजनीतिको कुरूपताप्रति साक्षात्कार गराएको मानिन्छ । राज्य सञ्चालन गर्नेहरू आफूलाई शक्तिमा टिकाइराख्न कुन हदसम्म जान सक्छन् भन्ने एउटा उदाहरण हो यो । साथै शासकहरूले गल्तीलाई स्विकार्नुको साटो ढाकछोप गर्न केन्द्रित हुँदा संकट झन्झन् गहिरिँदै जान्छ भन्ने प्रमाण पनि हो । यस प्रकरणको सकारात्मक पक्ष प्रेस स्वतन्त्रतासँग जोडिएको छ ।

यो पनि पढ्नुहोस् : न्युयोर्क टाइम्सबाट सुरु भएको एउटा बहस