मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३ शनिबार १५:५०:००
Read Time : > 2 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको माग

Read Time : > 2 मिनेट
२०७७ श्रावण ३ शनिबार १५:५०:००

गण्डकी प्रदेशमा सरकार पुनर्गठनको माग जोडदार रुपमा उठेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संघीय सरकारको कामको समिक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने आवाज उठिरहेका बेला गण्डकी प्रदेश सरकारको कामको समिक्षा र मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको हो । 

मुख्यमन्त्रीसहित सात वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा कास्कीबाट प्रतिनिधित्व नभएको भन्दै तत्काल मन्त्रिपरिषद पुर्नगठन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दबाब बढेको छ । असार अन्तिम साता बसेको नेकपा गण्डकी संसदीय दलको बैठकमा कास्कीबाट प्रदेशसभामा निर्वाचित एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले  कास्कीबाट दुईजना मन्त्री नियुक्त गर्न माग गरेको जानकारी दिए ।

कास्कीबाट प्रदेशसभामा ११ जना सांसदले प्रतिनिधित्व गरेको स्मरण गराउँदै आफूले मन्त्री माग गरेको नभई कास्कीलाई दुई मन्त्रीको हक रहेको बताए । ‘कास्की प्रदेशको राजधानी भएको जिल्ला हो । यहाँबाट ११ जना सांसदले प्रतिनिधित्व गर्छौं । साढे दुई वर्ष कुरियो, अब कुर्न सकिन्न । कास्कीलाई दुई मन्त्री चाहिन्छ भनेर मैले संसदीय दलमै प्रष्ट कुरा गरेको छु,’ उनले नयाँ पत्रिकासँग भने ।  

सांसद थापाले जनमतको समेत ख्याल गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गरेका छन् । मन्त्री थप गर्दा आफूलाई केन्द्रमा राखेर कुरा गरेको नभई कास्कीका जनता, पार्टीका नेता र कार्यकर्ताको भावनाको प्रतिनिधित्व मात्र गरेको उनले टिप्पणी गरे । कुन व्यक्ति मन्त्री बन्ने भन्ने विषय भन्दापनि कास्कीबाट मन्त्री बन्नुपर्ने उनले बताए । ‘कुन व्यक्ति मन्त्री बन्ने भन्ने विषय प्राथमिकताको विषय होइन’ उनले भने, ‘कास्कीबाट मन्त्री किन नपाउने भन्ने प्रश्न हो ।’ 

नेकपा कास्की अध्यक्ष थापाले कास्कीबाट मन्त्री बन्ने माग छिट्टै सम्बोधन हुने अपेक्षासमेत राखेका छन् । अहिलेको वर्तमान कोरोना संक्रमणले गर्दा केही ढिलो भएपनि त्यसलाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्नै पर्ने उनको भनाई छ । कास्कीबाटै प्रदेश संसदमा निर्वाचित अर्का सांसद रामजी बराल ‘जीवन’ले कास्कीबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व नहुँदा पोखरा र कास्की विकासमा बत्तिमुनिको अध्यारो भनेजस्तै भएको बताएका थिए ।  

कास्कीबाट निर्वाचित सांसद कृष्ण थापा र अर्का प्रदेश सांसद रामजी बराल ‘जीवन’ले कास्कीबाट मन्त्री बनाउन माग गरेका कास्कीबाटै निर्वाचित प्रदेश सांसद राजिव पहारीले पुष्टि गरे । प्रदेश सरकार गठन भएको साँढे दुई वर्ष पुगेकाले सरकारको कामको समीक्षा गर्नुपर्ने र सन्तुलन मिलाउनुपर्ने विषयमा छलफल भएको उनले बताए । 

कास्कीबाट मन्त्री बन्नुपर्नेमा सत्तारुढ नेकपाबाट मात्र होइन विपक्षीदल नेपाली कांग्रेसले पनि जोड दिएको छ । कांग्रेसबाट निर्वाचित कास्कीका सांसद विन्दुकुमार थापाले कास्कीबाट मन्त्री नबन्दासम्म प्रदेश सरकारले आफ्नो औचित्यसमेत पुष्टि गर्न कठिन हुने टिप्पणी गरे । कसलाई मन्त्री बनाउने र को बनाउने भन्ने विषय नेकपाको आन्तरिक मामला भएपनि कास्कीबाट मन्त्री नहुँदा प्रदेश सरकारमा प्रदेशको राजधानीकै पहुँच नपुगेको उनको ठहर छ ।

मन्त्रीहरुले आ–आफ्नो क्षेत्र र जिल्ला ताक्ने प्रवृत्तिले पोखराकै विकास हुन नसकेको बताएका उनले कास्कीबाट दुईजना मन्त्री त्यो पनि अर्थ र भौतिक पूर्वाधार सम्हाल्ने प्रभावशाली मन्त्रालय लिनुपर्ने बताउँछन् । ‘साच्चै प्रदेश सरकारको आचित्य देखाउने हो भने कास्कीबाट दुई मन्त्री बनाउने मात्र होइन, प्रभावशाली (आर्थिक मामिला र भौतिक पूर्वाधार) मन्त्रालयको जिम्मेवारी दिनुपर्छ’ उनले भने । 

तत्काल पुनर्गठन गर्ने पक्षमा छैनन् मुख्यमन्त्री

नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेपनि मुख्यमन्त्री पृथ्वीसुब्बा तत्काल मन्त्रीहरु परिवर्तन गर्ने पक्षमा छैनन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको र मुख्यमन्त्रीले यसविषयमा नसोचेको जानकारी दिए । 

संसदीय दलको बैठकमा एजेण्डागत रुपमा विषय उठान नभएको र बोल्ने क्रममा सांसदहरुले कास्कीबाट मन्त्री पाउनुपर्ने या पुरै मन्त्रीमण्डल नै फेर्नेसम्मका कुरा सम्म उठेका उनले स्वीकार गरे । सबै जिल्लाबाट र बढि जितेकालाई दुइवटा भन्यो भने त्यो सम्भव नै नहुने उनले प्रष्टाए । ‘सबै जिल्लालाई मन्त्री चाहिन्छ भन्यो भने ११ जना मन्त्री चाहियो । ‘बढी जितेकालाई दुई भन्यो भने झन कहाँ पुगिएला ?’ उनले प्रश्न गर्दै भने, ‘यो सैद्धान्तिक रुपले नै नमिल्ने कुरा हो । त्यसैले यस विषयमा अहिले सोचिहाल्नुपर्ने अवस्था छैन ।’

नेकपा गण्डकी प्रदेश कमिटी सचिव समेत रहेका राजनीतिक सल्लाहकार नेपालीले विकासका लागि आफै मन्त्री बन्नुपर्ने मानसिकताको विकाश हुनुनै गलत भएको बताए । ‘यदि त्यस्तो मान्यताको विकास भएको छ भने र कतै परेको छ भने रोक्नुपर्नेमा स्वयम मुख्यमन्त्री सचेत हुनुहुन्छ’ उनले भने ।