मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण ३ शनिबार १३:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्ची खानेपानीका मजदुरले अझै पाएनन् भुक्तानी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण ३ शनिबार १३:१३:००

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा काम गरेका आठ सय मजदुर र भेण्डरले वर्ष दिनमा पनि पारिश्रमिक पाउन सकेनन् । इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि उनीहरुले भुक्तानी नपाएका हुन् । सुरुङमा काम गर्ने मजदुर र आयोजनास्थलमा निर्माण सामग्री पुर्‍याउने भेण्डरले तीन महिनाको पारिश्रमिकरकम पाउन बाँकी छ । 

मजदुरलाई काममा लगाउने पेटी ठेकेदार र सामग्री सप्लाइ गर्ने भेण्डरलाई सिएमसीले तीन महिनादेखिको भुक्तानी दिएको थिएन । पेटी ठेकेदारलाई रकम नदिएकोले दैनिक काम गरी खाने मजदुरलाई पनि ज्याला दिइएन ।  एक मजदुरले तीन महिनाको ६० हजार पारीश्रमिक लिन बाँकी छ ।

यस्ता मजदुर आठ सय छन् । एक वर्षदेखि रकम नदिएर मजदुरलाई दुःख दिने काम गरेको भन्दै ठेकेदार र मजदुरले पटकपटक आन्दोलन पनि गरे । तर, खानेपानी आयोजनाले मजदुरको आवाजलाई बेवास्ता गर्दै आएको छ । ठेकेदार, भेण्डर र मजदुरले पाउनुपर्ने एक अर्ब ६० करोड भुक्तानी एक वर्षदेखि आयोजनाले अड्काएर राखेको छ । 

मजदुर र व्यवसायीले बाँकी रकम भुक्तानीको माग राखेर मेलम्ची खानेपानी विकास समिति, विकास बोर्ड र खानेपानी मन्त्रालयमा दर्जनपटक धर्ना दिइसके । तर, सुनुवाइ भएको छैन । सिएमसीसँग चार करोड भुक्तानी लिन बाँकी स्थानीय भेण्डर उत्तरबहादुर श्रेष्ठको घरबारी लिलाम गर्न बैंकले पटकपटक पत्र काटेको छ ।‘ठेकेदार कम्पनी भागेपछि मेरो लगानी डुबेको छ,’ बैंकको किस्ता तिर्न नसकेर घरबारी लिलाम हुन लागेको गुनासो गर्दै मेलम्ची निवासी स्थानीय भेण्डर श्रेष्ठले भने, ‘हाम्रो दुःखको मूल्यदिने÷नदिने भनिदिनुपर्‍यो । त्यसपछि हामी आन्दोलनतिर जान्छौं ।’ 

जीवनकै जोखिम उठाएर सुरुङभित्र गरेको कामको ज्याला नपाएसम्म आन्दोलनगर्ने र आयोजनाको काममा अवरोध पुर्‍याउने तयारीमा मजदुर रहेको उनले सुनाए । खानेपानी मन्त्रालयका सचिव माधव बेलबासे र एडिबीका प्रतिनिधि शम्भु कट्टेलले मजदुर र भेन्डरलाई विभिन्न आश्वासन दिएर झलाइरहेको मजदुर नेता कुमार दुलालले बताए । सुरुङ निर्माणमा काम गर्ने आठ सय मजदुर र एक सय ६० व्यवसायीले ६७ प्रतिशत रकम भुक्तानी पाउन बाँकी छ । 

गत वर्षको भदौमा आयोजनाको मुहान क्षेत्र अम्बाथाङमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गोली समेत चलाएको थियो । गोली चल्दा मजदुर र व्यवसायी घाइते भएका थिए । मेलम्ची खानेपानी विकास बोर्डसँग मजदुरले गरेको पाँच बुँदे सहमति कार्यान्वयन नहुँदासम्म समस्या हल नहुने मजदुर र भेण्डरको भनाई छ ।